हाम्रो खेल अभियानमा सरकारी सहयोगको अपिल 

असोज ०५, २०८०


ढाकाराम खनाल,
५ असोज २०८०

“स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेल” भन्ने मूल मन्त्रका साथमा ब्याडमिन्टन खेललाई प्राथमिकतामा राखेर अगाडि बढीरहेको बयरघारी ब्याडमिन्टन क्लबले भीरकोट नगरपालिका भित्र ब्याडमिन्टन कोर्ट विस्तारको कामलाई जारी राखेको छ। यसैक्रममा वडा नं.  ५ बाँझाबारीमा खेलाडी साथीहरुको संयुक्त लगानीमा निर्मित  ब्याडमिन्टन कोर्टमा  यही असोज ३ गते बत्ती हाल्ने काम भएको छ । सोही अवसरमा भीरकोट नगरपालिकाका निवर्तमान मेयर छायाराम खनालले खेलाडीहरूको अभियानमा ऐक्यबद्धता आफू पनि  नियमित रुपमा खेल अभ्यास गर्ने बताएका छन् ।हाम्रो खेल अभियानमा निवर्तमान नगर प्रमुखको साथ पाउँदा मेरो आँखाबाट हर्षका आँशु झरेको छ  ।

क्लब स्थापना नहुँदा बजारमा २/४ जना साथीहरु ब्याट लिएर हिँडेको देख्थेँ । जब हामीले बयरघारी ब्याडमिन्टन क्लव स्थापना गर्‍यो, ब्याडमिन्टन खेल अभियानकै रूपमा अगाडि बढेको छ । खेललाई व्यवस्थित रूपमा नियमसंगत तरिकाले खेल्न र खेलाउन हामी सामु कैयौं चुनौतीहरू थिए । यसका बाबजूद पनि हामी अगाडि बढी रह्यौ । हाम्रो अभियानको सफलता स्वरूप आज नगर भरी सयौं ब्याडमिन्टन खेलाडी तयार गर्न सफल भएका छौं ।

अस्थायी  भए पनि भीरकोट १ बयरघारीमा, भीरकोट ५ बाझाबारीमा, भीरकोट ५ कै पर्यटकीय स्थल स्वरेक मैदानमा, भीरकोट ८ वकादिमा, भीरकोट नगर अस्पताल  परिसर हेलुमा हाम्रै पहलमा अस्थाई ब्याडमिन्टन कोर्ट निर्माण गरेका छौं । भीरकोट ८ ढापुकमा स्थानीय ब्याडमिन्टन क्लव  र नगरको संयुक्त लगानीमा  इण्डोर कोर्टको शिलन्यास समेत भई निर्माण कार्य शुरू भएको छ । निर्माणाधिन कोर्ट  सम्पन्न गर्न आवश्यक पर्ने आर्थिक र प्राविधिक सहयोगका लागि स्थानीय वडा कार्यालय र नगरपालिकालाई समेत हाम्रो अनुरोध छ । बयरघारी बजारको सिसौघारीमा लामो समयको अनुरोध पछि पालिका र बयरघारी ब्याडमिन्टन क्लवको संयुक्त लगानीमा अस्थाई कोर्ट निर्माण सम्पन्न भएको थियो । यसै कोर्टमा ८६ टिमको सहभागिता गराई जिल्लास्तरीय ए र बी लेवलको टुर्नामेन्ट सम्पन्न गरेका थियौं। जसमा बयरघारी ब्याडमिन्टन क्लवको खेलाडी साथीहरु सर्वोत्कृष्ट हुन सफल भएका  थिए  । स्थानीय वडा कार्यालयबाट  बाँझाबारीमा  एउटा कोर्ट ढलाईको लागि रकम प्राप्त भएको थियो ।

वडा नं ८ मा निर्माणाधीन इण्डोर ब्याडमिन्टन कोर्ट

यो बाहेक  खेलाडी माथि नत स्थानीय तहको  नत प्रदेश र संघको  नजर पर्न सकेको छ । स्थानीय नेतृत्वले पनि भलिबल र फुटबललाई जति प्राथमिकता दिन सकेको छैन। बाध्यात्मक परिस्थितिमा मात्रै स्थानीय सरकारले हामीलाई सहयोग गरेको छ। त्यो कुरा विगत देखि वर्तमान सम्मका गतिविधिले देखाएको छ । हामी खेलाडी कहिले घामसंँग त कहिले पानीसंँग, कहिले हावा हुरिसंँग त कहिले अँध्यारोसंँग जुध्न बाध्य छौं त कहिले अभाव र गरिबीसंँग । तर पनि राज्यको नजर  हामी माथि कहिल्यै परेन । फेरि पनि  हामी अनुशासित हुन सिकेका छौं । हामी स्वास्थ्यकर भएर बाँच्ने बाटो रोजेका छौं ।

अनुशासन हाम्रो पहिलो सिकाई हो । हामीहरू कुलतमा लागेकाहरुलाई अनि बाटो बिराएकाहरुलाई पनि सही बाटोमा ल्याउनको लागि  प्रयत्नरत छौं । हामीले आफ्नो समयलाई व्यवस्थापन गर्न सिकेका छौं । आफ्नो घरको जोहो आफै गर्न प्रयत्नरत छौं। खेलाडीहरूको व्यक्तिगत लगानीमा  खेलमैदानमा  बत्ती बाल्न देखि कोर्टलाई जालीले घेर्ने काम  गरेका  छौं । खेलकुदको लागि भनेर राज्यले ठूलो धन राशि छुट्याएको सुनिन्छ तर हामी खेलाडीलाई चाहिने जुत्ता,मोजा, ड्रेस, ब्याट, कक, नेट, फिता जस्ता खेलकुदका समान खेलाडी हामी आँफै जोहो गर्न बाध्य भएका छौं र पनि हामी दुखी छैनौं। दुखी छौं त केवल स्थानीय, प्रदेश र संघीय सरकारको माया ममता अनि अभिभावकत्वको अभावमा ।

बयरघारी ब्याडमिन्टन क्लबका खेलाडीहरू

हामीसंँग अहिले १५ वर्ष देखि ६४ वर्ष सम्मका खेलाडी साथीहरु हुनुहुन्छ । सबैको नियमित खेल अभ्यास भइरहेको छ । तर पनि नियमित खेल अभ्यासको लागि र जिल्लास्तरीय टुर्नामेन्ट गर्नको लागि हावा हुरि घाम र पानीले गर्दा खेल संचालन गर्न कठिन हुने भएकोले प्रदेश सरकार वा केन्द्रीय सरकार संग समन्वय गरेर भए पनि भीरकोट नगरको मुटुमा रहेको बयरघारी बजारमा एउटा व्यवस्थित इन्डोर कोर्ट बनाउनको लागि पहल गरिदिन हाम्रा संघ, प्रदेश र स्थानीय जनप्रतिनिधि र स्थानीय सरकारसँग  हाम्रो अनुरोध  छ ।

(लेखक बयरघारी ब्याडमिन्टन क्लवका अध्यक्ष हुन्।)