कालीगण्डकीमा प्रदेश स्तरीय बुद्धिचाल सुरू

जेठ १२, २०८१     स्मार्ट संवाददाता


स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा प्रदेशस्तरीय बुद्धिचाल प्रतियोगिता सुरु भएको छ । खेलकुद मार्फत  पर्यटन प्रवर्धन गर्ने उद्देश्यले कालीगण्डकी ‘ए’ जलविद्युतको जलाशयमा संचालित स्टिमरमा  प्रतियोगिताको  उद्घाटन गरिएको छ।

प्रदेश खेलकुद परिषद , गण्डकी प्रदेश र कालीगण्डकी गाउँपालिकाको आयोजना तथा गण्डकी प्रदेश बुद्धिचाल सङ्घको व्यवस्थापनमा प्रतियोगिता संचालन गरिएको हो।

प्रतियोगिताको शुभारम्भ गर्दै  गण्डकी प्रदेश सभा सदस्य सुधिरकुमार पौडेलले कालीगण्डकी नदीको जलयात्रा आन्तरिक तथा बाह्य पर्यटकको लागि आकर्षणको  केन्द्र रहेको  बताए।  उनले स्टिमरमा गरिएको बुद्धिचाल प्रतियोगिताले कालीगण्डकीको पर्यटन प्रवर्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे।

अध्यक्ष कपमा यो खेलमा  आकर्षण बढेपछि पालिकाले बुद्धिचाल खेल प्रवर्धनमा चासो दिएको गाउँपालिकाका अध्यक्ष खिम बहादुर थापाले जानकारी दिए। धार्मीक महत्त्व बोकेको कालीगण्डकी र आँधीखोला नदीको संगम स्थल आँधीमुहानमा संचालीत देशकै पहिलो मोटरबोट अर्थात स्टिमरमा उद्धघाटन गराएर खेलकुद मार्फत पनि पर्यटन प्रर्वद्धन गर्न सकिन्छ भन्ने मूख्य उद्देश्य सहित यो प्रतियोगिता  संचालन गरिएको उनले  बताए। उद्घाटन  बाहेकका  खेल गाउँपालिकाको कार्यालयमा संचालन गरिने उनले बताए। पालिकाले खेलकुदलाई विशेष महत्त्व दिएको बताउँदै अध्यक्ष थापाले पालिका, प्रदेश र राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न र खेलकुदबाट समेत जिविकोपार्जन गर्न सकिन्छ भन्ने कुरा प्रमाणित हुने गरी  अगाडि बढीरहेको जानकारी दिए।

कार्यक्रममा प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले प्रदेशमा खेलकुदलाई प्राथमिकता दिएर अगाडि बढाउँदै लगिएको बताए । कार्यक्रममा गण्डकी प्रदेश बुद्धिचाल सङ्घका अध्यक्ष युवराज भण्डारीले प्रतियोगिता र्‍यापिड रेटिङ सिस्टममा खेलाईने जानकारी दिए ।



प्रतियोगितामा ८ जिल्लाका चार जनाका दरले र आयोजक कालीगण्डकीका ४ गरी ३६ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा हरेक जिल्लाबाट महिला पुरुष दुई/दुई जनाले सहभागिता जनाएका छन् । गण्डकी प्रदेशका बाग्लुङ, म्याग्दी र मनाङ बाहेक सबै जिल्लाको सहभागिता रहेको छ ।