राजनीतिक द्वन्द्वले अप्रिय घटना नघटोस

फागुन १९, २०७८


१९ फागुन २०७८

स्थानीय स्तरमा संचालन हुने विकास आयोजनहरू सम्पन्न भएपछि सामान्यतया नगरप्रमुख वा अन्य कुनै स्थानीय जनप्रतिनिधिद्वारा उद्घाटन हुनु स्वभाविक हो।तर राजनीति उद्देश्य पूरा गर्न वा जनताका आँखामा छारो हाल्न स्थानीय सरकारहरूले आफू अनुकुलका दलका नेता वा मन्त्रीहरूलाई बोलाउने प्रचलन भने नौलो होइन। कतिपय अवस्थामा विकास योजनाको निम्ति पहल गर्ने, खटेर काम गर्ने भन्दा पनि विकास योजनामा कुनै संलग्नता नै नभएका नेता वा मन्त्रीहरूलाई राजनीतिक रंग मिलाएर निम्त्याउने परिपाटी बढ्दो छ।यस्ता राजनीतिक अभिष्टबाट प्रेरित उद्घाटन कार्यक्रमहरूले समाजिक एकता खल्बल्याई द्वन्द्व र हिंसाको बढवा दिने मात्र नभै त्यस्ता कार्यमा संलग्न राजनीतिक दलहरूको साख समेत गिराउँदछ्न्।

आज भीरकोट नगरपालिकामा नेपाल सरकारका पूर्व उपप्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य गोपालमान श्रेष्ठको आतिथ्यतामा हुन लागेको स्वास्थ्य चौकी समुद्घाटन कार्यक्रममा नेकपा एमाले सम्बद्ध नेता कार्यकर्ताहरूले कालो झण्डा देखाउने लगायतका विरोधका कार्यक्रम गर्ने योजना सार्वजनिक गरेका छ्न्।निर्माण सम्पन्न भएर विगत २ वर्षदेखी सेवा प्रवाह भैरहेको स्वास्थ्य चौकी उद्घाटनका नाममा सामाजिक एकता बिग्रने वा हिंसात्मक गतिविधिलाई बढवा दिने खालका कुनै पनि गतिविधि नहोस्।सम्बद्ध राजनीतिक दलहरूको द्वन्द्वको चपेटामा कुनै पनि नागरिक नपरून्। यसका लागि नगर प्रशासन , जिल्ला प्रशासन एवं सरोकारवाला निकायहरूले उच्च सतर्कता र संयमता अपनाउनु आवश्यक छ। राजनीतिक दलहरूको खिचातानी वा द्वन्द्वका कारण निर्दोष सर्वसाधारण माथि अप्रिय घटना नघटोस्।