विडम्बना

पुष ०१, २०८०


के. पी. पौडेल
१ पुस २०८०, आइतबार

यो बेला चामल किन्न दिन आग्रह गर्दैछौ
ऊ बेला धानबालीमा मल नभइ रोएका
किसानको आवाज सुनेनाै ।
यो बेला चिनीको मूल्य घटाउन आग्रह गर्दैछौ
ऊ बेला उखुको पैसा नपाएर छाती पिटी पिटी
रुनेको बिलौना सुनेनौ।

केराको थम्मन छ्याप छ्याप्ती छिनालेर बगाएको देखेनौ
अहिले तेब्बर मूल्य तिर्न खुसी छौ।
किसानको दूधले बाटो सेताम्य बनाएर
टन का टन पाउडर आयात गर्न व्यस्त छौ।

खनिजिय गुण बोकेर बगेका कञ्चन पानीको आवाजले
कुनै प्रभाव नपार्ने तिम्रो जीउ
ब्रान्डिङ् वाटरले सिञ्चित गर्दै छौ।
बारीको घिउकुमारी बगाउन बाध्य किसानलाई
समुन्द्रपार को एलोभेरा जुस पिउन सिफारिस गर्दै छौ आज।

कार्बन मोनोक्साईड को मुस्लो आयात गर्दै
विश्वमै प्रथम स्थान हासिल भएकोमा रमाउँदै
मुस्ताङ म्याक्स लाई बन्द गर्न सफल भयौ।
ठूला क्यामेराको उपस्थितिमा गाउँको पेय लाई नस्टाउँदै
लुकाएरै काला राता नसालु झोल आयात गर्न सफल भयौ।

जहाजमा खाँदी खाँदी युवा शक्ति समुन्द्र पार लखेटेर
प्लेनमा मातृभूमि बेचुवा आयात हुनेछन् अब
शैक्षिक बेरोजगारको चित्कारमा रमाउँदै छौ आज
भेडाहरु भित्रिएर तिम्रै छातीमा कुल्चँदा खुलेका आँखा,
पश्चातापका आँशु बहाउँदै हुनेछन् कुनै दिन।