वालिङ नगरपालिकाद्वारा ९१ करोड ८२ लाखको बजेट सार्वजनिक

असार ०९, २०७९


मणी अर्याल
वालिङ, ९ असार

वालिङ नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० को बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको १२ औँ नगरसभामा नगर उपप्रमुख कविता तिवारी (गैह्रेले) आज बजेट सार्वजनिक गर्नुभएको हो । उपप्रमुख गैह्रेले संघ,प्रदेश र स्थानीय सरकारको गरी कुल ९१ करोड ८२ लाख २० हजार रुपैयाँको बजेट नगरसभामा प्रस्तुत गर्नुभएको हो । आज (बिहीबार नगरसभामा प्रस्तुत गरिएको बजेटको ४५.८ प्रतिशत चालुतर्फ तथा ५४.२ प्रतिशत पुँजीगत तर्फ रहेको छ ।

बजेटको आयस्रोतको रुपमा आन्तरिक आय,गत वर्षको संघीय सरकारको राजस्व बाँडफाँड,समपुरक अनुदान,विशेष अनुदान तथा सशर्त अनुदान गरी जम्मा ८७ करोड ३१ लाख १३ हजार र प्रदेश सरकारबाट राजस्व बाँडफाँड,समानीकरण अनुदान,समपुरक अनुदान तथा सशर्त अनुदान गरी जम्मा ४ करोड ५१ लाख ७ हजार रहेको छ ।

विनियोजित बजेट मध्ये सबैभन्दा धेरै सामाजिक विकासको लागि ४५ करोड १३ लाख ७८ हजार र सबैभन्दा कम सुशासन तथा अन्तरसम्बन्धी क्षेत्रको लागि १ करोड ३२ लाख ८४ हजार रुपैयाँ विनियोजन गरिएको छ । त्यसै गरी क्षेत्रगत रुपमा आर्थिक विकास,पुर्वाधार विकास,वडा स्तरीय विकास, वातावरण तथा विपद् व्यवस्थापन र कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रमा बजेट विनियोजन गरिएको छ । प्रस्तुत बजेटमा स्वास्थ्य क्षेत्रमा नागरिकलाईस्वास्थ्य सेवाको सुनिश्चित गर्न जेष्ठ तथा दीर्घ रोगीहरुको स्वास्थ्य परिक्षण,सुत्केरी एम्बुलेन्स,स्वास्थ्य बीमाको पहँुच विस्तार लगायतका क्षेत्रलाई प्राथमिकता दिइएको छ ।



शैक्षिक विकासको लागि प्रतिभाको खोजी कार्यक्रम ,शैक्षिक केन्द्रहरुलाई इन्टरनेटको माध्यमबाट गरिने सिकाई प्रक्रियाको लागि स्तरोन्नती,प्रोत्साहनमा आधारित लगानी तथा प्रत्येक विद्यालयमा इन्टरनेट र कम्प्युटरको प्रयोग जस्ता कार्यक्रमहरुलाई बजेट विनियोजन गरिएको छ । कृषि तथा पशु विकास कार्यक्रम अन्तर्गत कृषि एम्बुलेन्स तथा संकलन केन्द्रको स्थापना,नश्ल सुधार तथा कृषि बीमा,स्थानीय कृषि उत्वादनको ब्रान्डिङ,प्याकेजिङ तथा बजारीकरण कार्यक्रमलाई प्राथमिकताका साथ बजेट विनियोजन गरिएको छ ।

त्यसै गरी पर्यटन,भाषा,संस्कृति संरक्षणका कार्यक्रमहरु, युवा तथा खेलकुद क्षेत्रको विकास लगायतका क्षेत्रमा पनि बजेट विनियोजन गरिएको छ । आर्थिक वर्ष २०७९/०८० को बजेटले स्वरोजगारमा विकास,उत्पादनको वृद्धि,पुर्वाधार तथा पर्यटकीय क्षेत्रमा संरचना निर्माणका साथै नीजि क्षेत्रको लगानीलाई प्रोत्साहन गर्ने लगायतका उद्देश्यहरु राखेको छ ।