गडहरे गुफा : सम्भावना बोकेको नेपालको एक महत्वपूर्ण पर्यटकीय गन्तव्य

बैशाख २९, २०८१


गण्डकी प्रदेशको स्याङ्जा जिल्लामा पर्ने भीरकोट नगरपालिकामा अवस्थित गडहरे गुफाको देशकै महत्वपूर्ण पर्यटकीय गन्तव्य बन्ने सम्भावना छ । बेडरक इन्जिनियरिङ कन्सल्टेन्सी काठमाडौंले गरेको भौगर्भिक अध्ययनले गडहरे गुफाको यात्रा गर्न सम्भव लम्बाई ६७८ मिटर देखाएको छ । गुफाको लम्बाई अझै बढी भएपनि त्यसबाट भित्र गुफाको यात्रा एकदमै कठीन र प्राय असम्भव रहेकाे छ ।

अध्ययनमा संलग्न त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. कविराज पौड्यालले प्रस्तुत गरेको अध्ययन प्रतिवेदन अनुसार यो गुफा प्राकृतिक विशेषताले भरिएको छ । गुफामा शिव लिङ्ग, हात्तीको सुँढ, हात्तीको पाइला, गाइको थुन, केराको कोशा, केराको सिङ्‍गो घरी, मकैको घोँगा, अङगुरको झुप्पा, माहुरीको चाका जस्ता प्राकृतिक संरचनाहरू छन् । धार्मिक आकृतिहरुको बाहुल्यता भएका कारण यो गुफालाई देशकै एक प्रमुख धार्मिक पर्यटकीय स्थलको रुपमा समेत विकास गर्न सकिने अध्ययनले देखाएको छ ।

गडहरे गुफाभित्र अक्सिजनको अभाव छैन र पानीको थोपा चुहिने देखि ताल, झरना र खोला गुफाभित्रै अवलोकन गर्न पाइन्छ । प्रवेशद्वारबाट २१३ मिटरभित्र झरना बगेको देख्न सकिन्छ । गुफाभित्र २० मिटर अग्लो र १९‍.२ मिटर फराकिलो हल आकारको फराकिलो ठाउँ पनि छ जहाँ करिब ३०० मानिसहरू एकैपटक भेला हुन सम्भव छ । शसस्त्र द्वन्द्वकालमा माओवादीका जनमुक्ति सेनाहरुले यो ठाउँलाई आश्रय स्थलको रुपमा समेत प्रयोग गरेको स्थानीयहरु बताउँछन् ।

यस गुफाको भित्री भागमा उचाइगत भिन्नताहरु पनि छ । कुनै स्थानमा उचाई ५० से.मी. रहेको छ भने कुनै स्थानमा २२ मिटर रहेको छ । कतै समथर छ भने कतै भिरालो छ । त्यसकारण यो गुफा साहसिक पर्यटनका लागि पनि उत्कृष्ट गन्तव्य हो ।

प्रा.डा. पौडेलका अनुसार अहिलेसम्म पत्ता लागेका गुफाहरुमध्ये नेपालकै सबैभन्दा लामो र अद्वितिय विशेषताले भरिएको गुफा हो । वि.सं. २०४५ सालमा स्थानीयले पत्ता लगाएको भएपनि करीब ३ दशकपछि मात्रै निवर्तमान नगर प्रमुख छायाराम खनालको अग्रसरतामा गुफाको भौगर्भिक र भुभौतिकी सर्वे गरिएको थियो ।



निवर्तमान नगर प्रमुख खनालले गुफालाई व्यवस्थित र सुरक्षित पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नको लागि स्थानीय , प्रदेश र संघीय सरकारले विशेष ध्यान दिनुपर्ने बताए l वडा नं ८ र ९ को सिमानामा पर्ने गडहरे गुफाको विकासका निम्ति नगरपालिकाले पनि पूर्वाधार विकासको काम गरिरहेको भएपनि भएपनि प्रदेश/केन्द्र सरकारले पर्यटन सडक निर्माण गरी सहज यातायातको व्यवस्था नगर्दासम्म उक्त स्थान ओझेलमा पर्ने देखीएको छ।

नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले गडहरे गुफाको अध्ययन प्रतिवेदन उपयोगी रहेको बताउँदै गडहरे गुफाको पर्यटन पूर्वाधार विकास र प्रचारप्रसारमा नगरपालिका सदैव लागि पर्ने बताएका छन् । उनले पर्यटकीय महत्वको गुफाको प्रचारप्रसारमा सहयोग गर्न सरोकारवाला सबैलाई आग्रह समेत गरेका छन् ।धार्मीक, प्राकृतिक र भौगोलिक विशेषताले भरिएको यो गुफा नेपालकै प्रमुख पर्यटकीय गन्तव्य हुने सम्भावना अत्याधिक छ।

तस्बिरमा गडहरे गुफा