SEE नतिजा र यसभित्र अन्तर्निहित विषयवस्तु
यस बर्षको SEE नतिजा निरासाजनक मात्र आएन, राज्यको शैक्षिक प्रणालीलाई नै गिज्याउने गरी प्रकाशित भयो। SEE लाई विगतमा कक्षा १० मा नै SLC रुपमा लिईन्थ्यो। यसलाई शैक्षिक यात्रा मात्र नभएर सफलताको मापक वा आगामी गन्तव्यको आइरन गेटको रुपमा समेत लिइन्थ्यो। तर वर्तमानमा भने कक्षा १२ सम्म विद्यालय शिक्षाको रुपमा स्विकार गरी कक्षा १० लाई माध्यमिक शिक्षा परीक्षा र कक्षा १२ लाई SLC को रुपमा लिने गरिएको छ। यस बर्षको नतिजालाई लिएर विभिन्न टिकाटिप्पणीहरु भईरहेका छन्। यस सन्दर्भमा सबै वर्गहरुबाट आ आफ्नै ब्याख्या र विश्लेषणहरु भइरहेका छन्। स्वाभाविक रुपमा शिक्षकहरुले अभिभावक, स्वयंं विद्यार्थी तथा राज्यप्रणालीलाई नै दोष दिइरहेका छन् भने अन्य सबैले शिक्षकलाई नै दोषारोपण गरिरहेको अवस्था छ, जुन स्वाभाविक पनि छ। शिक्षा क्षेत्र असफल हुनु भनेको समग्र राज्यप्रणाली नै असफल हुनु हो। त्यसैले यस विषयमा एकले अर्कोलाई दोषारोपण गरी जिम्मेवारीबाट पन्छन खोज्नु भन्दा पनि यसमा रहेका कमी कमजोरी तथा कारक तत्वहरुका विषयमा गहन चिन्तन, बहस र छलफल हुनु आवश्यक रहेको छ।
वर्तमान नतिजाको अवस्था
यसपटक देशभरीबाट SEE दिनेहरुको संख्या ४लाख ६४ हजार ७ सय ८५ रहेको थियो। जसमा २ लाख २२ हजार४ सय ८ (४७.८६)उत्तिर्ण र २ लाख ४२ हजार ३ सय १३ (५२.१४) अनुत्तिर्ण भएको तथ्य सार्वजनिक भएको छ। आधाभन्दा बढी विद्यार्थी अनुत्तिर्ण हुनुले नेपालको शिक्षा क्षेत्रले सुधारको अपेक्षा गरेको स्पष्ट छ। संस्थागत विद्यालयभन्दा सामुदायिक विद्यालयको नतिजा कमजोर देखिएको छ। त्यसैगरी शहरकेन्द्रित विद्यालयको भन्दा गाउँकेन्द्रित विद्यालयको नतिजा कमजोर देखिएको छ। ४ जिपीए ल्याउने विद्यार्थीको संख्या १ सय ८६ रहेको छ, जुन न्युन रहेको छ। विगतमा अत्यन्त राम्रो गरेका विद्यालयहरु पनि यसपटक राम्रो गर्न सकेको अवस्था छैन भने विगतमा त्यती राम्रो नतिजा दिन नसकेका विद्यालयहरु पनि अहिले सन्तोसजनक नतिजा दिएको देख्न सकिन्छ। कतिपय विद्यालयहरु शुन्य अवस्थामा पनि रहेको देखिन्छ। अहिले अवलम्बन गरिएको लेटरग्रेडिङ प्रणाली पनि बारम्बार परिवर्तन भईरहेको छ, जसले विद्यार्थीलाई र स्वयं शिक्षकलाई समेत कन्फ्युज बनाईरहेको देखिन्छ। विगतमा १०० लाई पुर्णाङ्क मानी ३२ लाई अनुत्तिर्णको रुपमा हेरिन्थ्यो भने अहिले सो अंकलाई परिमार्जन गरी ३५ बनाइएको छ। विशेषतः सैद्धान्तिकमा २६.२५ र प्रयोगात्मकमा न्युनतम १० अंक नल्याउने विद्यार्थीलाई NG अर्थात Nongraded भनिएको छ। २ विषयमा NG ल्याउने विद्यार्थीलाई मौका परीक्षा दिने निति रहेकोमा अहिले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले निर्णय गरी एकपटकलाई सबै विषयमा मौका परीक्षा दिन पाउने निर्णय गरेको छ। यस निर्णयले विद्यार्थीहरुलाई केही हदसम्म राहत मिलेको छ।
सार्वजनिक विद्यालयको अवस्था
अहिलेको नतिजाले सार्वजनिक शिक्षाको गुणस्तर खस्केको देखिन्छ। सार्वजनिक विद्यालमा नतिजा कमजोर हुनुका पछाडि विविध कारणहरु रहेका छन्। विगतमा समेत सार्वजनिक लगायत अन्य विद्यालयको अवस्था चिन्ताजनक नै थियो। तर विद्यालयहरुले वास्तविक नतिजाको यथार्थ जानकारी प्रस्तुत गरेका थिएनन्। जसले गर्दा सार्वजनिक विद्यालय होस् या संस्थागत ति विद्यालयहरुको यथार्थ जानकारी बाहिर आउन सकेको थिएन। तर यसपटक भने सम्पुर्ण पालिकाहरुले आफु मातहतका विद्यालयहरुको नतिजा सार्वजनिक गर्दा यथार्थ बाहिर आउन सकेको हो। यसलाई एउटा उत्तम शुरुवातको रुपमा लिन सकिन्छ। सार्वजनिक विद्यालयहरुमा नतिजा सन्तोषजनक नआउनुमा निम्न कारणहरु विद्यमान देखिन्छ।
शिक्षकसँग सम्बन्धित कमीकमजोरी
१.सार्वजनिक विद्यालयहरुमा आयोग उत्तिर्ण गरी नियुक्त गरिएका शिक्षकहरु कार्यरत भएतापनि नविनतम ज्ञान र प्रविधिमा अद्यावधिक नहुनु,
२.लामो समयसम्म एउटै पेशाप्रति आबद्ध हुँदा पेशाप्रति नैराश्यता र निरसता हुनु,
३.पेशागत स्थायीत्वको कारणले जिम्मेवारीबोध र पेशानिष्ठता दरिलो हुनुपर्नेमा आफू बलियो महसुस गर्नु, र पेशाप्रति जिम्मेवारीबोध नहुनु,
४. विद्यालय चरम राजनितिको केन्द्रविन्दु बन्नु, कार्यकर्ता भरणपोषण गर्ने थलो बन्नु,
५. अधिकांश प्रधानाध्यपक असक्षम(सक्षमताको आधारमा भन्दापनि राजनितिक निकटताको आधारमा नियुक्त) हुनु, सक्षम शिक्षकहरुले नेतृत्व स्विकार गर्न नसक्नु,
६.शिक्षकहरुमा पनि आफूमा कर्तव्यपरायणता भन्दा पनि राजाको काम कहिले जाला घाम भन्ने मानसिकता पाल्नु,
७. विद्यालयमा शिक्षकहरुको एकताभन्दापनि सबै मै जान्ने सुन्ने, अरुलाई केहिपनि थाहा छैनजस्तो व्यवहार प्रदर्शन गर्नु,
८. न्युन तलबमान, अतिरिक्त सेवासुविधाको अभावले घरबार व्यवहार चलाउन वैकल्पिक उपायको खोजीले(बिमा, व्यापार, जग्गा दलाली)गर्दा विद्यालयका विषयमा चिन्तन गर्न, अध्ययनमा समय अभाव हुनु,
९.समाजसंँग प्रत्यक्ष र निकट सम्बन्ध हुने भएकोले विवाह, ब्रतबन्ध, मलामी, बिरामी हेरचाह, कृषि, पशुपालन, राजनितिक गतिविधिजस्ता क्रियाकलापमा समय बित्नु,
१०. प्रशासनबाट हुनेगरेका असमान व्यवहारबाट कर्मशिल शिक्षकहरु निरुत्साहित बन्नु,
११. शिक्षकहरुलाई प्रदान गरिने तालिम तथा क्षमता विकासका कार्यक्रम सिकाईकेन्द्रित हुनेभन्दापनि प्रशासन तथा शिक्षाका कर्मचारीको चाकडी गर्ने मानिसहरुले अवसर पाई आर्थिक उपार्जन गर्ने माध्यम बनाइनु,
१३.प्रत्येक वर्ष तथा समयसमयमा शैक्षिक उपलब्धीको अभिलेखीकरण गरी शिक्षक पुरस्कृत गरी प्रोत्साहित नगरिनु गरेपनि चिनजान, नातागोताका आधारमा गरिनु, न की कार्यसम्पादन र नतिजाका आधारमा।
१४.शिक्षकहरुप्रति समाज, अभिभावक, राजनितिक नेतृत्व र स्वयं विद्यार्थीको सकारात्मक दृष्टीकोण तथा सम्मानको अभाव हुनु,
१५. शिक्षण पेशाप्रति न्युन आकर्षण हुनु, यसलाई वैकल्पिक पेशाको रुपमा लिइनु,
विद्यार्थी तथा अभिभावकसँग सम्बन्धित कमीकमजोरी
१.विद्यार्थीमा पढ्ने मानसिकता नै नहुनु,
२. अभिभावक मात्र नभएर शिक्षकलाई नै नटेर्ने, हठी र घमण्डी बन्नु,
३. मोबाइल, सोसल मिडिया, प्रेमिल क्रियाकलापमा बढी सरिक हुनु, पढाइमा भन्दा अतिरिक्त क्रियाकलापमा बढी ध्यान केन्द्रित गर्नु,
४. पढेर के हुन्छ?भन्ने मानसिकताले पढाइमाभन्दा अन्यत्र बढी भविष्य उज्ज्वल देख्नु,
५. अभिभावकको न्युन अर्थात् नगन्य लगानीको कारणले अभिभावकको आफ्ना नानीबाबुहरुप्रति न्युन ध्यान जानु,
६. संस्कार,अनुशासन र असल आचरणको अभाव हुनु, विद्यार्थीलाई पढाईप्रति पुर्णत उत्साहित गराउने मेकानिजमको प्रयोग गर्न नसकीनु,
७. विद्यार्थीहरुमा मेहनत गर्ने बानी नगन्य हुनु, विद्यालय पठाएपछि पुर्णत जिम्मेवारी शिक्षकको नै हो भन्ने मानसिकता अभिभावकमा हुनु,
८. न्युनतम कारबाहीमा समेत विद्यार्थीहरु शिक्षकहरु प्रति नकारात्मक बन्नु, अभिभावकहरुले आएर शिक्षकहरुको मनोबल नै गिर्नेगरी हकार्नु,
९. अनुपस्थित विद्यार्थीहरुलाई घरमै गएर बोलाउदा समेत नियमित बनाउन नसकिनु,
१०. कतिपय अभिभावकहरुबाट न्युनतम शैक्षिक सामाग्री तथा अतिरिक्त कक्षाका लागि आर्थिक जोहो गर्न नसक्नु,
११. विद्यार्थीहरुमा जसरी भएपनि विदेश नै जाने हो भन्ने मानसिकता भई स्वदेशमै बसी अध्ययनबाट उज्ज्वल भविष्य नदेखिनु,
राज्य तथा शिक्षा प्रशासनसँग सम्बधित कमीकमजोरी
१. राज्यको उपयुक्त, दीर्घकालिन, समयसापेक्ष, विद्यार्थीमैत्री निति तर्जुमा हुन नसक्नु,
२.विद्यार्थीको उपलब्धी मुल्याङ्कन गर्ने उपयुक्त पद्धति नहुनु,
३. विद्यार्थीका उपलब्धी मापन गर्ने प्रणालीसमेत स्थिर नभई बारम्बार परिवर्तन भईरहनु, जसले अन्योलता सिर्जना हुनु,
४.शिक्षालाई राजनिति गर्ने उत्तम थलो बनाइनु, किनकी त्यहाँ भर्खर भर्खरका कलिला विद्यार्थीहरु हुन्छन् जसले गर्दा आफ्नो बर्चस्व स्थापित गर्न सकियोस्,
५.राज्यका अन्य संयन्त्र र प्रशासनिक निकायभन्दा शिक्षालाई बढी संबेदनशिल र महत्वपुर्ण ठान्नुको सट्टा अपहेलित, वेवास्ता गरिनु, आकर्षणका कुनैपनि कार्यक्रमहरु नराखिनु,
६.उच्च शिक्षा अध्ययन गरिसकेपछी उज्ज्वल भविष्को आसा विद्यार्थीहरुमा जगाउन नसकिनु,
७.पढेलेखेका र शिक्षित मानिसहरुको भन्दा राजनितिक, व्यापारीक, दलाल, ठेकेदारहरुको हालीमुहाली र बर्चस्व समाजमा स्थापित हुनु,
८. अनुभव तथा सीपकेन्द्रित पाठ्यक्रम भन्दा ज्ञानकेन्द्रित पाठ्यक्रमको हावी हुनु,
९.स्थायी शिक्षक र स्थानीय शिक्षकहरुको हालीमुहाली हुनु, सक्षम भएपनि अस्थायी र अस्थानीय शिक्षकहरुको नगन्य भुमिका हुनु,
१०. विधि र पद्धति केन्द्रित भन्दापनि व्यक्तिकेन्द्रित र स्वार्थकेन्द्रित प्रवृति हाबी हुनु,
११. शिक्षकहरुलाई आफ्नो जीविकोपार्जन समेत नहुने तलबमानमा पढाउन लगाइनु,
१२. शिक्षाप्रशासनबाट नियमित रुपमा अनुगमन नहुनु, भएतापनि प्रक्रियामात्र पुर्याइनु, भत्ताकेन्द्रित हुनु, तथ्यगत आधारमा मिहिन ढंगले विश्लेषण नगरिनु,
१३. शिक्षा प्रशासनबाट नियमित रुपमा विद्यालयको शैक्षिक गतिविधिको तथ्यगत प्रतिवेदन तयार गरी सार्वजनिक नगरिनु,
१४. सक्षमहरुलाई असक्षमहरुले नेतृत्व प्रदान हुनु, शिक्षितलाई अशिक्षितहरुले दिक्षित गर्ने,शिक्षकहरुले विद्यालयमा अनावश्यक बकवास सुन्नुपर्ने अवस्थाको सिर्जना हुनु,
१५. तालिम तथा सीप विकासका अवसरहरु निश्चित शिक्षकहरुलाई मात्र प्रदान गरिनु, शिक्षक पुरस्कृत गरिँदा नतिजाका आधारमा नगरिनु, Hello Effect पर्नु,
१६. हरेक निर्णयहरु संघ, संगठनका नेतृत्वले गर्नु, विज्ञ शिक्षकहरुको सल्लाह र सुझाव नलिइनु,
१७. निति निर्माण तहमा ठेकेदार, व्यापारी तथा दलालहरुको हालीमुहाली हुनु,
संस्थागत विद्यालय
संस्थागत विद्यालयको नतिजा अपेक्षित नभएतापनि सार्वजनिक विद्यालयका भन्दा केहि सन्तोषजनक भने रहेका छन्। भर्खर अध्ययन गरेका वा गर्दै गरेका शिक्षकहरु जसले अत्यन्त मेहनत गर्ने र विद्यार्थीहरु समेत शिक्षकहरुप्रति आकर्षित हुने,कमजोर नतिजा ल्याउने शिक्षकलाई बर्खास्त गरिने, नतिजा नआउदा संस्था नै नरहने दबाब, उच्च अनुशासन, अटेरी विद्यार्थीलाई कारबाही तथा निष्कासन समेत गर्न सकिने, बर्षभरी नै कोचिङ, अभिभावकको उच्च लगानी हुँदा उनीहरुको अधिक चासो तथा निगरानी, प्रवेश परीक्षामार्फत असल विद्यार्थीलाई मात्र भर्ना, कार्यसम्पादन र नतिजाका आधारमा शिक्षकको तलबमान तथा सुविधा र स्थान, अभिभावकबाट प्रयाप्त शैक्षिक सामाग्री तथा अतिरिक्त कक्षाका लागि समेत उच्च तदारुकताजस्ता नतिजाकेन्द्रित क्रियाकलापले केही राम्रो अवश्य देखिएको छ। शहरकेन्द्रित विद्यालयहरुमा अभिभावकहरुको उच्च लगानी, पढाइमा उच्च ध्यान, शैक्षिक सामाग्रीहरुको प्रयाप्तता,शिक्षित र जागरुक अभिभावकहरुको संलग्नता आदिले नतिजा राम्रो आउनु स्वाभाविक हो।
तथापी बिहान बेलुका घाँसको डोको र कोदोको बारी, धानखेत, अप्रयाप्त र अस्वस्थकर खाना, अशिक्षित अभिभावकको दैनन्दिनी हुने झगडा र कचकच, शैक्षिक सामाग्री त टाढाको कुरा सामान्य किताबसमेत किन्न नसक्ने त्यो असामान्य परिस्थिति, लामो दुरीको विद्यालय यात्रा,अबुझ अभिभावक र समाज, राजनितिक चंगुलमा फसेका सार्वजनिक विद्यालय संँग सुविधासम्पन्न अत्याधिक शुल्कको तानमा अडिएका, घरको आँगनदेखी परीक्षाकेन्द्रको ढोकासम्म पछि लागिरहने संस्थागत र शहरकेन्द्रित विद्यालयहरुको नतिजा तुलना गर्नु त्यति स्वाभाविक भने हुँदैन।
निष्कर्षमा बर्षौको मेहनत र उपलब्धीलाई तिनघण्टामा मुल्याङ्कन गर्न नसकिने या SEE को नतिजाले मात्र विद्यार्थीको भविष्य तय नगर्ने तर्क गरिएतापनि यसप्रकारको नतिजाले राज्यको बृहद् लगानी, शिक्षकहरुको मेहनत, अभिभावकहरुको आसा र भरोसामा तुसारापात भएको छ। यस परिस्थितिले राज्यलाई दिर्घकालिन असर पुर्याउने निश्चित छ। कुनै एक पक्षलाई दोषारोपण गरिरहनुभन्दा सबै पक्ष एक भई नयाँ ढंगबाट छलफल, बहस र अन्तरक्रिया गरी मुर्त एक्सनमा जानुपर्ने आवश्यकता भने टड्कारो रुपमा देखिएको छ।