पूर्व कानुनमन्त्री गुरुङद्वारा प्रशासन र स्थानीय सरकारको निर्देशन उल्लङ्घन
नेपाली काँग्रेसका सांसद एवं पूर्व कानुन मन्त्री धनराज गुरूङले जिल्ला प्रशासन कार्यालय स्याङ्जा र स्थानीय सरकारको निर्देशन उल्लङ्घन गर्नुभएको छ। बाढी पहिरोबाट प्रभावित परिवारलाई भेटघाट गर्न एवं विपद्को अवस्था निरीक्षण गर्न गृह जिल्ला स्याङ्जा आउनुभएका गुरूङले प्रशासन र स्थानीय सरकारको निर्देशन विपरीत आफुखुशी राहत वितरण गर्नुभएको हो।
बिहिबार र शुक्रबार स्थानीय नेता कार्यकर्ता, वडाका जनप्रतिनिधि र प्रहरी सुरक्षा सहित बाढी पहिरो प्रभावितका घर आँगनमा पुगेका गुरूङले स्थानीय सरकारहरूसँग समन्वय र सहकार्य नगरी आफुखुशी राहत बाँड्नुभएको हो। उहाँले भीरकोट नगरपालिका र बिरुवा गाउँपालिकाका बाढी पहिरो पिडित ४ परिवारहरूलाई नगद १० /१० हजार रूपैयाँका दरले आर्थिक सहयोग गर्नुभएको हो।
गत असार ३० गते जिल्ला प्रशासन कार्यालयले स्थानीय सरकारको समन्वय र सहकार्यमा राहत वितरण गर्न गराउन स्थानीय सरकारहरूलाई निर्देशन दिएको थियो। स्थानीय सरकारहरूले पनि सोही बमोजिम व्यक्तिगत वा संस्थागत जिन्सी वा नगद राहत वितरण गर्दा सम्बन्धित स्थानीय सरकारको सहभागिता र स्वीकृतिमा वितरण गर्न निर्देशन जारी गरेका थिए।
तर नेपाली काँग्रेसका उपसभापति समेत रहेका गुरूङले स्थानीय सरकारलाई जानकारी समेत नदिइ राहत वितरण गरेको पाइएको छ। प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले राहत वितरणलाई व्यवस्थित बनाउन र सरकारी रेकर्ड राख्ने प्रयोजनका निम्ति उक्त निर्देशन दिइएको बताउनुभयो। उहाँले राहत वितरण गर्ने विषयमा गुरूङले प्रशासनलाई जानकारी नदिएको बताउनुभयो। बिरुवा गाउँपालिका स्याङ्जाका अध्यक्ष सूर्य बहादुर कुँवरले साँसद गुरुङ बिरुवा आउने र राहत बाड्ने विषयमा आफूलाई कुनै जानकारी नै नभएको बताउनुभयो। भीरकोट नगरपालिकामा समेत सांसद गुरूङले स्वीकृति नलिइ राहत वितरण गरेको नगरपालिका स्रोतले जानकारी दियो। कानुन मन्त्री समेत भैसकेका र आफूलाई सदाचारी नेताका रूपमा प्रस्तुत गर्ने प्रयास गरिरहेका गुरूङले स्थानीय सरकार र जिल्ला प्रशासन कार्यालयलाई खुल्ला चुनौती दिनुभएको छ। स्थानीय सरकारकारलाई जानकारी, सूचना नदिइ, समन्वय र स्वीकृति बेगर राहत बाड्नुले गुरूङ जनताको पिरमर्का बुझ्न र सहानुभूति प्रकट गर्न भन्दा पनि राजनीतिक प्रचारबाजीका घटना घटेको करिब २ हप्तामा गृह जिल्ला आएको प्रष्ट देखिन्छ।