तपाईंलाई कसैले मेसेन्जरमा पठाएको मेसेज देखिएन ? यस्तो छ कारण

असार ३०, २०८१     एजेन्सीको सहयोगमा


काठमाडौं ।

पछिल्ला केही दिनयता सामाजिक सञ्जाल फेसबुकको मेसेजिङ एपमा पठाएका मेसेज कुनै कुनै डिभाइसमा नदेखिने गरेको पाइएको छ । विशेषगरी दुई वा सोभन्दा बढी डिभाइसमा लगइन गरिएको अकाउन्टका सन्दर्भमा कसैले पठाएको मेसेज देखिरहेको छैन । उक्त मेसेजमा लेखिएको हुन्छ, “मेसेज सेन्ट बिफोर दिस डिभाइस वाज एडेड टु दिस कन्भरसेसन । दिस मेसेज क्यान नट बि डेलिभर्ड ।”

सामान्य अर्थमा बुझ्दा यसले के भन्न खोजेको हो भने तपाईंले उक्त कन्भरसेसनमा सो डिभाइस एड गर्नु अगाडि नै मेसेज पठाइएको थियो । त्यसैले अर्को डिभाइसमा आइसकेको सो मेसेज नयाँ डिभाइसमा डेलिभर हुन सकेन ।

किन भइरहेको छ यस्तो ?

पछिल्लो समय फेसबुकले इन्ड-टु-इन्ड कन्भरसेसन डिफल्ट रूपमा लागु गरेको छ । अर्थात् तपाईंले जसलाई मेसेज पठाउनु भएको छ, उसले बाहेक उक्त मेसेज बीचमा कसैले पनि हेर्न पाउँदैन । यसअघि बीचमा कम्पनी वा अर्को तेस्रो पक्षले मेसेज हेर्न सक्थे । जसले गर्दा तपाईंले केही असान्दर्भिक लिङ्क (जोखिमयुक्त लिङ्क) पठाउनु भयो वा त्यस्तै केही सामग्री पठाउनु भयो भने सिस्टमले पहिचान गरेर त्यसलाई ब्लक गरिदिन्थ्यो ।

यदि त्यस्ता लिङ्क वा पोस्ट पठाउनु पर्‍यो भने सिक्रेट कन्भरसेसन सुरु गर्नुपर्ने अवस्था थियो । प्रयोगकर्ताको गोपनीयताका लागि भन्दै कम्पनीले यो फिचर डिफल्ट रूपमा उपलब्ध गराउन थालेको थियो ।

त्यही कारणले गर्दा पहिले कुनै डिभाइसमा उक्त मेसेज हेरिसक्नु भएको छ भने नयाँ डिभाइसमा अकाउन्ट लगइन गरेर मेसेज हेर्न खोज्नुभयो भने उक्त मेसेज देखिंदैन । कतिपय मेसेजको सन्दर्भमा इन्क्रिप्टेड कि कोड राख्यो भने मेसेज देखिन्छ । कतिपयमा कोड राखिसकेपछि पनि मेसेजको ठाउँमा “मेसेज सेन्ट बिफोर दिस डिभाइस वाज एडेड टु दिस कन्भरसेसन । दिस मेसेज क्याननट बि डेलिभर्ड” लेखेको भनाइ देखिन्छ ।

यसमा देखिएका समस्या !

मेसेन्जरमा मेटाले डिफल्ट रूपमा इन्ड टु इन्ड इन्क्रिप्सन लागू गरिसकेपछि मेसेज ढिलो लोड हुने समस्या देखिएको प्रयोगकर्ताले गुनासो गरिरहेका छन् । फेसबुक र मेसेञ्जर लगइन गरिएका दुबै डिभाइस एक्टिभ हुँदा पनि एउटामा मेसेज नै नदेखिने अनि अर्कोमा “मेसेज सेन्ट बिफोर दिस डिभाइस वाज एडेड टु दिस कन्भरसेसन । दिस मेसेज क्याननट बि डेलिभर्ड” भन्ने सन्देश देखिरहेको छ । दुबै डिभाइसमा इन्ड-टु-इन्ड इन्क्रिप्टेड कि राखेर कन्भरसेसन सुरु गर्दा पनि किन यस्तो समस्या देखियो भन्ने प्रयोगकर्ताको गुनासो छ ।

त्यसबाहेक नयाँ डिभाइसमा इन्क्रिप्टेड कि कोड राखिसकेपछि पनि मेसेज खुल्न धेरै समय लाग्ने गरेको बताइएको छ । यो समस्या विशेषगरी डेस्कटप भर्सनमा बढी देखिएको छ ।

सामाजिक सञ्जाल रेडिटमार्फत केही प्रयोगकर्ताले फेसबुकले इन्ड-टु-इन्ड इन्क्रिप्सनको फिचर हटाउनु पर्ने आवाज उठाइरहेका छन् । केहीले भने मेसेन्जरमा भएको क्यास क्लियर गर्दा समस्या समाधान हुने बताएका छन् ।

नयाँ डिभाइसमा अकाउन्ट साइन इन गर्दा के हुन्छ ?

इन्क्रिप्टेड भएको कन्भरसेसन नयाँ डिभाइसमा देखिंदैन ।

तपाईंले नयाँ डिभाइसबाट कन्भरसेसन सुरु गर्नुभयो भने पुरानो इन्क्रिप्टेड कन्भरसेसनमा तपाईंले नयाँ डिभाइसबाट कुरा गरिरहनु भएको छ भन्ने नोटिस जान्छ ।

एक पटक डिभाइस एड भइसक्यो भने तपाईंले सबै एक्टिभ डिभाइसमा इन्डटु इन्ड कन्भरसेसनको नयाँ मेसेज देख्न सक्नुहुन्छ ।

(टेक पानाको सहयोगमा)