गाईको महत्त्व पुनस्थापित गर्दै कामधेनु गौशाला
हिन्दू परम्परामा गाईलाई सर्व देवमयी, सर्वभुत समृद्धि दायिनी, सर्वलोक हितैषी, पुण्य स्वरुपा, भवसागरको तारिणी, कामधेनु तथा लक्ष्मी माताले सम्बोधन गर्ने गरिन्छ । गाईलाई पूजा गर्नाले गाई बाट आमा बाट पाए जस्तै माया पाइने धार्मिक विश्वासमा गाईको पूजा गर्ने परम्परा रहेको हो ।
गाईको दूध, गहुँत र गोबर पवित्र हुने र यसले अपवित्रता नास गर्ने भएकाले पनि गाईको पूजा गर्ने गरिएको हो । गाई बाट प्राप्त हुने दूध, दही, घिउ, महि अमृत समान द्रव्य हुन । गौमूत्र महान औषधि हो भने गोवर कृषि उत्पादनको लागि नभई नहुने वस्तु हो । हिन्दू धर्ममा पञ्चगब्य र पञ्चामृतको महत्व पनि उत्तिकै छ । यसको अभावमा कुनै पनि हिन्दू धार्मिक अनुष्ठान सम्पन्न हुँदैन । गोदान नगरी कुनै देव तथा पितृ कार्य सम्पन्न भएको मानिंदैन ।
गाई एउटा मात्र यस्तो जनावर हो जसले अक्सिजन लिन्छ अक्सिजन दिन्छ । जसले श्वास फेर्दा पनि र कराउँदा पनि वातावरण शुद्ध हुन्छ । वातावरणमा भएका नकारात्मक तत्वहरूलाई गौमाताले मात्रै सकारात्मकतामा परिणत गर्न सक्छिन । हिन्दूहरूको पुण्य प्राणी र नेपालको राष्ट्रिय जनावर गाई जसलाई हिन्दूहरूले लक्ष्मीको रुपमा मान्ने गर्दछन् ।
रुखा सुख्खा खाएर पनि अमृत तुल्य दूध, दही, घिउ दिने र यिनै चीज खाएर नै हामी बलवान, बुद्धिमान हुने दावा गर्दथ्यौ । गाई जसको प्यारो सन्तान वंश वृद्धिको लागि प्रयोग गरिन्छ साथै आफ्नो शरीर जोतेर हाम्रो अन्न उत्पादनमा सहायता गर्दछ । जुन आँफु मरेर पनि हामीहरूको उपकार गर्न लागि पर्दछ । यति धेरै महत्व बोकेको कारणले नै गौमातालाई देवादी देवता एबं हृषिमुनीहरुले हाम्रो दैनिकी संग यति सामिप्यता बनाइदिनु भएको थियो ।
पहिला पहिला एक घर एक गाई अनिवार्य रुपमा पालिन्थ्यो । यस्ता मुख दिव्य आत्मा गौमाताको यति धेरै महत्व बुझ्दा बुझ्दै पनि यस्तो कुरालाई बेवास्ता गरी अहिले आएर आफ्नो धर्म, संकार र संस्कृतिलाई चटक्कै भुलेर घरमा पालिएका गाइवस्तुलाई उत्पादन दिन छाडे पछि छाडा छाडी दिन थाले । देशका अन्य भूभागमा जस्तै भीरकोटमा पनि यो समस्याले विकराल रुप लिन थाल्यो । छाडा छाडिएका गाईवस्तुहरु भित्रिएर बालीनाली खाएर स्थानीयलाई हैरान बनाउन थाल्यो । एकै पटक खेतीमा पसेर तरकारी तथा अन्य अन्नबाली खाइदिने गरे पछि आँफैले छाडेका गाईबस्तु देखि स्थानीय आँफै अत्तालिन पुगे । छाडा पशु चौपायाले तरकारी फलफूल तथा अन्नबाली खाएर लगानिनै उठाउन नसकिने अवस्था पनि किसानहरूले भोग्न पर्यो । यो समस्या समाधानको लागि विगतमा पनि साना तीना पहल नभएका भने होइनन । विगतमा गौ संरक्षण गर्ने भनेर महायज्ञको आयोजना समेत भएको थियो तर यसले सार्थकता पाउन सकेन ।
वैज्ञानिक दृष्टिले हेर्दा पनि पृथ्वी र पृथ्वीमा रहेका मानव लगायत सबै प्राणी तथा जीव जन्तु एबं वनस्पति, पर्यावरण, वातावरण, सम्पदा सबैको रक्षाका लागि स्थानिय जातका गौवंशको संरक्षण गर्नु अति आवश्यक देखिन्छ । गौवंशले मानवलाई पौष्टिकता, आरोग्यताको साथै धर्तीलाई उर्वर बनाई मानवको जीवन धारालाई अटुट र निरन्तर राख्न अहम भूमिका खेलेको हुन्छ । आँफु पनि यस्ता धार्मिक कुराको चिन्तन गर्ने व्याक्ती भएको र छाडा चौपाया आतंकलाई समेत नजिक बाट बुझी रहनु भएका तत्कालिन भीरकोट नगरपालिकाका नगर प्रमुख छायाराम खनालको सक्रियतामा तत्कालिन समस्याको न्यूनीकरणको लागि भीरकोट नगरपालिका वार्ड नं. ४ दभुङमा एउटा गौशाला निर्माण गरियो । जुन गौशाला अहिले पनि सञ्चालनमा छ । सानो एरिया र सानो व्यवस्थापनमा शुरू गरिएको यो गौशाला अपुग भए पछि भीरकोट नगरपालिकाको आर्थिक एबं समुदायको आर्थिक एबं व्यवस्थापनमा भीरकोट ८ छोरे डाँडामा व्यवस्थित गौशाला निर्माण गरे पछि छाडा गाई वस्तुको आतंक बाट समुदाय मुक्त भएको छ । गाईहरुको हेरचाहको लागि दुई वटा हेरालु समेत राखिएको छ । अहिले गौशालामा ३५ वटा गाई छन । ५ वटा गाई व्याएका छन भने केही गर्भवती छन । आर्थिक व्यावस्थापन नगरपालिका, स्थानिय समुदाय र विभिन्न पर्व उत्सवमा गौमाता प्रति आस्थावान दाताहरु बाट प्राप्त सहयोग बाट गरिएको छ । दाना, घाँस,परालको व्यावस्थापनका लागि समुदाय सक्रिय रुपमा लागेको देखिन्छ ।
अहिले कामधेनु गौशालाबाट धार्मिक कार्यमा आवश्यक पर्ने गहुँत, दूध र गोबर सहज रूपमा प्राप्त भएको छ। गहुँत प्रशोधन , स्थानीय जडिबुटी पहिचान र उपयोग, गौमुत्रबाट अर्गानिक विषादी निर्माण गर्ने कार्यलाई एकीकृत रूपमा अगाडि बढाइएको छ। गाई र ब्राह्मणबिचको अन्योन्याश्रित सम्बन्धलाई मध्यनजर गरेर ब्राम्हण संग्रहालयको निर्माण गर्ने काम तिब्र गतिमा अगाडि बढेको छ।
हिजोका गौचरनलाई उपयोग गरेर गौ रक्षा गर्ने काम भइरहेको छ भने गौशाला निर्माणका लागि दाताहरु बाट जग्गा प्राप्त भएको छ । संस्था दर्ता प्रक्रिया अन्तिम चरणमा पुगेको छ । संस्था दर्ता भए पछि सम्पूर्ण जग्गा संस्थाको स्वामित्वमा हुनेछ । आगामी दिनमा यस क्षेत्रलाई धार्मिक, सांस्कृतिक र आयुर्वेदिक पर्यटकिय हवको रुपमा विकास गर्ने सोचका साथ अघि बढेको कुरा भीरकोटका निवर्तमान नगर प्रमुख एबं गौशाला संरक्षण समितिका संरक्षक छायाराम खनालले बताए।