“समृद्ध विरुवा र सुखी विरूवाबासी” को लक्ष्यलाई प्राप्त गर्न हामी लागिपरेका छौं ।

माघ १३, २०७९


विज्ञापन
बिज्ञापन



स्थानीय तहको सरकार जनताको दैनिकीसँग प्रत्यक्ष सरोकार राख्ने सरकार हो। पालिकामा उपलब्ध सिमित स्थानीय स्रोत साधन प्रयोग गरी गाउँ टोलको असीमित आवश्यकता पूरा गर्न साँच्चिकै गाह्रो छ। यसै सन्दर्भमा स्थानीय तहका आवश्यकता, सम्भावना , चुनौती र उपलब्धिहरूको सेरोफेरोमा रहेर हामीले स्याङ्जाको बिरुवा गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनन्तराज न्यौपानेसँग कुराकानी गरेका छौं। प्रस्तुत छ हाम्रा प्रधान सम्पादक नारायण प्रसाद कोइरालाले प्रमुख प्रशासकीय अधिकृत अनन्तराज न्यौपानेसँग गरेको कुराकानीको सम्पादित अंश।

विज्ञापन


१) विरुवा गाउँपालिकामा भएका सम्भावना र अवसरहरू के के  हुन् ?
विरुवा गाउँपालिका स्याङ्जा जिल्लाको सदरमुकामबाट नजिकै रहेको स्थानीय तह हो। पहाडी भुभाग भएकाले यो क्षेत्रमा सुन्तला , फलफूल, पशुपालन, पर्यटन र कृषिको प्रशस्त सम्भावना छ। दुलेगौंडा , वालिङ जस्ता ठूला बजारहरू र प्रदेश राजधानी पोखराबाट पनि नजिकको दुरीमा भएकाले यहाँको उत्पादनलाई बजारीकरण गर्न कुनै समस्या छैन। प्रदेश र संघीय सरकारसँग समन्वय गर्दै विकासका गतिविधिहरूलाई शसक्त तरिकाले संचालन गर्न र “समृद्ध विरुवा र सुखी विरूवाबासी” को लक्ष्यलाई प्राप्त गर्न हामी लागिपरेका छौं ।
२) हजुरले बिरुवा गाउँपालिकाको प्रशासकीय प्रमुखको जिम्मेवारी समालेको पनि करिब एक वर्ष भैसकेको छ। यो एक वर्षको कार्यकालमा विरूवाको समृद्धिका लागि के कस्ता कार्यहरू गर्नुभयो?
साँच्चिकै भन्दा एक वर्षको अवधी एकदमै छोटो भएको महसुस भएको छ। यही समयमा स्थानीय, प्रदेश र संघको निर्वाचन भयो। जसको कारणले पनि सोचेजस्तो काम गर्न सकिएन। तर पनि यो अवधिमा सुशासन र नागरिक मैत्री सेवा प्रवाहलाई प्राथमिकतामा राखेर काम गर्‍यौं । नागरिकलाई सहज सेवा प्रवाह गर्न र उहाँहरूको आवश्यकलाई सम्बोधन हुने किसिमले नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्‍यौं। सेवा प्रवाहलाई सहज बनाउन वडा तहमै योजना संकलन र सम्झौता गर्ने, वडा स्तरमै सामाजिक सुरक्षा वितरण गर्ने, पालिकाको रणनीतिक महत्त्वका सडकहरूको वर्गीकरण गरी सोही अनुसार बजेट विनियोजन गर्ने, कृषि क्षेत्रको विविधिकरण गर्ने जस्ता महत्त्वपूर्ण कार्यक्रमहरू कार्यान्वयन गरीरहेका छौं। दिगो विकासका लागि विकासमा अधिकतम जनसहभागिता जुटाउन गाउँपालिका साझेदारी नीति अन्तर्गत अधिकतम जनसहभागिता जुट्ने कार्यक्रम तथा योजना कार्यान्वयनका लागि सहज तरिकाले बजेट विनियोजन तथा निकासा हुने व्यवस्था मिलाएका छौं।

३) सडकलाई प्राथमिकतामा राखेर काम गरेको बताउनुभयो। तर पालिका प्रवेश गर्ने मुख्य सडकको अवस्था त हरिबिजोग नै छ  नि ! किन?

यो बारम्बार उठिरहेको प्रश्न हो। हामीले समृद्ध र सुखी विरूवाबासीको सपना देखाइरहँदा विगतमा के भयो भन्दा पनि अब हामीले के गर्दै छौं भन्ने कुरा महत्वपूर्ण हुन्छ। पालिकालाई राष्ट्रिय राजमार्गसँग सहज तरीकाले जोड्न अत्यावश्यक भएकाले हामी सोही अनुसार लागि परेका छौं। राङखोला-विरुवा सडकको स्तरोन्नति गर्दै सहज आवागमन सुनिश्चित गर्न पालिकाबाट ५० लाख बजेट विनियोजन गरेका छौं। सडकका लागि प्रदेश सरकारबाट २ करोड बजेट प्राप्त भएको छ। सडकको दिगो र व्यवस्थित विकासको लागि यो बजेट अझै अपुग हुने भएकाले प्रदेश सरकारसँग थप बजेट माग गर्न समन्वय गरिरहेका छौं। सकेसम्म यो महिना भित्र बहुवर्षीय रणनीतिक सडकको रूपमा यो सडक ठेक्का प्रक्रियामा जाँदै छ। अर्को वर्ष पालिका राष्ट्रिय राजमार्गसँग सहज रूपमा जोडिने विश्वास लिएका छौं।

४) ऐन र नीति नियम तर्जुमालाई पनि प्राथमिकतामा राखेको बताउनुभयो। अहिलेसम्म पालिकामा के कति ऐन नियम निर्माण भएका छ्न् ?

संविधान र संघीय कानुनले स्थानीय तहलाई प्रदान गरेका अधिकार प्रयोग गरी पालिकाका क्रियाकलापलाई सहज रूपमा संचालन गर्न र विधिको शासन कायम गर्न हामीले यो आर्थिक वर्षलाई कानुन निर्माणको आधार वर्षको रूपमा लिएर काम गरिरहेका छौं। अघिल्लो स्थानीय सरकारको कार्यकालमा केही सिमित कानुनहरू बनेका छ्न् । नियमित सेवा प्रवाहलाई सहज बनाउन र विकास योजनालाई दीगो र व्यवस्थित बनाउन हामीले हालै सम्पन्न १२ औं गाउँसभाबाट कर्मचारी आचारसंहिता ऐन, बालबालिका सम्बन्धी ऐन, प्रज्ञा प्रतिष्ठान ऐन लागायतका एक दर्जन भन्दा बढी ऐनहरू निर्माण गरेका छौं।

५) पालिकाका मुख्य प्राथमिकताहरू के-के हुन्?
पहाडी भूभाग भएकाले भौगोलिक बनावट अनुसारको विकास रणनीति लागू गरेका छौं। वडा नं ७ र ८ मा राम्रो सुन्तला उत्पादन हुने भएकाले फलफुल उत्पादनलाई प्राथमिकतामा राखेका छौं। यो वर्ष पालिका भित्र करिब ४ करोडको सुन्तला उत्पादन भएको छ । पशुपालन अन्तर्गत बाख्रापालन र बंगुरपालनको प्रचुर सम्भावना भएकाले यसलाई पनि प्राथमिकतामा राखेका छौं। जनजातिको बाहुल्य क्षेत्रमा होमस्टे र मनकामना आसपासका क्षेत्रमा पर्यटन प्रवर्द्धनलाई पनि प्राथमिकतामा राखेका छौं । कृषिलाई प्राथमिकतामा राखेर सशर्त अनुदानको कार्यक्रम गर्न गैरहेका छौं । जस अन्तर्गत पालिकालाई दूध, तरकारी, माछापालन , पशुपालनमा आत्मनिर्भर बनाउने लक्ष्य लिएका छौं।

६) अहिले प्रायजसो स्थानीय तहमा जनप्रतिनिधि र कर्मचारीबिच द्वन्द्व भएको पाइन्छ । बिरुवा गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीबिचको सम्बन्ध कस्तो छ?

अहिले सम्म बिरुवा गाउँपालिकामा  त्यस्तो द्वन्द्वको अवस्था अनुभव गरेका छैनौं। विकास र समृद्धिका सपना पूरा गर्न पनि यस्ता द्वन्द्वहरू बाधक हुने भएकाले कर्मचारी र जनप्रतिनिधिबिच सौहार्दपूर्ण वातावरण छ।हरेक योजना र नितिनिर्माण गर्दा हामीले समन्वयात्मक तरिकाले काम गरिरहेका छौँ । यति राम्रो मित्रता र सम्बन्ध सायद अरू पालिकामा पाउनु हुन्न।

७) हाम्रो मिडिया मार्फत पालिकाबासीलाई के भन्न चाहनुहुन्छ?
विरुवा बनाउने जिम्मा कर्मचारी, जनप्रतिनिधि, नागरिक सबैको हो। पालिकाभित्र समृद्धिका आधारहरू र सम्भावना प्रशस्त छन्। कृषि पशुपालन, सुन्तला, तरकारी उत्पादन लगायतका व्यवसायिक सम्भावना भएका क्षेत्रमा लगानी गर्न र नागरिकका दु:ख पिर मर्कालाई सम्बोधन गर्न पालिका सदैव तयार छ। व्यवसायिक र आत्मनिर्भर गाउँपालिका निर्माण गर्ने अभियानमा सहयोग गर्न सम्पूर्ण पालिकाबासीलाई अपिल गर्न चाहन्छु।