दिगो पूर्वाधार विकास मेरो पहिलो प्राथमिकता हो।

बैशाख २४, २०७९


आसन्न बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा नतिजा आफ्नो पोल्टोमा पार्न वालिङ नगरपालिका वडा नं २ का एमाले निकटका उम्मेदवारहरु घर दैलोमा व्यस्त रहेका छन्। वडा नं २ का अध्यक्ष पदका उम्मेदवार स्थानेश्वर रेग्मी, त्यस्तै महिला सदस्य मैना कोइराला,  दलित महिला सदस्य सुनिता नेपाली,  खुला पदका उमेद्धवार टिकाराम नेपाली र तोयनारायण काफ्ले चुनावी मैदानमा उत्रदै घर दैलोमा व्यस्त रहन थालेका हुन। उनिहरुले आफ्ना पार्टीका घोषणा पत्र र वडा नं २ को ५ बर्षे प्रतिवद्धता पत्र सहित घर घरमा पुगेका छन्।





वडा नं २ का एमाले निकट वडा अध्यक्ष पदका उम्मेदवार स्थानेश्वर रेग्मीका अनुसार घर दैलो कार्यक्रमको दुई चरण सकिएको छ। उहाँका अनुसार आफ्नो प्रतिवद्धता पत्र त्यहाँका स्थानियले प्रतिद्वन्दी पार्टीको भन्दा राम्रो मानेको र वडा नं २ बासीको हक हितको निम्ति तयार भएको भन्दै आम मतदाता आफु संँग खुसी भएको समेत रेग्मीको भनाइ छ। घरदैलो कार्यक्रम गर्दा विगतको तुलनामा आफ्ना मतदाता संख्या वृद्धी भएको र जनमुखी प्रतिबद्धता पत्र बनाएकै कारण आम मतदाता एमाले पार्टीमा मतदान गर्न अतुर भएको रेग्मीको भनाइ छ ।

रेग्मीका अनुसार वडा नं २ भित्र २५ बर्ष वडा कमिटि चलाएका घनश्याम काफ्ले लगाएत अन्य पार्टीका शुभचिन्तकहरुले निर्विरोध उम्मेदवार उठाउनु पनि जितको अर्को संकेत रहेको छ । रेग्मी लामो समय देखि पार्टीमा काम गरेकोले स्थानीय सामु लोकप्रिय नेता समेत हुनुहुन्छ। यसै सन्दर्भमा स्मार्ट अखबारका सम्पादक नारायण प्रसाद कोइरालाले वालिङ नगरपालिका वडा नं २ का नेकपा एमालेको वडा अध्यक्ष पदका उम्मेदवार स्थानेश्वर रेग्मीसंँग गर्नुभएको कुराकानीको सारसंक्षेप ।

१) हजुरको शैक्षिक र राजनीतिक जीवनयात्राको बारेमा संक्षिप्तमा बताइदिनुहुन्छ कि!

मैले आइ.ए सम्मको अध्ययन गरेको छु। म हाम्रो गौरवशाली पार्टी एमालेसँग आवद्ध छु र ३० वर्षदेखि यही पार्टीमा रहेर समाजसेवामा निरन्तर लागिरहेको छु।

२) हजुरको उम्मेदवारी के का लागि?

जनताको इच्छा र चाहनालाई मध्यनजर गर्दै सुखी वडा समृद्ध नागरिक बनाउन म प्रतिबद्ध छु। दिगो पूर्वाधार विकास मेरो पहिलो प्राथमिकता हो। सिंयाले-कसेदी-रत्ने-बएडांडा-सिरुबारे-धौखोला-छप्राकसम्म रिङरोड बनाउन, वडा कार्यालय भवन तथा बालमैत्री पार्क निर्माण गर्न, ७० वर्ष भन्दा माथिका जेष्ठ नागरिकहरुको स्वस्थ्य उपचार घरघरमा उपलब्ध गराउन, शैक्षिक सुधारका निम्ति वडा भित्रका सम्पूर्ण विद्यालयहरुमा इन्टरनेट जडान, निरन्तरता तथा नयाँ भवन निर्माण गर्न,५ वर्षे कार्यकाल भित्र वडा भित्र रहेका ५ किमी सडक ढलान तथा कालोपत्रे गर्न, वडा भित्र एक व्यवस्थित खेलमैदान निर्माण गर्न, व्यवसायिक कृषकहरुलाई अनुदान सहितका कार्यक्रमहरु ल्याउन, खरका छाना विस्थापित गरि टिनका छाना प्रदान गर्न, धर्म-संस्कार तथा संस्कृतिको जगेर्ना गर्नको निम्ति विशेष कार्यक्रम ल्याउन, महिला सशक्तिकरण तथा नेतृत्व विकासका कार्यक्रम ल्याउन मैले उम्मेदवारी दिएको हुँ।

३) चुनावमा तपाईंले जित्ने आधारहरू के के हुन?

हाम्रो कार्यक्रम र योजना जनमुखी एवं कार्यान्वयन योग्य छ्न्। हाम्रो वडामा सबैभन्दा धेरै जनमत नेकपा एमालेको पक्षमा छ। त्यसैले हाम्रो जीत सुनिश्चित छ।

४) चुनाव प्रचारप्रसार गर्दा निर्वाचन आचारसंहितालाई कत्तिको ख्याल गर्नुभएको छ?

हामीले आचारसंहितालाई एकदमै ख्याल गरेर चुनावी प्रचार प्रसारमा लागेका छौं। चुनावको माहोल सृजना गर्दा जानेर नजानेर आचारसंहिता उल्लंघन भएको हुनसक्छ, त्यसलाई सच्याउदै जानेछौं।