गँवारको उपाधि यो चौडा छाति माथि टल्काउँदा सहर्ष गौरवान्वित छु

असार १२, २०७९


परिवर्तन खतिवडा
१२ असार २०७९

नाम परिवर्तन भएपनि मेरो इमान, इज्जत र शैक्षिक स्तरमा कुनै परिवर्तन आएको छैन। म अण्डर एस एल सि नै हुँ।नोकरी गर्नकै लागि इमान, इज्जत र स्वाभिमान बेचेको छैन र कदापि बेच्दिन पनि ।म अण्डर एस.एल. सी अर्थात गँवार हुनुमै गौरवान्वित छु।

नोकरीको शिलशिलामा एउटा कार्यालय बाट अर्को कार्यालय तर्फ हतोत्साहित हुँदै भाग दौड गरिरहेका स्नातक उत्तीर्ण सर्टिफिकेटको बोझले थिचिएका ति थकित उम्मेदवारहरूलाई दयनीय अवस्थामा देख्दा म आज आफु अन्डर एस एल सि हनुमा पुन: गर्व महसुस गरेँ। गजराजका दन्त देखाउने एउटा चपाउने अर्को भने झैँ आन्तरिक छनोट प्रक्रियालाई पहिल्यै सकेर सूचनाको ढोङ टाँसेर यहाँ प्राय: हरेक क्षेत्रमा योग्यता माथि स्रोत र सिफारिस हाबी भयको देखिन्छ, स्नातक डिग्री प्राइभेट डिप्लोमा सँग घुँडा टेकिरहेको अवस्था छ। यहाँ हर कोही आज आफ्ना खुबी भन्दा आफन्तको भन सुनमा निर्भर हुनु पर्ने निकै सर्मनाक अवस्थाको कुरो छ, शिक्षित समाजको खगोलमा एकछत्र बाहुबलीको शरणमा आश्रय लिनु पर्ने वातावरण बनेको छ।

करिब डेढ दशक सकाएर आफ्ना अमूल्य समय र अर्थ खर्चेर आधि उमेरको हिसाबमा अर्जेको योग्यता सिप र शिक्षासँगै बाबु -आमाका ति सन्तान प्रतिका सबल भविष्यका असिमित सपनाहरू जाबो एउटा साधारण कामको तराजुमा चुकिदिन्छन्। अनि बाध्यताको लिवाज पहिरिएर हतोत्साहित हँदै समुन्द्रपारी साधारण मजदुरको बिल्ला टाँसेर टन्टलापुरे चर्को घाममा वेल्चा सँग परिचय दिनुको अलवा कुनै विकल्प छैन। चौतर्फी बेरोजगारीको चपेटामा पिल्सिएका हामी सँधै महँगो शिक्षाको भारमा दबिरहेका हुन्छौ यद्यपि नियत बस वा कर्मले कतै न कतै ठगिएका हुन्छौं। त्यसैले आज कालो कोट माथि छत्रे टोपी हावामा फालेर भविष्यको तमासे विस्मातको पात्र हुनु भन्दा निरक्षर औँठा छापे गँवारको उपाधि यो चौडा छाति माथि टल्काउँदा सहर्ष गौरवान्वित छु।

हो म त्यो साधारण नोकरीको योग्य सम्म हुन नसक्ने लाचार स्नातक उत्तीर्णको त्यो कष्टको बोझ नबोकेकै वेश ठान्दछु।