स्याङ्जाबाट प्रमाणित गर्नुछ – नयाँ सोचको आयाम
२२ भाद्र २०७९
“सोच” धातु र “सोच्नु” क्रियापदमात्र होइन । सोच्नु स्पष्ट आकार, तौल, आयतन तथा परीक्षणयुक्त वस्तु हो । सोच चेतना तथा प्रसिद्धी हो भने दुर्दशा, स्खलित तथा गुलामी पनि हो । त्यसकारण देख्न र छुन सक्ने सामर्थ्य राख्ने सोच एक सामग्री जस्तो हो-हरेक आयामले ।
असलता र खराबता सोचकै प्रतिविम्ब हो । जीवन परिवर्तनको चापी सोचमात्र नै हो । सोच घटना होइन, प्रक्रिया र परिणाम हो । सोच-उर्जा आयामभित्र, हाम्रो भाग्य र भविष्यको निर्धारक र मापन हुन् । हाम्रो भाग्य र भविष्यको निरन्तरता हामी आँफै हो – निर्माणकर्ता । यही नै हाम्रो सभ्यताको सार हो । पाण्डव र कौरव तथा बुद्ध भाग्य र भविष्य निर्माणकर्ता स्वयं हुन् । जीवनको सिकाई, सोचको परिणाम हो । यस क्षणपनि हामी आफ्नो भाग्य र भविष्य निर्धारण र लेखिरहेका छौं ।
हाम्रो भाग्यको एकमात्र भावी हामी आफै नै हो । हामी जस्तो सोच्छौं, त्यस्तै हाम्रो कर्म र भाग्यको धार बन्छ । पानी टसमस, अनि बग्दै गएपछि खोल्सी भएर त्यसलाई नै धार बनाई, वरिपरिको पानी त्यही खोला भएर वगे झैं, हाम्रो सोचले कमीमा एक धार बनाउँछ र जीवन नै त्यही धारमा विसर्जन हुन्छ । “१८ वर्ष पुगेपछि विदेश जसरी पनि जाने भन्ने सोचले, माटोको विकल्प जसरी विदेश बन्छ – सोचको परिणाम” सोच सायद यतिसम्मको प्रमाणित वस्तु हो । के कति हुन्छ – विस्तारितताको मापन एकाईको फरक मात्र हो ।
हाम्रो सोच परिवर्तनको सोच हुनुपर्छ । हाम्रो सोच विर्सिहाल्ने र हाम्रो इमान्दारीताको अर्थ नबुझ्ने उहीलाई भोट दिने हुन भएन । जनताको परिवर्तनको सोचलाई कसैले पनि रोकेर रोकिदैन । यो नै एकमात्र सत्य हो । हामीले आफ्नो सोचलाई स्वतन्त्रता दिनु परेको छ । २०४६।०४७ देखि हाम्रो सोचलाई वेइमानहरुले कुरुप बनाइरहेका छन् । अझै कति वेइमानहरुको लागि कुरुप हुँदै जाने, अझै कति वर्ष कुरुप रहिरहने । वेइमानीहरुले हामीलाई २०३६ सालदेखि आजसम्म निर्यातमूखी अर्थतन्त्रबाट आयातमूखी अर्थतन्त्र गराए । ध्वंसक बनाए, हाम्रो सोचलाई । अझै कति वर्ष यी वेइमानीहरुलाई भाग्य र भविष्य दिने । यिनीहरुले तपाई हाम्रो सर्वश्व लुट्नमात्र बाँकी छ । यसकारण सोचौं, सोच बदलौं । भोलिको लागि सोचौं । हाम्रो सोचमात्रले यिनीहरुको हार हुनेछ । हारसंगै देशको मुहारमा पुष्पन हुनेछ ।
युवाको जीतसंगै तपाईं हाम्रो भाग्य र भविष्यको धार परिवर्तन हुनेछ । वेइमानलाई फेरी जिताएर हामी कुरुपै रहने कि युवालाई जिताएर हामी र हाम्रो विकास र समृद्धीको सपनालाई साकार पार्ने । निर्णय तपाईको सोचमा छ । वेइमानले वेइमान नै जन्माउने हो । युवा चुनिँदा परिवर्तनको सोच चुनिएको हुन्छ । गतिशिलताको सिद्धान्तसंग हातेमालो बन्दछ । यसकारण वेइमानहरुको आजसम्मको वेइमानी र भ्रष्टाचार नभुली, युवाको सोचलाई साथ दिनुहोस् । हामी दलको वेइमानीलाई इमान्दारीले चिन्ने, युवाको सोचलाई नचिने, यस्तो सोच हामीमा किन ? यसकारण, यस समय वेइमानीलाई निरन्तरता दिने की युवालाई नेतृत्व दिने, सोच्नै पर्छ, हाम्रो भाग्य र भविष्यको सवाल छ । एकचोटी सोचौं – “सोच” स्पष्ट आकार, आयतन र परीक्षणयुक्त वस्तु बन्छ । स्याङ्जाबाट प्रमाणित गर्नुछ – सोचको आयाम
(वातावरणविद् डा. ढकाल स्याङ्जाः क्षेत्र नं. २ को स्वतन्त्र उमेद्वार हुनुहुन्छ ।)