निरीह निर्वाचन अधिकृत, निर्वाचन आचारसंहिताको बारम्बार उल्लंघन

बैशाख १७, २०७९


स्मार्ट अखबार संवाददाता ,स्याङ्जा
१७ वैशाख २०७९

सिंगो देश स्थानीय तहको निर्वाचनमा केन्द्रीत भएको छ। ७७ वटै जिल्लाका ७५३ स्थानीय तहमा नयाँ जनप्रतिनिधि चुन्नको लागि राजनीतिक दलहरुले चुनाव प्रचारप्रसारलाई तिव्रता दिएका छन्।‌ निर्वाचन आयोगले राजनैतिक दलका चुनावी क्रियाकलापलाई लक्षित गरी निर्वाचन आचारसंहिता लागू गरेको छ।‌

निर्वाचन आचारसंहितामा निर्वाचनका दौरान पार्टी, उम्मेदवार र आम मतदाताले समेत के गर्न हुने? के गर्न नहुने? भन्ने सम्पूर्ण जानकारी दिइएको छ। तर, यही निर्वाचनको तयारीमा होमिएका भीरकोटका राजनीतिक दल , कार्यकर्ता तथा उम्मेदवारले निर्वाचन आचारसंहिता बारम्बार उलंघन गरिरहेका छ्न्। भीरकोटको मुख्य बजार क्षेत्र बयरघारीमा सिद्धार्थ राजमार्गको दायाँबायाँ रहेका बिजुलीका पोल र स्वागतद्वारमा समेत नेपाली काङ्ग्रेसका झण्डा र व्यानर राखिएको छ।यस विषयमा संचार माध्यममा समाचार प्रकाशित भैसकेपनि निर्वाचन अधिकृतको कार्यालयले नतिजा देखिने गरी काम गर्न सकेको छैन।सामुदायिक विद्यालयमा कार्यरत स्थायी शिक्षकहरू समेत आफू अनुकूलको राजनीतिक दलको चुनाव प्रचारप्रसार गरिरहेका छ्न्।मुख्य प्रतिस्पर्धी दलहरू नेकपा एमाले र नेपाली काङ्ग्रेसले ठूलो स्वरमा चुनाबी गीत बजाउँदै निर्वाचन आचारसंहिताको उल्लङ्घन गरेका छ्न्।सडक आवागमन नै अवरुद्ध हुनेगरी मोटरसाइकल र्‍याली समेत निकालिरहेका छ्न्।

मुलुककै पूरानो र सक्रिय पार्टी जसले लोकतन्त्रको लागि पटकपटक लड्यो। आवधिक निर्वाचनको पक्षमा वकालत गर्यो। देशका ठूला परिवर्तनको संवाहक बन्यो। उही पार्टीले निर्वाचन आचारसंहिता बारम्बार उलंघन गर्दा समेत यस नगरपालिकामा खटिएका निर्वाचन अधिकृत ऋषिराम आचार्य लाचार बनेर बस्नुभएको छ।

निर्वाचन आचारसंहिता उल्लङ्घनको विषयमा ध्यानाकर्षण गराउन निर्वाचन अधिकृतलाई भेट्न पत्रकारको टोली कार्यालयमै पुग्दा निर्वाचन अधिकृत आचार्य र  सहायक निर्वाचन अधिकृत याम प्रसाद रेग्मी दुबै कार्यकक्षमा भेटिनुभएन। यस विषयमा पत्रकारहरुले ध्यानाकर्षण गराउँदा समेत उहाँ मौन रहनु र काँग्रेसबाट आचारसंहिता उलंघनसम्बन्धी घटना घटिरहनुले स्वच्छ निर्वाचन हुन सक्नेमा आशंका पैदा भएको छ। उहाँ स्वच्छ निर्वाचन गराउनभन्दा पनि जागिर खानैका लागि भीरकोट नगरपालिका आएको महसुस भएको छ।

निष्पक्ष, पारदर्शी र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने लक्ष्य लिएको निर्वाचन आयोगकै कर्मचारीको यो हदसम्मको लाचारीपनले देशकै एक निष्पक्ष र संवैधानिक निकायमाथि राजनैतिक दल र कार्यकर्ता हाबी भएको त होइन? भन्ने प्रश्न समेत खडा भएको छ। उहाँले निर्वाचन आचारसंहितासम्बन्धी प्रशिक्षण कार्यक्रम पनि कर्मकाण्डी तरिकैले गराउनुभएको थियो।