श्रीकान्त रेग्मी स्मृतिग्रन्थ लोकार्पण

भदौ ०७, २०७९


स्मार्ट अखबार संवाददाता
०७ भदौ २०७९

पूर्वसचिव श्रीकान्त रेग्मीको जीवनी झल्काउने स्मृतिग्रन्थ लोकार्पण गरिएको छ । रेग्मीको वार्षिक पुण्यस्मृति दिवसका उपलक्ष्यमा उक्त स्मृतिग्रन्थ तयार गरिएको हो ।
लेखक, साहित्यकार तथा स्वतन्त्र अनुसन्धाता कमल कोइरालाको सम्पादनमा प्रकाशित उक्त स्मृतिग्रन्थलाई पूर्वसभामुख तथा नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एक समारोहका बीच सार्वजनिक गरे । आफ्नो गृहमन्त्रीत्व कालमा भएको सहकार्यको स्मरण गर्दै नेता पौडेलले उच्च नैतिकता र स्वच्छ कार्यकुशलता भएका प्रशासकका रूपमा आफूले श्रीकान्त रेग्मीलाई नजिकबाट चिन्ने र बुझ्ने अवसर पाएको बताए । स्मृतिग्रन्थमा नेपालको निजामती प्रशासन, राजनीति, शिक्षा, साहित्य, लेखन र पत्रकारितासँग सम्बद्ध ६ दर्जनभन्दा बढी लेखकहरूका संस्मरणात्मक लेखरचनाहरू समेटिएका छन् । स्मृतिग्रन्थभित्र रेग्मीको विस्तृत जीवनी झल्काउने छुट्टै खण्डसमेत समावेश गरिएको छ ।

स्याङ्जाको गेझवासमा जन्मिएर प्रशासनतर्फको शाखा अधिकृतबाट वि.सं. २०३४ मा निजामती सेवामा प्रवेश गरेका स्वर्गीय रेग्मी उपसचिव, सहसचिव, विशेष सचिव हुँदै गृहसचिव भएर काम गरेका थिए । बारा, झापा र सर्लाही जिल्लाको प्रमुख जिल्ला अधिकारीसमेत भएर काम गरेका रेग्मीले देशमा सशस्त्र द्वन्द्व चरमोत्कर्षमा पुगेका वेला गृहप्रशासनको नेतृत्वसमेत सम्हालेका थिए । उनी सशस्त्र प्रहरी बलका संस्थापक तथा प्रमुख अवधारणाकारसमेत हुन् । रेग्मीले शान्ति समिति तथा मानपदवी र विभूषण पुनरावलोकन समितिमा रहेरसमेत कार्य गरेका थिए ।
मुख्यसचिवको प्रतिस्पर्धामा वरीयताक्रमको पहिलो नम्बरमा रहेका रेग्मीलाई तत्कालीन सरकारले २०५९ सालमा मुख्यसचिव नबनाई तेस्रो वरीयताका सचिवलाई मुख्यसचिवमा नियुक्त गरेको थियो । त्यसपछि आफ्नो मानमर्दन गरिएको भन्दै उनले आफ्नो पदबाट राजीनामा दिएका थिए । सिद्धहस्त लेखक तथा स्तम्भकारका रूपमा समेत परिचय बनाएका स्वर्गीय रेग्मीका विभिन्न राष्ट्रिय दैनिकमा समसामयिक राजनीति र सार्वजनिक प्रशासनसम्बन्धी सयौँ लेखहरूसमेत प्रकाशित छन् । मधुमेह र मिर्गौलासम्बन्धी असाध्य रोगबाट ग्रसित रेग्मीको वि.सं. २०७८ भाद्र १७ गते देहावसान भएको थियो । रेग्मीका श्रीमतीसहित दुई छोरा रहेका छन् ।
स्मृतिग्रन्थ लोकार्पण समारोहमा पूर्वसांसद तथा श्रीकान्त रेग्मीका सहोदर दाजु तथा राष्ट्रिय सभाका पूर्वसांसद खगेन्द्रराज रेग्मी, पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठ, पूर्वमन्त्री दीनबन्धु अर्याल, नेपाली काङ्ग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मा, पूर्वमुख्यसचिव डा. विमलप्रसाद कोइराला, पूर्वराजदूत डा. मदनकुमार भट्टराई, पूर्वसचिवद्वय खेमराज रेग्मी र विश्वप्रकाश पण्डित, वरिष्ठ पत्रकारद्वय ध्रुवहरि अधिकारी र पुरुषोत्तम दाहाल तथा स्मृतिग्रन्थका सम्पादक कमल कोइरालाले श्रीकान्त रेग्मीको बहुआयामिक व्यक्तित्वका विभिन्न पक्षका बारेमा चर्चा गरेका थिए ।
हक्की, स्वाभिमानी र क्षमतावान् प्रशासकको पहिचान बनाएका रेग्मीको व्यक्तित्व र कृतित्वलाई उजागर गर्दै भावी पिँढीका लागि पठनीय दस्तावेज निर्माण गर्ने उद्देश्यले स्मृतिग्रन्थ प्रकाशन गरिएको सम्पादक कमल कोइरालाले बताए । विगत दुई दशकदेखि अनुसन्धान र लेखनमा क्रियाशील कोइरालाको सम्पादनमा विभिन्न राष्ट्रिय स्तरका व्यक्तित्वहरूका एक दर्जनभन्दा बढी स्मृतिग्रन्थहरू प्रकाशित भइसकेका छन्  ।