भीरकोट नगरपालिकाले बाढी पहिरो प्रभावितलाई राहत दिने
भीरकोटमा स्थानीय विपद् व्यवस्थापन समितिको बैठक सम्पन्न भएको छ । विभिन्न निर्णय गर्दै स्थानीय विपद् व्यवस्थापन समितिको बैठक आईतबार भीरकोट नगरपालिकाको सभाहलमा सम्पन्न भएको हो । बैठकमा पालिकाभित्र यो वर्षमा भएका विपद्जन्य घट्ना तथा सो बाट प्रवाभितहरुको राहत, उद्धार तथा पुनःस्थापना सम्बन्धमा छलफल गरेर अन्य निर्णय समेत गरिएको नगर प्रमुख एवं स्थानीय विपद् व्यवस्थापन समिति संयोजक गोविन्द कुमार कर्माचार्यले जानकारी दिनुभयो ।
उहाँका अनुसार स्थानीय विपद् व्यवस्थापन समितिको बैठकले मानवीय क्षती भएकोमा प्रतिव्यक्ति १ लाख, घर पूर्ण क्षती भएकोमा ५० हजार, गोठ पूर्ण क्षती भएकोमा ३० हजार, टवाइलेट पूर्ण क्षती भएकोमा निर्माण सामाग्री सहित ५ हजार, लैनो भैसी मरेको भए २५ हजार, थारो भैसी मरेको भए १० हजार र बाख्रो मरेको भए ५ हजारका दरले तत्काललाई राहत दिने निर्णय गरेको छ । यस्तै बर्षाजन्य मनसुनबाट हुन सक्ने संभावित जोखिमलाई ध्यानमा राखेर सबै स्थानीय व्यवस्थापन समिति तयारी अवस्थामा बस्ने, अति बर्षा भयो भने सडक अवरुद्ध हुने हुँदा त्यसका लागि जेसिबी लगायतका मेसिन तयारी अवस्थामा राख्ने समेत निर्णय भएको छ । यस्तै असार महिनामा आएको बाढी तथा पहिरोले कृषि, पशु र सिंचाईको क्षेत्रमा पारेको क्षतीको मर्मत तथा राहतका लागि सबै निकायलाइ अपिल गर्ने निर्णय पनि भएको छ ।
गत असारमा गएको बाढी तथा पहिरोका कारण भएको क्षतिको वडा कार्यालय मार्फत विवरण संकलन गरेर जिल्ला विपद् व्यवस्थापन समितिलाइ उपलब्ध गराउने पनि निर्णय भएको छ । विभिन्न मानवीय तथा प्राकृतिक कारणबाट हुन सक्ने क्षती न्यूनीकरण गर्न स्थानीय विपद् व्यवस्थापन समितिले सचेत गराउने, स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना गर्ने, पालिकामा उद्धार टोली गठन गर्ने निर्णय भएका छन् । नगर प्रमुख एवं स्थानीय विपद् व्यवस्थापन समिति अध्यक्ष गोविन्द कुमार कर्माचार्यको संयोजकत्वमा बसेको बैठकमा उपप्रमुख, वडाध्यक्ष, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, सुरक्षा नियकायका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
भीरकोटमा यस बर्षको बाढी तथा पहिरोको कारण २ जनाको मृत्यु भएको छ भने ३ वटा भैसी र १६ वटा बाख्रा मरेका छन् । नगरपालिकाले दिएको तथ्याङक अनुसार ११ वटा घर पूर्ण क्षती भएका छन् भने एउटा मन्दिर र दर्जनौ खानेपानी ट्याङकी पहिरोले बगाएको छ । २ वटा गोठ पूर्ण रुपमा नष्ट हुँदा एउटा विद्यालयमा आंशिक क्षती पुगेको देखिन्छ । यसैगरी २ वटा पक्की पुलमा क्षती पुगेको छ भने १ सय १५ वटा घर जोखिममा रहेको पालिकाको तथ्याङक छ । अहिलेसम्म पहिरोका कारण १७ घरपरिवार विस्थापित भैसकेको नगरपालिकाले जनाएको छ । ३ सय ९६ रोपनी खेतीयोग्य जमिन पुरिएको तथा ५० वटा कुलोमा क्षती पुगेको बताईएको छ । साथै ५ सय ३७ सुन्तलाका विरुवा पूर्ण रुपमा नष्ट भएको तथ्याङक नगरपालिकाले सार्वजनिक गरेको छ ।