नगर प्रमुख खाँणद्वारा पदभार ग्रहण : गह्रौँ अस्पताल वालिङमै सिएस सेवाको व्यवस्था गरिने

जेठ ०९, २०७९


कला राना, स्याङ्जा
९ जेठ २०७९

वालिङ नगरपालिकाका प्रमुख र उपप्रमुखले सोमबार पदभार ग्रहण गर्नुभएको छ । सोमबार बिहान ९:३० बजे वैदिक पूजाआजा सहित नगर प्रमुख कृष्ण खाण र उपप्रमुख कविता तिवारी गैह्रेले औपचारिक रुपमा पदभार ग्रहण गर्नुभएको हो ।

पदभारसँगै प्रमुख खाँणले गह्रौँ अस्पताल वालिङमा १ वर्षभित्र सिएस अर्थात् सिजारियान् सेक्सन सेवाको स्थापना गर्ने र ग्रामीण दुई सडकको तत्काल स्तरोन्नति गर्ने निर्णय गर्नुभएको छ । सिएस सेवा भनेको नर्मल डेलिभरी हुन नसकेका महिलाहरूका लागि अपरेसन गरी बच्चा जन्माउने सेवा हो ।

वालिङका नागरिक डेलिभरी सेवाका लागि जिल्ला अस्पताल स्याङ्जा, पाल्पा र पोखराका विभिन्न अस्पताल धाउनुपर्ने बाध्य छ । सिएस सेवासँगै पर्वतका केही पालिका र जिल्लाका गर्भवती महिलाहरू लाभान्वित हुनेछन् ।

यस्तै वालिङ १२ डाँडाखर्क र वालिङ १४ अर्खलबासको ग्रामीण सडक स्तरोन्नति गरिने निर्णय गरिएको छ । उक्त दुई ग्रामीण सडक खण्ड स्तरोन्नति गरी थप दुर्घटनाको जोखिमलाई हटाउन यस्तो निर्णय गरिएको नगर प्रमुख खाणले बताउनुभयो ।



डाँडाखर्कमा गत वैशाख ४ गते जिप दुर्घटना हुँदा ६ जनाले ज्यान गुमाएका थिए भने ४ जना घाइते भएका थिए ।

यसैगरी ३० गते निर्वाचनका दिन मतदाता बोकेको जिप अर्खलबासमा दुर्घटना हुँदा एक गर्भवतीसहित १४ जनाको मृत्यु भएको थियो । उक्त दुर्घटनामा ९ जना घाइते भएका थिए । घाइतेहरूको उपचार भइरहेको छ ।