मौलाउँदो विदा संस्कृति

फागुन १५, २०७८


१५ फागुन २०७८



नेपाल बहुजातीय, बहुभाषिक, बहुसांकृतिक मुलुक हो । १२५ जातजातिको साझा फूलबारी नेपालमा १३१ भाषाहरू बोलिन्छ्न् । हरेक समुदायका मानिसहरूले दर्जनौं चाडपर्वहरू मनाउँछ्न् । देशमा संघीयता र समावेशीता कार्यन्वयन भएसँगै स्थानीय तथा प्रदेश सरकारले जातीय तथा धार्मिक समुदायलाई खुसी बनाउने राजनीतिक उद्देश्यले प्रेरित भएर सार्वजनिक विदा दिने प्रचलन बढ्दै गएको छ । मौलाउँदो सार्वजनिक विदा संस्कृतिका कारण विशेष गरेर सार्वजनिक सेवा प्रवाह र शिक्षण संस्थाहरू प्रत्यक्ष प्रभावित हुँदै आएका छ्न् ।



सार्वजनिक विदा दिनुको सट्टा उक्त पर्व विशेष मनाउने समुदायलाई मात्रै विदा दिने परम्पराको थालनी गर्नु आवश्यक छ ।बहुसंख्यक जाती वा समुदायले मनाउने पर्व विशेषमा मात्रै सार्वजनिक विदा दिनु उचित हुन्छ । हठात घोषणा हुने सार्वजनिक विदाहरूले सार्वजनिक कार्यालयका सेवाग्राही र विद्यार्थीहरू मर्कामा परेका छ्न् । कोरोना महामारीका कारण थला परेको शैक्षिक क्षेत्र अनावश्यक सार्वजनिक विदाका कारण थप थला परेको छ । सार्वजनिक विदा दिनुको सट्टा सार्वजनिक कार्यालय र शैक्षिक संस्थाहरूमा उक्त दिन मनाइने पर्व वा दिवस विशेषको महत्त्व, गरिमा र परम्पराको चर्चा परिचर्चा गरेर वा पर्व विशेष अतिरिक्त क्रियाकलाप गरेर मनाउने परम्पराको थालनी गर्नु आवश्यक छ ।

एउटा पालिकाले सार्वजनिक विदाको घोषणा गरेपछि जिल्लाका अन्य पालिकाहरूले समेत पछ्याउने गलत प्रवृति हावी भएको पाइन्छ । उदाहरणको रूपमा गत पुस २७ गते विश्व हिन्दु युवा संघ स्याङ्जाको मागमा स्याङ्जाका अधिकांश पालिकाहरूले सार्वजनिक विदा दिए । यसै गरि मगर समुदायको बाहुल्य रहेको गल्याङ नगरपालिकाले मगर दिवसको उपलक्ष्यमा सार्वजनिक विदा दिएपछि स्याङ्जाका अधिकांश पालिकाले सार्वजनिक विदा दिएका छ्न् । सस्तो लोकप्रियता र राजनीतिक उद्देश्यबाट अभिप्रेरित भएर सार्वजनिक विदा दिने परिपाटीले स्थानीय निकायको स्वेच्छाचारी प्रवृति उदाङ्गीएको छ । सबैलाई प्रत्यक्ष प्रभावित पार्ने गरेर सार्वजनिक विदा दिनुभन्दा स्थान वा समुदायको आवश्यकता अनुसार स्थानीय विदा दिने व्यवस्था सुरू गर्नु उचित हुन्छ । पर्व वा दिवस विशेष कुनै सार्वजनिक कार्यक्रम नगरी नगराइ सार्वजनिक विदा दिंदा समुदाय वा जाती विशेष क्षणिक रूपमा खुसी भएपनि यसले सार्वजनिक सेवा प्रवाह र शिक्षण संस्थाहरूलाई दीर्घकालीन असर पार्ने निश्चित छ ।सार्वजनिक विदाको घोषणा गर्दा सरोकारवाला अन्य पक्षहरूमा पर्ने प्रभावहरूको पनि विश्लेषण गरियोस्।