जिल्ला प्रशासनद्वारा पहिरोपीडित परिवारलाई राहत


जिल्ला प्रशासन कार्यालय स्याङ्जाले पहिरोमा परी ज्यान गुमाएका परिवारलाई राहत रकम हस्तान्तरण गरेको छ ।स्याङ्जा अर्जुनचौपारी गाउँपालिका -१ का अस्मित परियार र प्रभा परियारको परिवारलाई राहत रकम हस्तान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिनुभयो।
गत २७ गते पोखरा -१९ तल्लाकोट टारीमा गएको पहिरोले विवाहपछि ससुराली जानुभएका अस्मित परियार, उहाँकी श्रीमती र श्रीमतीको परिवारसहितको ज्यान लिएको थियो । प्रमुख जिल्ला अधिकारी नेपालले मृतक अस्मितको घरमै पुगेर जनही ५०/५० हजार गरी नगद एक लाख रुपियाँ राहत हस्तान्तरण गरेको बताउनुभयो।

राहत रकम हस्तान्तरण गर्दै प्रजिअ नेपालले विपदमा परी ज्यान गुमाएका परिवारलाई संघीय सरकारद्वारा उपलब्ध हुने दुई लाख रुपियाँ र एकाघरको भएकाले थप एक लाख गरी तीन लाख रुपियाँ प्रक्रियागत रुपमा मृतकका परिवारको खातामा बाँकी रकम जम्मा गराइने बताउनुभयो।
त्यस्तै, प्रशासनले गत असारमा पहिरोमा परी छोरीसहित ज्यान गुमाएकी फेदिखोला -५ बाँगेकी दुर्गा जिटीको परिवार, पहिरो झर्दा ज्यान गुमाएका आँधिखोला -३ बिचरीचौतारीका तुलसीप्रसाद पौडेलको परिवार, पहिरोले च्यापिएर ज्यान गुमाएकी भीरकोट -५ ज्यामिरेकी खेम कुमारी मल्लको परिवार र बिरुवा -६ लामाखेत स्याङ्दीमा पहिरोले ज्यान गुमाएकाको परिवारलाई समेत राहत रकम हस्तान्तरण गरेको छ ।
यसैगरी, बाढीपहिरो प्रभावित परिवारलाई जिल्ला रेडक्रस सोसाइटी स्याङ्जा र लायन्स क्लब अन्तराष्ट्रिय डिस्ट्रीक्ट स्याङ्जाले पनि नगदसहित जिन्सी लगायतका सामानहरु राहत स्वरुप वितरण गरेको छ ।