आँधिखोलामा पौडी खेल्ने क्रममा एक जना बेपत्ता
साउन ११, २०८१
स्मार्ट संवाददाता


स्याङ्जाको आँधिखोलामा पौडी खेल्ने क्रममा एक जना विद्यार्थी बेपत्ता भएका छन्। हरिनास गाउँपालिका वडा नं ५ बसन्तडाँडा घर भै वालिङ क्याम्पस, वालिङमा अध्ययनरत २३ वर्षीय शिव पोख्रेल बेपत्ता भएका हुन्। उनी वालिङ क्याम्पसमा व्याचलर तेस्रो वर्षमा अध्ययनरत थिए।
वालिङ नगरपालिका वडा नं ११ अमलेमा साथीहरूसँग पौडी खेल्ने क्रममा पोख्रेल बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता इन्द्र बहादुर रानाले जानकारी दिए। प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता रानाका अनुसार प्रहरीले सूचना पाए लगत्तै खोजी कार्य जारी रहेको छ। वडा प्रहरी कार्यालय वालिङ्का प्रहरी निरीक्षक सुजन बाबू बि.क. को कमाण्डमा १० जना प्रहरीले खोजी गरिरहेको भएपनि हालसम्म पोख्रेललाई फेला पार्न नसकिएको प्रहरीले जनाएको छ।