नगरस्तरीय वक्तृत्वकलामा साइनभिलेज प्रथम

फागुन २५, २०७८


तोलाकान्त बगाले                                        २४फागुन २०७८,वालिङ

११२ औं अन्तर्राष्ट्रिय महिला दिवसमा स्याङ्जाको वालिङ नगरपालिकाले आयोजना गरेको अन्तर विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगितामा साईनभिलेल बोर्डिङ स्कूल वालिङकी छात्रा आस्था पराजुली प्रथम हुनुभएको छ ।
त्यस्तै द्वितीय सगरमाथा बोर्डिङ स्कूलकी छात्रा स्नेहा पाण्डे र तृतीय राष्ट्रिय माध्यमिक विद्यालयकी छात्रा नम्रता कोईराला हुनुभएको थियो ।प्रतियोगितामा नगरभित्रका सामुदायिक र संस्थागत गरी सात विद्यालयको सहभागिता रहेको थियो।

नगरपालिकाले ‘सामाजिक न्याय र लैंगिक समानता : दीगो विकासको सुनिश्चितता’ नारा रहेको यसवर्षको महिला दिवसका सन्दर्भमा ‘नेतृत्वमा महिलाको पहुँच अभिवृद्धि’ विषयक वक्तृत्वकला प्रतियोगिता गरेको हो ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय भएका छात्राहरुलाई नगद तथा प्रमाणपत्र वितरण गर्दै नगर उपप्रमुख कल्पना तिवारीले महिलाहरुको नेतृत्व विकास, बौद्धिक क्षमता विकासकालागि प्रतियोगितात्मक कार्यक्रमहरुलाई निरन्तरता दिंदै जानुपर्ने बताउनुभएको थियो। समाजमा चेतनाको सन्देश फैलाउनकालागि विद्यार्थीहरुको भूमिका महत्वपूर्ण हुने भएकाले उनीहरुलाई सहभागी बनाएर अगाडि बढिएको पनि उहाँले बताउनुभयो ।

“महिला दिवस मनाउने नाममा पुरुषलाई गाली गरेर होईन उहाँहरुसँग सहकार्य गर्दै अगाडि बढ्नु आवश्यक छ” उहाँले भन्नुभयो, “महिलाहरुको हक अधिकार र अवसलाई सही सदुपयोग गर्न पनि महिला दिदीबहिनीहरुलाई आग्रह गर्दछु ।”

कार्यक्रममा शिक्षा शाखा प्रमुख बाबुराम सापकोटा, सामाजिक विकास शाखा प्रमुख पदमप्रसाद पाण्डे, वडा नं. ६ की वडा सदस्य चीनमाया नेपाली, पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष श्रीकृष्ण सिग्देल, शिक्षिका भोजकुमारी पाण्डेलगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।



वालिङ नगरपालिकाका कार्यपालिका सदस्य एवं सामाजिक विकास समिति संयोजक यूगमाया पंगेनीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन महिला तथा बालबालिका शाखा प्रमुख अनुषा काफ्लेले गर्नुभएको थियो।