वालिङको ओरालो यात्रा : सहकार्य र समन्वयमा  कमजोर

माघ १३, २०८०


नारायणप्रसाद कोइराला

१३ माघ २०८०, शनिबारMay be an image of text

स्याङ्जा जिल्लामा मात्रै नभएर देश विदेशमा समेत चर्चामा रहँदै आएको वालिङ नगरपालिका स्वमूल्याङ्कनमा समेत कमजोर देखिएको छ l हालै संघीय तथा सामान्य प्रशासन मन्त्रालयले  सार्वजनिक गरेको  २०७९ /८० को स्वमूल्याङ्कन नतिजामा वालिङलाई ३ वटा गाउँपालिकाले पछाडि पारिदिएका छन् l  स्थानीय सरकार संचालन ऐन -२०७४ बमोजिम गरिएको स्वमूल्याङ्कनमा ९४ अंक प्राप्त गर्दै अर्जुनचौपारी गाउँपालिका सबैभन्दा अग्रस्थानमा रहेको छ l दोस्रो स्थानमा रहेको आँधिखोला गाउँपालिकाले ९०.२५ स्थान प्राप्त गरेको छ भने तेस्रो स्थानमा रहेको फेदीखोला गाउँपालिकाले ८७.७५ अंक प्राप्त गरेको छ l चौंथो स्थानमा रहेको वालिङ नगरपालिकाले जम्मा ८६.७५ अंक प्राप्त गरेको छ l

स्थानीय तहको कार्यप्रक्रिया र उपलब्धिहरूको बारेमा लेखाजोखा गरी सबल र दुर्बल पक्षहरूको पहिचान गर्न, विकास र सुशासनको पक्षमा  रहेका कमीकमजोरीहरूको बारेमा जानकारी लिन, आवधिक समीक्षाको लागि आधार प्राप्त गर्न, स्थानीय सरकारहरूलाई सक्षम, प्रभावकारी र तुलनायोग्य  बनाउन स्थानीय सरकार संचालन ऐन -२०७४ मा स्थानीय तहले आफ्नो संस्थागत क्षमता स्वमूल्याङ्कन गर्नुपर्ने व्यवस्था छ l

शासकीय प्रवन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवम् आर्थिक व्यवस्थापन, सार्वजनिक सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन, सहकार्य र समन्वय गरी १० वटा स्वमूल्याङ्कनका विषयक्षेत्रहरू रहेका छन् l

समग्रमा चौंथो स्थानमा रहेको वालिङ नगरपालिका सहकार्य र समन्वयको सूचकमा  कमजोर देखिएको हो l सहकार्य र समन्वयमा सबैभन्दा कमजोर देखिएको पुतलीबजार नगरपालिकाले ६ पूर्णाङ्कमा  ०.५ अंक प्राप्त गरेको छ भने वालिङले जम्मा १ अंक प्राप्त गरेको छ l चापाकोटले पनि १ अंक प्राप्त गर्दै वालिङलाई साथ दिएको छ l सहकार्य र समन्वयको सूचकमा  आँधिखोला र अर्जुनचौपारी गाउँपालिकाले पूर्णाङ्कमा पूर्णाङ्कनै प्राप्त गर्दा गल्याङ नगरपालिका पनि अन्य पालिकाको तुलनामा कमजोर देखिएको छ l सहकार्य र समन्वयको सूचकमा  गल्याङ नगरपालिकाले जम्मा ३ अंक प्राप्त गरेको छ l

सहकार्य र समन्वयको सूचकमा दुइ वा दुइ भन्दा बढी स्थानीय सरकारको सरकारको विषयमा बन्ने समितिहरूको गठन र संचालन, अन्तर सरकारी समन्वय तथा सहजिकरण, अन्तर स्थानीय सरकार साझेदारी  र जिल्ला समन्वय समितिसँगको समन्वय लगायतका विषयहरू पर्दछन् l

सहकार्य र समन्वयको सूचकमा  वालिङ नगरपालिकाले २०७६/७७ को स्वमूल्याङ्कन ५ अंक प्राप्त गरेको थियो भने २०७७/७८ मा ६ अंक प्राप्त गरेको थियो l २०७८/७९ को नतिजा र २०७९ /८० को नतिजा बराबर अर्थात् १ नै रहेको छ l पछिल्लो नतिजा अनुसार  वालिङले शासकीय प्रवन्धमा (८.५/९), संगठन तथा प्रशासनमा (८/८), वार्षिक बजेट तथा योजना व्यवस्थापनमा (९ /११) , वित्तीय एवम् आर्थिक व्यवस्थापनमा (१०.५/११), सार्वजनिक सेवा प्रवाहमा (१६/१६), न्यायिक कार्यसम्पादनमा (७/७), भौतिक पूर्वाधारमा (११.२५/१३), सामाजिक समावेशीकरणमा (७ /१०), वातावरण संरक्षण तथा विपद् व्यवस्थापनमा (८.५/९), नतिजा ल्याएको छ l