वालिङका नगरप्रमुख र उपप्रमुखका उम्मेदवारहरूको चुनावी एजेण्डा के हुन्?

बैशाख २३, २०७९


२३ बैशाख २०७९, वालिङ

उम्मेदवारी दर्तापछि स्थानीय तह चुनावको चहलपहल थप बढेको छ । विभिन्न दल र स्वतन्त्र उम्मेदवारहरू आआफ्ना एजेण्डा लिएर जनताको घरदैलोमा गैरहेका छ्न् । वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा स्याङ्जाको वालिङ नगरपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेबिच नै मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । यस नगरपालिकाको नगर प्रमुख र उपप्रमुख पदमा नेपाली काँग्रेसबाट यसअघिका नगर प्रमुख दिलीपप्रताप खांँण र कविता तिवारी (गैह्रे) तथा नेकपा (एमाले) बाट कृष्ण खांँण र खगीसरा थापाले उम्मेदवारी दिनुभएको छ । दुवै पार्टीले आफ्नो जित सुनिश्चित रहेको दाबी गर्दै आएका छन् । दुवै पार्टीका नगर प्रमुख र उपप्रमुख पदका उम्मेदवारहरुसंँग उहाँहरूको विकास र समृद्धिको योजनाको बारेमा पब्लिक आवाजका सम्पादक एवं हाम्रा वरिष्ठ सहकर्मी अमृत अर्यालले गरेको कुराकानीको संपादित अंश:

दिलिपप्रताप खाँण, नगर प्रमुखका उम्मेदवार – नेपाली काँग्रेस

क) नयाँ संविधानअनुसार तीन तहको सरकारको पहिलो निर्वाचनले प्रतिनिधि बनाएको व्यक्तिका रुपमा तपाईंको अनुभव कस्तो छ ?

मेरो अनुभवमा यो पहिलो प्रयास थियो । पहिलो प्रयासमै मैले धेरै कामको सुरुवात गरेको छु । संविधानले स्थानीय तहलाई २२ वटा अधिकार दिएको छ । तिनै अधिकारको परिधिमा रहेर मैले काम गर्न सकेजस्तो लाग्छ । विगतका ५ बर्षमा संविधानको आशय अनुसार सहकार्य, सहअस्तित्व र समन्वयको आधारमा मात्र मैले काम गरेको छु । नेपालमा यो ३ तहको सरकारको नौलो अभ्यास थियो । यो अभ्यासमा मेरो अनुभव सकारात्मक नै छ । निर्वाचित भएर आएपछि बिदा लिने समयसम्म आइपुग्दा जुन परिकल्पनाका साथ आएका थियौँ सोचेजस्तो प्रगति गर्न सकिएन । हामीलाई धेरै कुराहरुको अभाव थियो । २०औँ वर्षसम्म जनप्रतिनिधिको अभावमा कर्मचारीले शासन व्यवस्था सञ्चालन गरेका थिए । थुप्रै ऐन तथा कानुनहरु निर्माणदेखि भौतिक पूर्वाधार निर्माणका कामहरु गर्नुपर्ने भएकाले निकै समस्या हुँदो रहेछ । हामीले थुप्रै जटिलता पार गर्‍यौं । अब आउने जनप्रतिनिधिले त्यो झेल्नु नपर्ला ।

ख) पाँच वर्षअघि निर्वाचनमा भाग लिदा तपाईंले गर्नुभएका कुन घोषणा पूरा भए, कुन पूरा हुन सकेनन् ?



५ बर्ष अघिका घोषणाहरु अधिकांश सैद्धान्तिक थिए । यस अवधिमा घोषणा अनुसार धेरै कामहरु सम्पन्न भएका छन् । ति सबैको फेहरिस्त यहांँ सम्भव नहोला । कानुन निर्माणका कामहरु पूरा भएको छ । २० बर्षको दिर्घकालिन, मध्यकालिन र अल्पकालिन योजना बनाईएको छ । २० बर्षमा स्मार्ट सिटी बनाउने योजना अनुरुप बेसिक सिटी निर्माणको काम सुरु भएको छ । हामीले सकेसम्म वालिङवासी जनताहरुलाई संघीयताको अनुभूत हुने गरी सेवा प्रवाह गर्न खोज्यौँ । हरेक विषयहरुमा त्यसलाई गम्भीरताका साथ लियौँ । संघीयताको महसुस हुनेगरी नै हामीले पहलकदमी गर्‍यौं । विकासका कामहरुदेखि यावत कुराहरुको सेरोफेरोभित्र हामीले संघीयताको मर्मलाई आत्मासाथ गर्‍यौं । जनताको घरघरमा पुगेर सेवा प्रवाह गरेका छौँ । संघीयता आइसकेपछि अलिकति फरकचाँही पर्दो रहेछ, स्थानीय सरकार पनि अधिकारसम्पन्न हुने र यसले इच्छाशक्तिका साथ ऐनकानुनलाई सर्वोपरी मानेर काम गर्न खोज्यो भने गर्न सकिने रहेछ भन्ने कुरा वालिङवासीले अनुभूत गरेका छन् ।

ग) तपाई फेरि उम्मेदवार हुदै हुनुहुन्छ, तपाईंलाई नै भोट दिनुपर्ने कारण ?

यो बिचमा केन्द्र सरकारले सहयोग नगरेका कारण साढे २ बर्ष बाहेक राम्रोसंँग काम गर्न पाईएन् । मेरा धेरै अधुरा योजना यो पटक पूरा गर्ने तिव्र ईच्छा छ । मेरो योजनामा शहरी सडक तथा रिंगरोडको विकास, ढल निकासको प्रबन्ध, सवारी पार्किङको प्रवन्ध, सम्पदाहरुको संरक्षण र पर्यटन विकास, फोहरमैला व्यवस्थापन र वातावरण संरक्षण, उर्जा उत्पादन तथा विद्युतीकरण, औद्योगिक तथा घरेलु उद्योगको विकास, स्वास्थ्य शिक्षा तथा अस्पतालहरुको स्थापना, प्रशासनिक सुधार लगाययत मेरा केही दिर्घकालिन र अल्पकालिन योजनाहरु सार्वजनिक गरेको छु । विगतमा हामीले जेजति गर्‍यौं र गर्न सक्यौँ यो वालिङवासीले सकारात्मक ढंगले लिनुभएको होला । अहिलेसम्मको अवस्थामा आउनुका लागि वालिङमा बसोबास गर्नुहुने र विदेशमा बस्नुहुने सम्पूर्णमा वालिङवासी साथीभाइहरुको सहयोगले सम्भव भएको हो । यसका लागि उहाँहरुलाई धन्यवाद दिन चाहन्छु । वालिङबासी जनतालाई प्रदेश र संघभन्दा स्थानीय तह अलिकति फरक भएकाले इमान्दार, कुशल, अनुभवी, योग्यता, दक्षता, क्षमता भएको जाति, पार्टी र धर्मभन्दा अलि माथि उठेर त्यस्ता व्यक्तिलाई आउँदो निर्वाचनमा मध्यनजर गरेर निर्वाचित गर्न पाए अझ वालिङ नगरपालिका समृद्ध बन्न सार्थक हुनेछ भन्ने अनुरोध र सुझाव छ । त्यसका लागि मलाई नै भोट दिनुस म योग्य छु भन्न चाहन्छु ।

कृष्ण खाँण, नगर प्रमुख पदका उम्मेदवार – नेकपा एमाले

क) वालिङ नगरपालिकाको मेयरमा तपाईको दाबी किन हो ?
धन्यवाद, अमृतजी । नेपाल सरकारले वालिङ नगरपालिकालाई स्मार्ट सिटी बनाउने घोषणा गरेको भएतापनि सो अनुरुप काम हुन नसकेकाले उक्त काम सम्पन्न गर्नका लागि मेयरमा मेरो दाबी हो । त्यस्तै वालिङ नगरपालिका ग्रामीण नगरपालिका हो, ग्रामीण कृषकहरुको उत्थान नगरिकन विकास र संमृद्धि संभव छैन। विकास र संमृद्धिका लागि मेरो उम्मेदवारी हो । विकास निर्माण गाउँबाट सुरु गर्नुपर्नेछ । विगतमा पनि कृषिका विषयमा खासै काम हुन सकेन । बजारमा मात्र भिड बढेको छ, गाउँ शुन्य छ । गाउँमै बस्ने वातावरण निर्माणका लागि समेत मेयरमा मेरो दावी हो । अहिले मलाई आफू जन्मेको माटो र हुर्केको ठाउँका लागि केही गर्नुपर्छ भन्ने अदम्य आँट, हिम्मत, उत्साह र थप साहस प्राप्त भएको छ । त्यसैले मेयरमा मेरो दाबी हो ।

ख) वालिङमा विभिन्न पार्टीका उम्मेदवारहरुले मत मागिरहेका छन् । तपाईले आफूलाई नै भोट माग्ने आधार के ?
विगतमा म कुनै ओहोदामा नरहदापनि मेरो अनुभव र क्षमताले भ्याएसम्म वालिङको विकास निर्माणका लागि मेरो पनि योगदान रहेको छ । पूर्वाधारको हिसाबले वालिङमा भनेजति काम हुन सकेका छैनन् । पदण पदमा पुग्यो भने झन कति काम गर्ला भनेर नगरवासी मप्रति आश्वस्त हुनुहुन्छ । मलाई भोट माग्ने आधार भनेकै निरन्तरताको समाजसेवा हो । विज्ञताको कदर गर्ने, अनुभवीहरुलाई सम्मान गर्ने र युवाका आवाजलाई समेटेर समृद्ध वालिङ, सुखी वालिङवासीको आकांक्षा पूरा गर्ने प्रष्ट लक्ष्यसहित अघि बढेको तथा जनताको लोकप्रिय पार्टीका रुपमा नेकपा(एमाले)लाई जनताले चिनेको कुरा नै मेरो भोट माग्ने आधार हो ।

ग) अहिले तपाईले मत मागिरहदा पार्टीमा विगतदेखि वर्तमानसम्म निरन्तर क्रियाशिल भैरहेको आधार कसरी पेश गर्नुहुन्छ ? तपाईको उम्मेदवारीप्रति मतदाताको धारणा कस्तो पाउनुभयो ?

म एकप्रकारले वि.सं. २०३८ सालदेखि अनेरास्ववियू मार्फत राजनीतिमा सक्रिय छु । मैले हालसम्म कुनै लाभको पद पाएको छैन । तथापि निरन्तर समाजसेवामा छु । आन्दोलनको क्रममा प्रहरी हिरासतमा परि १ महिने जेल जीवन पनि बिताएको छु । म २०५४ सालमा पनि यस नगरपालिकाको मेयर पदमा नेकपा एमालेबाट उम्मेदवार थिए । त्यतिबेला उपविजेतामै चित्त बुझाउनुपर्यो । अहिले भने मेरो उम्मेदवारीप्रति मतदाताको धारणा सकारात्मक पाएको छु । तपाईहरु सबैको शीर कहिल्यै पनि झुक्न दिने छैन । तसर्थ यो प्रतिबद्धता व्यक्त गर्दै म आदरणीय सम्पूर्ण जनसमुदायलाई सोही अनुसार मतदान गर्न गराउन अनुरोध गर्दछु ।

कविता तिवारी गैह्रे, नगर उपप्रमुख पदका उम्मेदवार – नेपाली काँग्रेस

क) तपाइको उम्मेदवारी किन र जित्ने आधार के के छन् ?

मेरो उम्मेदवारी स्मार्ट सिटीको रुपमा अगाडी बढ्दै गरेको वालिङको हकमा सबै जनताहरुको उन्नति र संमृद्धीका लागि हो । यस्तै मैले गर्ने हरेक काम रचनात्मक ढङ्गबाट अंकमा गन्न सकिने गरी हुनेछ र जित्ने आधार भनेको नगरको सुदृढीकरणको लागि मेरो योजना प्रष्ट छ । नगरको आर्थिक क्रान्ति, कृषि क्रान्ति र महिला सशक्तिकरणका लागि मेरो उम्मेदवारी हो ।

ख) तपाईंलाई वालिङ नगरपालिकाको उपमेयरमा जिताउनै पर्ने प्रमुख कारण के हो ?
मलाई जिताउने पर्ने कारणहरु धेरै छन् । किनभने लामो समयसम्म विभिन्न संघसंस्थाको नेतृत्व लिएर सक्रियतापूर्वक पाएका जिम्मेवारीलाई सफलतापूर्वक मैले सम्पन्न गरेकी छु । त्यस्तै गरी विगतमा पनि विभिन्न एनजिओ र आईएनजिओ मार्फत महिला तथा कृषकहरुलाई आर्थिक रुपमा सम्पन्न बनाउन मेरो महत्वपूर्ण भूमिका रहेको छ । अब हामी रेमिटेन्सको मात्र भर पर्नुहुँदैन् । महिला सशक्तिकरण र आर्थिक संवृद्धि मेरो प्रमुख उद्देश्य हो । त्यसैले मेरो उम्मेदवारी नगर उपप्रमुखबाट सुरु गरेकी छु । किनभने स्मार्ट सिटीको अवधारणा बोकेको नगरपालिकाबाट सकारात्मक सन्देश जिल्लाका ११ वटै तहमा सहज ढंगले पुर्याउन सजिलो हुने हुनाले मैले यो ठाउँ रोजेकी हुँ । व्यक्तिवादी चरित्रको अन्त्य, अग्रजहरुले गरेका कामको सम्मान र उहाँहरुको सुझाव साथै समकालिन पुस्ताको साथ र सहयोग, यूवा पुस्ताहरुलाई अवसर प्रदान गर्दै नगरको कामप्रति आर्कषण बढाउन मेरो उम्मेदवारी हो । यहांँको विकास र रुपान्तरणका लागि मेरो उम्मेदवारी रहेको हुंँदा उपप्रमुखमा मलाई नै जिताउनुपर्ने हुन्छ ।

ग) यदि तपाइले नगरको नेतृत्व पाउनुभएमा के कस्ता योजनाहरु छन ?
मैले उपप्रमुखको रुपमा नगरको नेतृत्व पाएमा ५ वर्षको अवधिमा निम्न अनुसारका कार्ययोजनाहरु राखेकी छु ः डिजिटल युगमा प्रवेश गरिसकेको वालिङ नगरपालिकालाई वर्तमान अवस्थामा सेवाग्राहीहरुलाई तालीमको व्यवस्था गरी थप प्रबिधीमैत्री बनाउने योजना छ । कृषि र अन्य क्षेत्रको दिगो विकासका लागि साना कृषकहरुलाई आवश्यक परेको बखत उपकरण सहित निशुल्क प्राविधिकको व्यवस्था गर्नेछु । कुनैपनि महिला दिदिबहीनीहरुलाई जस्तोसुकै दुखपिडा या अन्याय पर्यो भने हाम्रो पछाडी उपमेयर कविता छ भनेर ढुक्क भएर काम गर्ने वातावरण निमार्ण गर्नेछु । खासगरि युवा उद्यमी बनाउने कार्यक्रम ल्याई, वैदेशिक रोजगारीलाई न्यूनिकरण गर्नेछु । वालिङ नगरपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने योजना छ । खेतीयोग्य बांँझो जमिनलाई उत्पादनमूलक क्षेत्रमा लगाई नमूना स्मार्ट भिलेज निर्माणको योजना मसंँग रहेको छ ।

खगिसरा थापा, नगर उपप्रमुख पदका उम्मेदवार – नेकपा एमाले

क) वालिङ नगरपालिकाको उपमेयर पदमा उम्मेदवारी दिनुभएको छ, किन र के का लागि तपाईको उम्मेदवारी ?
मेरो उम्मेदवारी लोकतन्त्रको रक्षा, संविधानको सर्वस्विकार्यताका साथ सफल र सहज कार्यान्वयन, प्राप्त उपलब्धिहरुको रक्षा, आर्थिक समृद्धि र विकासका लागि निकास दिन हो ।

ख) तपाईलाई नै किन दिने त जनताले मत ?
आजका दिनसम्म जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाउन, जनताको हक र अधिकार स्थापित गर्न, परिवर्तनका लागि नेपालमा भएका महत्वपूर्ण आन्दोलनहरुलाई नेतृत्व गर्ने पार्टी नेकपा एमाले हो र सोहि पार्टीमार्फत जनताको उम्मेदवार भएका कारण पनि जनताले मत दिनुहुनेछ । केहि काम यस अघि मैले उपविजेता हुंँदा पनि गरेकी छु, अझै धेरै काम गर्न बाँकी छ । विकास निर्माण, सामाजिक विकास र यहाँका जनताको आर्थिक समृद्धिका लागि यस अघि जितेर गएका उम्मेदवारले ठुला नाम कमाउन बाहेक केहि पनि गर्न सकेनन । यो मेरो मात्र आरोप हैन, यस क्षेत्रका सवै जनताले यहि कुरा बोलिरहनु भएको छ । सडक, स्वास्थ्य, सञ्चार, शिक्षा, रोजगारी र जनताको आर्थिक स्थिति माथि उकास्नेतर्फ विगतका जनप्रतिनिधीको नजर कहिल्यै परेन । ती सम्पुर्ण कामहरु पूरा गर्नका लागि पनि जनताले मलाई भोट दिनुहुनेछ ।

ग) तपाइँले जिते चाँही विकास निर्माण हुन्छ नै भन्ने के छ र त्यस्तो ?
तपाइँ लगायत सम्पुर्ण जनताले लेखेर राखे या यो रेकर्ड सुरक्षित राखेपनि हुन्छ, अबको ५ वर्षभित्र विगत बिसौँ वर्षदेखि हालसम्म भएका विकास निर्माण र अन्य प्रगति भन्दा दोब्बर काम गर्ने यहिँबाट प्रतिवद्धता जनाउँदछु ।