गणतन्त्र र तेस्रो जनआन्दोलनको अपरिहार्यता

जेठ १५, २०८०


१५ जेठ २०८०, सोमबार

२०८० जेष्ठ १५ गते नेपालले १५ औं गणतन्त्र दिवस मनाउँदैछ। डेढ दशकको गणतन्त्रको अभ्यासपश्चातसमेत नेपाली नागरिकले गणतन्त्रको वास्तविक अनुभुती गर्न पाएको देखिदैन। बरु इन्टरनेटको जालोजस्तै फैलिएको भष्ट्राचारको जालोले एकातिर देशलाई आर्थिक रुपमा जर्जर बनाएको देखिन्छ भने अर्कोतर्फ गणतन्त्रको अस्तित्वमाथी नै संकट पैदा भएको सहजै अनुमान गर्न सकिन्छ। समय समयमा गरिएका आन्दोलन, संघर्ष, बलीदानीले न्याय पाउन नसकेको यस परिप्रेक्ष्यमा पुनः नेपाली नागरिक अर्को निर्णायक संघर्ष, आन्दोलन र लडाँइमा होमिनुपर्ने परिस्थितिको सिर्जना भएको छ। अब आउने पुस्ताको भविष्य निर्माणका लागि समेत यो पुस्ताले आफ्नो समय, उर्जा र पसिना देश र समाजका लागि खर्चिनुपर्ने बाध्यता देखिएको छ।

एकतन्त्रिय राणाशासनको अन्त्य, पञ्चायती वंशजको शासनको अवसान भई देशमा गणतन्त्र अवतरण भएको १५ वर्ष बितीसक्दा समेत देश समृद्धिको दिशातर्फ उन्मुख हुन सकेको छैन। स्वशासन, स्वायत्तता, र समावेशीकरको उत्कृष्ट नमुना नेपालको संविधानले लिपीबद्ध गरेता पनि ति अवधारणाहरु व्यवहारमा रुपान्तरण हुन सकेको देखिदैन। यसका पछाडि विविध कारणहरु रहेका छन्। नेपालले आफ्नो भुगोल, जनसंख्या र क्षमताले धान्ने गरी संघीयताको मोडेल तयार गर्न नसक्नु, संघीयताको वास्तविक मर्म बुझेका र देश परिवर्तनको लागि भनी संघर्षरत व्यक्तिहरुले नेतृत्व नपाउनु, बरु, हिजो गणतन्त्र र संघीयताको नै विरोध गर्नेहरु, व्यापारीहरु, ठेकेदारहरु, निहित स्वार्थका लागि शक्तिकेन्द्रको चाकडी गर्नेहरुले महत्वपुर्ण पद र जिम्मेवारी प्राप्त गर्नु, स्थापितमात्र नभएर वैकल्पिक शक्तिका रुपमा उदाएका शक्तिहरुसमेत भ्रष्टाचारमा सरिक हुनु र सेटिङ् मै करोड करोडका लेनदेनमा संलग्न हुनुजस्ता कुकर्महरुले आज देश आर्थिक संकटको चपेटामा परेको देखिन्छ। त्यतीमात्र नभएर देशी, विदेशी गणतन्त्रविरोधी शक्तिहरु यसको कमजोरीबाट फाइदा उठाउँदै त्यसलाई सुधार गर्नुको साटो व्यवस्थाका विरुद्धमा हात धोएर लागेको देखिन्छ।

देश परिवर्तनको लागि हतियार उठाएकाहरु, हिजो कलम उठाएकाहरु,जनमत पाएकाहरु आज भ्रष्टाचारका काण्डमा मुछिएका छन्। देशको उच्च पदस्थ व्यक्तिहरु, तिनका श्रीमतीहरु राष्ट्रको पहिचान र अस्तित्वलाइ जोगाउनुभन्दा कमाउधन्दामा लागेका छन्। हालमा चर्चामा आएको भुटानी शरणार्थी काण्ड, पशुपति जलहरी काण्ड, वालुवाटार काण्ड, सेकुरिटी प्रिन्टिङ प्रेस काण्ड, येती, ओम्नी, यसका ज्वलन्त उदाहरणहरु हुन्। पशुअधिकारका विषयमा समेत आवाज उठिरहेको वर्तमान सन्दर्भमा मानव बेचविखनजस्तो घृणित कार्य, धार्मिक आस्थाको केन्द्र र विश्व पहिचानको रुपमा रहेका पशुपतीमा समेत गिद्धेदृष्टि लगाउने हाइ प्रोफाइलहरु भनिएका यी पाखण्डीहरुको जमातको कुकृत्य एक भष्ट्राचारमात्र नभएर अपराधको पराकाष्ठा हो। बिहान के खाने बेलुका के खाने भन्ने ठेगान नभएका नागरिकहरुसंँग देश बनाउने भनेर असुलिएको चर्कोदरको करले यिनका पुस्ता पुस्तालाई पुग्ने ठगी धन्दा चलाई संगठित अपराध गर्ने यी दुराशायी नरपिशाचहरुलाई शहिदका रगत, घाईतेहरुका आँशु र मजदुरका पसिनाले पक्कै पोल्ने छ। गरीबहरुका पाखुराबाट तप्प तप्प चुहिने पसिनाबाट बनाइएका यिनका आलिसन महल र यिनको जीवनशैली देख्दा नेपालमा गणतन्त्र होइन, धनतन्त्र आएको आभास हुन्छ।

वर्तमान सरकारले भ्रष्टाचारका फाइलहरु खोली अनुसन्धानलाई अगाडि बढाउन खोजेको देखिन्छ। यद्यपी भ्रष्टाचारमा ठुला भनिएका दलका नेता तथा तिनका नजिकका मानिसहरु संलग्न भएकाले अनुसन्धानको नाटक मञ्चन गरिएपनि कारबाही हुनेमा ठुला दलका नेताहरुको मौनता, बचाउका अभिव्यक्ती र व्यवहारले आशंका पैदा गरिदिएको छ। लहरो तान्दा पहरो थर्केजसरी हाईप्रोफाइलहरु एक से एक अनुसन्धानको दायरामा तानिएकोले यो विषय अत्यन्त चोटिलो बनेको देखिन्छ। यो त एउटा दलप्रतिका नागरिक असन्तुष्टी,नयाँ दलहरुप्रति नागरिकको बढ्दो क्रेज,नागरिकमा आएको चेतनालाई थम्थम्याउने बलिया अस्त्रमात्र हो भन्न सकिन्छ। लेनदेनको भिडियो बाहिर आउनु, लेनदेनका विषयले पक्राउ परेकाहरुबाट बयानका क्रममा निश्चित व्यक्तिहरुको नामै किटान गरि सार्वजनिक हुँदा समेत बयानका लागि मात्र पनि सन्दिग्ध व्यक्तिहरुलाई नबोलाइनुले यो कुरालाई पुष्टी गर्दछ। जसले जनआन्दोलनका उपलब्धीहरुलाई धरासायी बनाउदै लग्नेछ र गणतन्त्रको विपक्षमा लाग्नेहरु झनै सक्रिय हुनेछन्। यद्यपी गृहमन्त्री र प्रधानमन्त्रीका अभिव्यक्ति, केही दलका युवा भनिएका नेताहरुको प्रतिबद्धताले भने केही आशा गर्ने ठाउँ रहेको छ।

नेपालमा निष्पक्ष मानिएको न्यायलय, स्वतन्त्र ठानीएको पत्रकारिता र कर्मठ मानीएको कर्मचारीतन्त्रसमेत भ्रष्टीकृत छ। निष्पक्ष नभएको न्यायालय, स्वतन्त्र नभएर धुर्वीकृत भएको पत्रकारिता र अल्छी कर्मचारीतन्त्र त्यसमाथीको अनियमितताको कारणले देशमा सुशासन र समृद्धि अनिश्चित छ। जुन अपेक्षा र परिकल्पनासहित गणतन्त्र र संघीयताको आवाज प्रतिध्वनीत गरिएको थियो, सो पूर्ण हुने छाँट नदेखीएपछी नागरिकमा नैराष्यता छाएको छ, ठुला भनिएका दल र कार्यकर्तामा वितृष्णा पलाएको छ, बौद्धिक जगत बैराग्गीएको छ, नागरिक समाज छट्पटिएको छ, पेशाकर्मी मुर्मुरीएका छन्, विदेशी शक्ति जुर्मुराएको छ, प्रतिगमन सल्बलाएको छ, युवा विदेशिएको छ। यस परिस्थितिमा राष्ट्र असफलतातर्फ धकेलिएको छ। त्यसैले तेस्रो आन्दोलनको आवश्यकता खड्कीएको छ।
गणतन्त्र दिवसको अवसरमा विभिन्न कैदीहरुलाई आम माफी दिने व्यवस्था संविधानतः उल्लेख गरिएको छ। त्यसैले प्रत्येक गणतन्त्र दिवसका दिन कैदीहरुलाई आम माफी दिने गरिएको छ। तर आज रेशम चौधरीजस्तो अपराधीलाई आम माफी दिनु गणतन्त्तको धज्जी उडाउनु हो। यसले राजनीतिको अपराधीकरण र अपराधको राजनीतिकरणलाई प्रश्रय दिएको छ। यो निर्णय गर्ने मन्त्रिपरिषदका समग्र सदस्य जसले न त नोट अफ डिसेन्ट लेख्ने साहस गरे न त मन्त्री पदबाट राजीनामा गरी नैतिकताको प्रदर्शन गरे। तसर्थ यी नरभक्षीहरुलाई हार्दिक श्रद्धान्जली लेख्दा अत्युक्ती नहोला। निर्मला हत्याकाण्डका अभियुक्तहरुलाई उन्मुक्ती दिनु, अधिकारी दम्पतिले न्याय नपाउनु, रेशम चौधरीलाई आम माफी दिइनुले गणतन्त्रमाथी नै उपहास भएको छ। यि यावत परिदृश्यले अब नागरिकस्तरबाट निर्णायक तेस्रो आन्दोलनको घोषणा गर्नुको विकल्प छैन, अन्यथा शहिदका रगतले धिक्कार्ने छ, आँउदो पुस्ताले वर्तमान पुस्तालाई माफ गर्ने छैनन। होइन भने युवा भनिएका ठुला दलका नेताहरु र नयाँ दलका अनुहारहरु समेत तिनै नरपिशाचहरुसंँग सती गए हुन्छ।



नेपालमा सर्वप्रथम नेपाली कंग्रेसले राणाहरुका विरुद्धमा संघर्ष गरेको थियो जुन प्रजातन्त्र प्राप्तीका खातीर थियो। २०४६ सालको जनआन्दोलन प्रजातन्त्र पुर्नबहालीका खातीर राजा विरुद्ध लक्षित थियो।२०६२।२०६३ को जनआन्दोलन लोकतन्त्र र गणतन्त्र स्थापनाका खातीर प्रतिगमनका विरुद्ध लक्षित थियो। ति आन्दोलनहरु केही हिँसात्मक समेत थिए । तर अब हुने आन्दोलन भ्रष्टाचार , गरीबी र राजनीतिक नेतृत्वका विरुद्धमा शान्ति, सुशासन र समृद्धिका खातीर हुनेछ। यसको प्रवृतिसमेत भिन्न खालको हुनेछ। सोसल मेडियाको माध्यमबाट हुनेछ, भद्र अवज्ञाको माध्यमबाट हुनेछ, सरकार र सरकारी निकायको बहिष्करणबाट हुनेछ, मेहनत र परिश्रमबाट हुनेछ, व्यवस्था होइन अवस्था बदल्ने हुनेछ, राजनीतिक क्रान्ति होइन आर्थिक क्रान्ति हुनेछ, टायर बालेर होइन आवाज बढाएर हुनेछ, गोलाबारुद होइन, मेसिन औजार र प्रविधिको माध्यमबाट हुनेछ। तर तेस्रो आन्दोलन हुनेछ, समृद्धि आउनेछ, नेपाल परिवर्तन हुनेछ।