प्लास्टिकमुक्त पालिका बनाउन १३ हजार सपिङ ब्याग वितरण गरिने 

बैशाख २२, २०८१


नारायणप्रसाद कोइराला

स्याङ्जाको भीरकोट नगरपालिकालाई प्लास्टिकमुक्त बनाउन करिब १३ हजार सपिङ ब्याग निशुल्क बाडिने भएको छ। मुख्यमन्त्री नवपर्वतन साझेदारी कार्यक्रम अन्तर्गत सुरू भएको सूचना प्रविधिमैत्री एवं प्लास्टिकमुक्त नगरपालिका कार्यक्रम मार्फत करिब  १३ हजार सपिङ ब्याग निशुल्क बाड्न लागिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुङ्गानाले जानकारी दिए ।

प्लास्टिकमुक्त नगरपालिका  कार्यक्रम अन्तर्गत भीरकोट नगरपालिकामा रहेका करिब ६ हजार घरधुरीलाई कम्तिमा २ वटाका दरले नगरपालिकाको लोगो सहितको सपिङ ब्याग वितरण गरिनेछ। पहिलो चरणमा जनचेता जगाउने र  भीरकोटबासी नागरिकको प्लास्टिक झोलाको प्रयोग गर्ने बानी हटाउन  सपिङ ब्याग निशुल्क बाडिने भएको हो। कार्यक्रमको दिगोपनालाई मध्यनजर गर्दै २० जना महिलालाई १ हप्ते झोला सिलाउने तालिम दिइएको छ।  दोस्रो चरणमा पालिकाले  उत्पादन गरेका सपिङ ब्याग  पालिका भित्रका पसलहरूमा बिक्रीवितरण समेत गरिने छ।

प्लास्टिकको प्रयोगबाट वातावरणमा पर्ने असर, फोहोरमैलाको वर्गीकरण लगायतका विषयमा जनचेतना जगाउन र झोला वितरणमा करिब ३१ लाख रूपैयाँ खर्च हुने पालिकाले जनाएको छ।  प्लास्टिकमुक्त बनाउन प्लास्टिकजन्य सामागी प्रशोधन गरी टायल र प्लास्टिक प्लेट बनाउने कार्यक्रम रहेको  योजना तथा कार्यक्रम  अधिकृत याम प्रसाद रेग्मीले जानकारी दिए।

 



सूचना प्रविधिमैत्री पालिका अन्तर्गत पालिकाका १७ वटा विद्यालयमा सूचना प्रविधिका सामाग्रीहरू जडान गरिनेछ । जस अन्तर्गत विद्यालयहरूमा इ- हाजिरी मेसिन र सिसिटिभी क्यामरा जडान गरिनेछ। प्रविधिको प्रयोग गरि विद्यालयको शैक्षिक क्रियाकलापको अनुगमन एवं गुणस्तर वृद्धिलाई प्राथमिकता दिइने नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले जानकारी दिए।

मुख्यमन्त्री नवपर्वतन साझेदारी कार्यक्रम अन्तर्गत पालिकालाई सूचना प्रविधिमैत्री र प्लास्टिकमुक्त बनाउन  १ करोड ७६ हजार बजेट खर्च हुनेछ। प्रविधि खरिदमा ४४ लाख ६६ हजार, तालिममा १५ लाख ,परामर्श , अनुगमन, मूल्यांकन र प्रशासनिक खर्चमा १५ लाख खर्च हुनेछ।

सूचना प्रविधिमैत्री एवं प्लास्टिकमुक्त भीरकोट  कार्यक्रम संचालन गर्न पालिकाको ३५ लाख ७६ हजार खर्च हुनेछ भने गण्डकी प्रदेश मुख्यमन्त्री कार्यालयले ६५ लाख रूपैयाँ रकम बेहोर्नेछ।