नहर अवरुद्ध हुँदा रोपाइँ प्रभावित
स्याङ्जाको चापाकोटमा पहिरोको कारण नहर अवरुद्ध हुँदा रोपाई प्रभावित भएको छ । चापाकोट टार सिँचाइ योजना अन्तर्गत ज्याग्दी दार्सिङ–चापाकोट नहरको डाङ्ग्रेपानीमा ढुङ्गा सहित ठुलो पहिरो खसेर नहर अवरुद्ध हुँदा रोपाई प्रभावित भएको हो ।
नहरबाट एक हजार भन्दा धेरै क्षेत्रमा सिञ्चाई हुँदै आएको छ । आकाशबाट आएको भलपानीको आधारमा केही खेतमा रोपाई गरिएको भए पनि नहर नियमित नहुँदा सिञ्चाई गर्न नसकिएको नहर व्यवस्थापन समितिको अध्यक्ष कृष्ण प्रसाद सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार भलपानीले रोपाई गरेका खेतहरु पनि सुक्ने अवस्थामा छ ।
पहिरो ठूलो भएको र तत्काल हटाउन सक्ने अवस्था नभएको भन्दै पालिकाले अनुरोध गरेपछि नेपाली सेनाको प्राविधिक टोलीले स्थलगत अवलोकन गरेको छ । सेनाको प्राविधिक टोलीका अनुसार नहर अवरुद्ध पार्ने ठूलो प्रकृतिको ढुङ्गा विस्फोट गराएर फुटाउनु पर्ने अवस्थामा रहेको छ । यस्को निश्कर्ष प्रतिवेदनमा समेटिने नेपाली सेनाले जनाएको अध्यक्ष सुवेदीले बताउनु भयो ।
नहर व्यवस्थापन समितिले दैनिक ३५ जना कामदार लगाएर नहरको पहिरो हटाउने काम भईरहेको जनाएको छ ।
नहरलाई सूचारु गराएर सिञ्चाईलाई नियमित गराउन आवश्यक बजेट सहित सहकार्यको काम भईरहेको चापाकोट नगरपालिकाका प्रमुख देब बहादुर खांण (ईश्वर)ले जानकारी दिनुभयो । पानीको अभावमा खेतीयोग्य जमिन बाँझै रहने अवस्था आएको उहाँको भनाई छ ।
नहरबाट चापाकोट नगरपालिकाको वडा नं.२,८ र ९ को समथर भूभागमा सिञ्चाई हुँदै आएको छ । यो क्षेत्र जिल्ला कै उर्बर भूमी अन्तर्गत पर्दछ ।
नहर अवरुद्ध भएको क्षेत्रमा स्याङ्जाका सहायक प्रमुख जिल्ला अधिकारी दिपक पौडेल, कृषि ज्ञान केन्द्र स्याङ्जाको प्रमुख बिनोद हमाल, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन एकाई स्याङ्जाका प्रमुख माधब लम्साल, सिचाई डिभिजन कार्यालय स्याङ्जाका प्रतिनिधि लगायतले अनुगमन गरेका छन् ।
यसैबीच चापाकोट नगरपालिका–४ र ५, हरिनास गाउँपालिका–५ बिरुवा गाउँपालिका–६ को संगम स्थल भएर बग्ने खानीखोलाले खेतियोग्य जमिन कटान गरेपछि खेतीयोग्य जमिन बगरमा परिणत भएको छ । जसको कारण स्थानीय कृषकहरु मारमा परेकाछन् ।