स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेका छौं: अध्यक्ष कुँवर

फागुन २४, २०७९


जनताको इच्छा चाहना अनुसार काम गर्ने भएकाले स्थानीय सरकारहरू जनता माझ लोकप्रिय हुँदै गएका छन् । जनताको स्थानीय आवश्यकता र दैनिकीसंग प्रत्यक्ष सरोकार राख्ने र ५ वर्ष सम्मनै स्थिर रहने भएकाले पनि संघीयतामा स्थानीय सराकारको महत्व केन्द्रीय र प्रदेश सरकारहरूको तुलनामा बढी छ। स्थानीय सरकारहरूले पनि स्थानीय आवश्यकता र सम्भावनालाई ख्याल राखेर विकास निर्माण र जनकल्याणका कार्यहरूलाई अगाडि बढाइरहेका छन्। यसै सन्दर्भमा रहेर हामीले विरुवा गाउँपालिकाका अध्यक्ष सूर्य बहादुर कुँवरसंँग पालिकाका सम्भावना,योजना र प्राथमिकताका विषयमा केन्द्रीत रहेर कुराकानी गरेका छौं । प्रस्तुत छ खबर कलमका सम्पादक जीवन शर्मा अर्याल र हाम्रा सम्पादक नारायण प्रसाद कोइरालाले पालिकाका अध्यक्ष कुँवरसंँग गरेको कुराकानीको सम्पादित अंश :

) अध्यक्षज्यू नमस्कार। आरामै हुनुहुन्छ ?
हजुरहरू दुवैजनालाई मेरो नमस्कार । जनताको माया र आशिर्वादले गर्दा आरामै छु ।

२) हजुरहरू विरुवा गाउँपालिकाको दोस्रो स्थानीय सरकारको नेतृत्व गरिरहनुभएको छ । यो कार्यकाल सम्हालीरहंदा पहिलो स्थानीय सरकारले हजुरहरूलाई के कस्ता चुनौती र अवसरहरू के के छन् ?

पहिलो स्थानीय सरकारले सृजना गरेका चुनौतीहरू म त्यती धेरै देख्दिन। नियमसंँगत तरिकाले नै उहाँहरूले योजना तथा कार्यक्रम अगाडि बढाएको देखिन्छ। विकास निर्माणका कार्यक्रमहरू बढी उपभोक्तामैत्री देखिन्छ जसको कारण उपभोक्ताहरूले केही ठाउँमा राम्रोसंँग कार्यसम्पादन नगरेको देखिन्छ । पालिकामा संचालन भएको नमुना कृषि कार्यकमले अपेक्षित प्रतिफल दिन नसकेको देखिन्छ । सम्भावनाको रूपमा उहाँहरूले स्थानीय पाठ्यक्रम जारी गर्नुभएको छ । हामीले पाठ्यपुस्तक निर्माण गरेर स्थानीय पाठ्यक्रमको कार्यान्वयन गर्यौ । यसैगरी पहिलो सरकारले सडकहरू कालोपत्रे गर्न नसके पनि ग्रामीण सडकहरूलाई प्राथमिकतामा राखेर स्तरोन्नति गरेको हुँदा अहिले सबै वडामा सवारी साधनहरू सहज रूपमा पुग्न सक्छन् । त्यसलाई बाह्रै महिना चल्ने गरी स्तरोन्नति गर्ने दायित्व र अवसर हामीलाई प्राप्त भएको छ ।

३) पहिलो सरकारले सडकलाई प्राथमिकतामा राखेर काम गरेको भन्नुभयो । तर विरुवा गाउँपालिका आउने मुख्य सडक मार्ग राङ्खोला विरुवा सडक खण्डको अवस्था अझै नाजुक छ । किन ?

राङ्खोलादेखि धोवादी भन्ज्याङसम्मको करिब ६ किलोमिटरसडकको अवस्था नाजुक भएको कुरा साँचो हो । त्यसमा विरुवा गाउँपालिकाको आफ्नै स्रोत साधनले कालोपत्रे गर्न सम्भव थिएन त्यसकारण पालिकाले त्यसमा लगानी गरेन । यो सडकको स्तरोन्नतिको लागि लागि २८ करोडको डीपीआर बनिसकेको छ । सडकको अवस्था सुधार गरी आवागमन सहज गराउने हेतुले म ६ पटक भन्दा बढी प्रदेश सरकारका विभिन्न निकायमा पुगिसकेको छु । अब यही आर्थिक वर्ष भित्र बहुवर्षीय योजनाको रूपमा सडकको काम सुरू हुँदैछ । पक्कै पनि अर्को आर्थिक वर्षमा सडकको अवस्थामा राम्रो सुधार हुनेछ ।



४) हजुरको नेतृत्वको सरकारले अगाडि सारेका महत्वपूर्ण नीति , योजना तथा कार्यक्रमहरू के के हुन् ?

मेरो नेतृत्वमा ११ औं र १२ औं गाउँसभा बसिसकेको छ । गाउँ सभाबाट हामीले पालिकाको विकास र समृद्दीको खाका तयार पारिसकेका छौं । पालिकाभित्रका सडकहरूलाई वर्गीकरण गर्ने काम सकिसकेका छौं । गौरवको आयोजनाको रूपमा ज्याग्दी करिडोरलाई अगाडि बढाएका छौं । राङ्खोलादेखि विरुवा सम्मको सडकलाई पालिकाको पहिलो प्राथमिकतामा राखेर योजना र स्तरोन्नति प्रक्रिया अगाडि बढाएका छौँ । वडा र पालिका जोड्ने र अन्य पालिकासंँग जोडिने सडकलाई रणनीतिक महत्वका सडकको रूपमा विकास गर्ने गरी काम थालिसकेका छौं । जनताको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै पालिकाका ६ वटै स्वास्थ्य चौकीमा प्रयोगशाला सेवा संचालन गरिसकेका छौँ । २ वटा स्वास्थ्य संस्थामा मात्रै बर्थिङ सेवा संचालनमा रहेकोमा थप ३ वटा स्वास्थ्य चौकीमा बर्थिङ सेवा संचालनको चरणमा छ । शैक्षिक विकासको निम्ति १० वटा बालविकास केन्द्रलाई नमूना बालविकास केन्द्रको रूपमा विकास गर्न लागिपरेका छौं । शिक्षाको गुणस्तर वृद्दि गर्न रूम टु रिड संँग साझेदारी गरी थप ५ वटा विद्यालयमा शैक्षिक कार्यक्रम संचालन गर्दै छौं । यो पहिलो वर्षलाई हामीले नीति तथा योजना निर्माणको वर्षको रूपमा लिएका छौं । पालिका भित्रको कृषि सम्भाव्यताको अध्ययन गर्ने, डिजिटल प्रोफ़ाइल निर्माण गर्ने, जमीनको वर्गीकरण गर्ने र प्राप्त तथ्यांकका आधारमा आवधिक योजना निर्माण गर्ने गरी अगाडि बढेका छौँ । पहुँचका आधारमा योजना बाढ्ने प्रवृत्तीको अन्त्य गर्दै आवधिक योजनाको आधारमा विकास योजना कार्यान्वयन गर्ने र सबै क्षेत्रको समानुपातिक विकास गर्ने हाम्रो लक्ष्य छ । घर नक्सा पासलाई अनिवार्य गरेका छौँ र सडकको मापदण्ड अनुसार आवास वा अन्य संरचना निर्माण गर्न पाइने बनाएका छौं ।

विज्ञापन

५) पालिकाका प्राथमिकताका विषयहरू त लगभग प्रस्ट भैसकेका छन् l बुँदागत रूपमा भन्नुपर्दा पालिकाका प्राथमिकताहरू के के हुन् ?

हामीले स्वास्थ्य र शिक्षालाई पहिलो प्राथमिकतामा राखेका छौं । व्यवसायिक कृषि उत्पादनलाई विशेष प्राथामिकतामा राखेर पालिकालाई कृषिमा आत्मनिर्भर गराउने हाम्रो लक्ष्य छ । वैदेशिक रोजगारीमा जाने र जग्गा जमिन बाँझो राख्ने प्रवृतिको पनि न्यूनीकरण गरिनेछ । दिगो विकासको मान्यता अनुसार पालिकाको सामाजिक, आर्थिक र पूर्वाधार विकास गर्नु नै हाम्रा प्राथमिकता हुन् l

६) हजुरको ५ वर्षको कार्याकाल पश्चात विरुवाको सामाजिक, आर्थिक र पूर्वाधार विकासको अवस्था कस्तो हुनेछ ?

हामी हाम्रो पालिकाको वर्तमान अवस्था पत्ता लगाउन तथ्यांक संकलन गरिरहेका छौं । वर्तमान अवस्था थाहा भएपछि मात्र पांँच वर्ष पछाडिको स्पस्ट मार्गचित्र तय हुनेछ । यद्यपि पाँच वर्षमा पालिकामा पालिका स्तरको अस्पताल, पालिका स्तरीय रंगशाला, बहुमुखी क्याम्पस निर्माण तथा संचालन हुनेछन् । गौरवको आयोजना ज्याग्दी करिडोर  र पहिलो प्राथमिकताको सडक विरुवा-राङ्खोला सडक  कालोपत्रे हुनेछन् । रणनीतिक महत्वका सडकहरू बाह्रै महिना चल्ने गरी नाली निर्माण र ग्राभेल गरि स्तरोन्नति हुनेछन् । मुख्य मुख्य ठाउँमा जहाँ पुलको आवश्यकता छ त्यहाँ पुलहरू निर्माण हुनेछन् l राउसेघाट, गैरीघाट, उत्तरे खोला , स्याङ्दी लगायतका ठाउँहरू हाम्रो प्राथमिकता छन् ।

बिरुवा गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवन

७)धेरैजसो पालिकामा कर्मचारी र जनप्रतिनिधिबिच तालमेल नभएको पाइन्छ। विरूवाको अवस्था के छ?

हाम्रो पालिकामा मैले त्यस्तो अनुभूति गरेको छैन। कर्मचारी वा जनप्रतिनिधिमा दम्भ भयो भने द्वन्द्वात्मक अवस्था सृजना हुने हो तर हामीकहाँ राम्रो तालमेल छ। १६ वर्ष सम्म माध्यमिक विद्यालयको प्रशासनिक नेतृत्व सम्हालेको हुनाले जनप्रतिनिधि कर्मचारीको भावना बुझेर नै म अगाडि बढेको छु। सामाजिक, राजनीतिक , बौद्धिक व्यक्ती एवं संघसंस्थासँग कसरी तालमेल मिलाउनुपर्छ भन्ने कुरा मेरो २६ वर्षको शिक्षण अनुभवमा राम्रोसँग सिकेको छु। मेरो कार्यकालमा बेमेल वा द्वन्द्वको कुरा होला भनेर कल्पना समेत गरेको छैन।

८) हजुरको अनुभव पालिकाको समृद्धि र विकासको लागि उपयोगी बनोस्। अध्यक्ष ज्यूलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं। अन्त्यमा हाम्रो मिडिया मार्फत विरूवाबासी जनतालाई के भन्न चाहनुहुन्छ ?

धन्यवाद । निर्वाचनमा मतदान गरी विरुवा गाउँपालिकाको नेतृत्व गर्ने अवसर प्रदान गर्नुभएकोमा सम्पूर्ण पालिकाबासीहरूलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छु। कसैलाई पनि कुनैपनि कोणबाट विभेद नगरीकन जनापेक्षा अनुसार काम गर्ने प्रतिबद्धता समेत व्यक्त गर्दछु । “समृद्ध बिरुवा, सुखी विरूवाबासी” को नारालाई व्यवहारिक कार्यान्वयन गर्न हामी हाम्रो कार्यकालभरी लागि पर्नेछौं । यसका लागि सम्पूर्ण विरूवाबासीलाई रचनात्मक सल्लाह, साथ, सहयोग र खबरदारी निरन्तर गरिरहनको लागि समेत अनुरोध गर्दछु ।