भीरकोट नगर प्रमुख कर्माचार्यलाई खुलापत्र
प्रिय भीरकोट नगरप्रमुख गोविन्द कर्मचार्य ज्यु जो जो लपा ।। नगरपालिकाको बागडोर समालेर बसेको पनि करिब तीन वर्ष पुग्यो । तीन वर्षसम्म तपाईँले कति उन्नती, प्रगती र घोषणापत्र अनुरुप काम गर्नुभयो भन्ने विषय अर्को कुनै लेखमा पक्कै पनि विश्लेषण वा समिक्षा गरौँला तर आज असार २१ गतेदेखि करिब तीन दिनसम्म चलेको अविरल वर्षका कारण भएको क्षति र उक्त विपद् बाट नागरिकलाई बचाउन पालिका कहाँ चुक्यो भन्ने विषयलाई उजागर गर्ने कोसिस गर्दैछु ।
यसको सुरुवात तपाईँबाट नै गर्ने उचित ठाने । करिब तीनदिनसम्म चलेको अविरल वर्षा रोकिने बित्तिकै तपाईँ काठमाडौँमा रमाउन आउनु भयो । तपाईँ जस्तो व्यक्ति जसले नगरपालिका विपद् मा छटपटेको बेलामा पालिकालाई वेवारिसे छाडेर हिड्दा आज पालिकाका जनताप्रति तपाईँको विश्वास हराएको छ । उसो त तपाईँले एउटा बसाईँमा भनेको भनाइ याद आयो तपाईँले भन्नु भएको थियो, “मलाई यो पालिकामा पटकपटक नगरप्रमुख हुन मन छैन् यै कार्यकाल हो कस्तो हुन्छ थाहा छैन् ।” यो कार्यकाल सफल होस् कि विफल कुनै वास्ता छैन भन्ने विषय नै त्यो भनाइले सहजै पुष्टि गर्छ । मेयर साब तीनदेखि परेको अविरल वर्षाको बेलामा संयोगवस विशेष कामले गर्दा भीरकोटमा मेरो उपस्थिति रह्यो । अनि तपाईँको उपस्थिति काठमाडौँमा हुन पुग्यो । तपाईँको उपस्थिति भीरकोटमा नभएपनि मेरो उपस्थिति भीरकोटमा रहेकाले सर्वप्रथम त म तपाईँलाई मैले देखेको घटनाहरु थोरै भएपनि बुझाउन प्रयास गर्नेछु । असार २१ देखि भएको वर्षाको कारण शनिवार विहान ८ बजेटको आसपासमा भीरकोटको अधिकांश वडामा विद्युत आपुर्ति बन्द भयो । जसबाट कयौँ मानिसहरु सम्पर्क विहिन हुनु पुगे भने कतिपय त्यो अवरिल वर्षामा कताबाट पहिरो आउँछ भनेर डर त्रासमा अन्धाकार रात बिताउन बाध्य भए ।
उसो त त्यो अविरल वर्षमा हुने समयमा सम्पर्कमा रहनु सबैभन्दा महत्वपूर्ण विषय हो । तर पालिकाको पूर्वतयारी नहुँदा जनताहरु करिब पाँच दिनसम्म अन्धकारमा बस्न बाध्य भए भने तपाईं काठमाडौँमा छोरासँग हासिँखुशी रात बिताउनु भएको थियो होला । त्यस्तै भीरकोटका अधिकांश ग्रामीण सडकदेखि राजमार्ग नै अवरोध हुन पुग्यो जसले गर्दा करिब ५ दिन जति मुख्य ग्रमीण सडक नै बन्द रह्यो । त्यसको असर खाद्यान्नमा हुन पुग्यो , बजारबाट समान लैजान मिल्ने अवस्था भएन भने गाउँबाट बजार जाने अवस्था समेत भएन् । अझै अर्को कुरा त फोक्सीङबाट एक जना महिला सडकको पहुँच नहुँदा त्यो बेला बिरामी भएर बोकेर अस्पताल लगेको मैले देखेको थिए । अझै विडम्बनाको कुरा त भीरकोटमा आजबाट मात्रा होइन वर्षैअघि देखि बयरघारी वारी र पारी भनेर छुटाउने चलन छ। त्यसमा त अझै तपाईँ बयरघारी अर्थात् पारीको मान्छे पर्नुभयो त्यसकारण पनि तपाईँले वारी सडक खोल्नको लागि पानी रोकिएपछि पनि पनि डाजेर परिचालन गर्नुभएन । डोजरको लागि वारीका वडा अध्यक्षहरु तपाईँसँग धेरै पटक गए तर तपाईँले तिनीहरुलाई रित्तो हात फर्काउनुभएको थियो यदि त्यो गलत हो भने गलत हो भनेर प्रमाणित गर्नुहोस् ।
उसो त अविरल वर्ष हुनु अघि नै पालिकाले जोखिम पूर्ण स्थानको पहिचान गरि त्यस्ता जोखिम स्थानबाट वस्ती नै सार्नको लागि व्यवस्था मिलाउनुपर्ने थियो । तर पूर्वतयारी नहुँदा भीरकोटमा मात्रै बाढी पहिरोमा परि २ जनाको मृत्यु हुन पुग्यो भने वडा नम्बर ५ मा रहेको मल्ल गाउँ नै अविरल वर्षाको बेलामा नै विस्थापित गराउनको लागि पहल गर्नुपर्यो । उसो त तपाईँले भीरकोटवासीलाई विपद् बाट बच्नको लागि जनतालाई सन्देश त दिनुभएको थियो तर त्यो पनि दुई दिन अघि स्मार्ट अखबारकै फेसबुक पेजबाट विपद् बाट बच्नुहोस् र नदीको छेउछाउमा नजानुहोस् भन्ने खालको सन्देश दिनुभयो । विपद् बाट बच्न हजुरले दिएको सन्देश सकारात्मक भएपनि घटना स्थल र जनताको घरदैलोमा भने जनताले महसुस गर्ने उपस्थिति जनाउन सक्नुभएन । तपाईं तपाईंको परिवारको मात्र नभै समग्र भीरकोटको अभिभावक हो भन्ने कुरा बिर्सनुभएको रहेछ।
मेयर साब ठिक छ यो विषयमा तपाईँबाट गल्ती भएकै हो । तर विपद्पछि भीरकोटका नागरिकलाई तपाईँको साथको आवश्यक थियो तर त्यो बेला नै तपाईँ पालिका छाडेर काठमाडौँको लागि जानुभयोे । यसले गर्दा भीरकोटबासीले तपाईँ हुनु र नहुनुमा कुनैपनि भिन्नता महसुस गर्न सकेनन् । यस्तो अवस्थामा तपाईँ नहुँदा कुन वडामा कति क्षति भयो भन्ने विवरण आजको दिनसम्म आउन सकेको छैन । त्यतिमात्रा नभई पिडित परिवारले आजको दिनसम्म सरकारी राहत पाएका छैनन् । स्मार्ट अखबारसँग कुरा गर्दै भीरकोट नगरपालिका वडा नम्बर ६ की एक जना पहिरो पिडित महिलाले आफूहरुसँग खानको लागि कुनैपनि अन्न र बस्ने बास नभएको गुनासो गरेकी छन् भने पालिका आजको दिनसम्म समेत उक्त स्थानमा नपुगेको बताएकी छन् । मेयर साब यसबाट नै सजिल्लै बुझ्न सकिन्छ कि तपाईँ लगायत उपमेयर र अन्य पदाधिकारीहरु निर्वाचनको बेलामा भोट माग्नको लागि जस्तोसुकै परिस्थितिमा घरहरुमा जाने तर जनताको पिर मर्कामा भने कुनै वास्ता नगर्ने । तर लायन्स क्बल अफ भीरकोटद्वारा मनसुनजन्य विपद्का कारण अप्ठ्यारोमा परेका एवं धनजनको क्षति भएका भीरकोटका नागरिकहरूलाई भीरकोट जेसिज र लायन्स क्लब अफ भीरकोटले राहत वितरण गरेको छन् । जेसिजका सदस्यहरू पैदल हिडेर राहत बोकेर फोक्सिङ गाउँ पुग्दा जनप्रतिनिधि किन पुग्न सकेनन् ? के सरकारी सुविधा/ सवारी बिना पाइलो नै सर्दैन ?
लायन्सले नगरपालिकाको वडा नम्बर ४, ५,६, ७ र ९ का बाढी पहिरोबाट पिडित भएका १४ परिवारलाई राहत वितरण गरेको छ । क्लबले बाढी र पहिरोमा परी परिवारजन गुमाएका परिवारलाई नगद १० हजार सहित खाद्यान्न , त्रिपाल, भाँडाकुँडा लगायतका अत्यावश्यक सामाग्री प्रदान गरेको थियो तर पालिका भने त्यस्ता कुनैपनि स्थानमा नगएको नागरिकको गुनासो छ । तर जाओस् पनि कसरी तपाईँ काठमाडौँमा परिवारिक उत्सवमा रमाउनु्भएको छ अनि भीरकोट नगरपालिका विपद्को शोकसँग अल्मलिएको छ। तपाईंले प्रयोग गर्ने सवारी साधन पार्टीका नेता कार्यकर्ता ओसार्न प्रयोग भएको छ। बेहिसाब सरकारी सवारी साधन पार्टीको काममा प्रयोग हुनु पनि भीरकोटमा सुशासन छैन भन्ने प्रष्ट उदाहरण हो। जिम्मेवारीबोध न त तपाईंले गर्नुभयो न त कार्यबहाक मेयर भगवती रेग्मी अर्यालले गर्नुभयो। विपत् मा परेको बस्ती र नागरिक भन्दा अन्य कुराले महत्त्व पाउनु सायद उचित हैन भन्ने कुरा उहाँले बुझ्न सक्नुभएन। मेयर साब तपाईँ अर्को निर्वाचनमा उम्मेदवारी दिने कुनै मुड नभएपनि यो पाँच वर्षको अवधिमा त भनेअनुसार काम गर्नुहोस् । उसो त अब तपाईँ काठमाडौँबाट आएपछि कुन नौतिकताको आधारमा आउँदा दिनहरुमा नगरप्रमुखको कुर्चीमा बस्नुहुन्छ । त्यसको जवाफ दिनुहोला ।
(सच्याइएको : मृतकको संख्या २ हुनुपर्नेमा अन्यथा भएकाले सच्चाइएको छ ।)