भीरकोटमा गौमुत्र प्रशोधन सुरू

कार्तिक ०३, २०८०


नारायणप्रसाद कोइराला

३ कार्तिक २०८०, शुक्रबार

स्याङ्जाको भीरकोट नगरपालिकामा गौमुत्र प्रशोधन सुरू भएको छ l नगरपालिकाको वडा नं ८ मा संचालित छोरेडाँडा गौशालाले गौमुत्र प्रशोधन सुरू गरेको हो l आधुनिक प्रशोधन मेसिन प्रयोग गरी गहुँत प्रशोधन शुरू गरिएको गौशाला व्यवस्थापन समितिका अध्यक्ष खुमकान्त खनालले जानकारी दिए l

स्थानीय जातका गाईहरूको गहुँत स्वास्थ्यवर्दक हुने र ताजा गहुँत सेवन गर्नाले शरीरलाई फाइदा हुने धार्मिक तथा वैज्ञानिक मान्यता छ l सूर्योदय अगावै गाईले दिने गहुँत धार्मिक दृष्टिकोणबाट सर्वोत्कृष्ट मानिन्छ l सनातन धर्मकर्ममा गहुँत अनिवार्य छ  तर बढ्दो आधुनिकता र शहरीकरणले गर्दा गाईपालन हराउँदै गएको छ l धार्मिक र स्वास्थ्यको दृष्टिकोणबाट पनि बहुउपयोगी भएको हुँदा गौमुत्र प्रशोधन गर्न थालिएको गौशालाका संरक्षक एवम् निवर्तमान नगर प्रमुख छायाराम खनालले बताए l

“गौमुत्रको उपयोगिताको बारेमा स्थानीय समुदायलाई जानकारी गराउने र प्रशोधित  गौमुत्र स्थानीयस्तरमै खपत गर्ने गौशालाको पहिलो योजना छ l करिब १ लाख ५० हजार पर्ने आधुनिक मेसिन प्रयोग गरी गौमुत्रको प्रशोधन सुरू गरिएको हो l उत्पादन बढी भएको खण्डमा आफ्नै ब्राण्ड सहित बजारमा बिक्रिवितरण गर्ने हामीले सोच बनाएका छौं l” गौशालाका संरक्षक खनालले भने “गौशालाको बहुआयामिक विकास गर्दै यसलाई आत्मनिर्भर बनाउनु हाम्रो उद्देश्य हो l त्यसैले हामीले भर्मी कम्पोस्ट मलको पनि उत्पादन गर्न सुरू गरेका छौं l गाइको गोबर प्रशोधन गरी सुगन्धित अगरबत्ती बनाउने तयारीमा छौं l”

अहिले गौशाला स्थानीय सरकारले दिने सिमित बजेट र शुभेच्छुकहरूको सहयोगले चलिरहेको छ l गौशालाको स्वामित्वमा २९ वटा स्थानीय जातका गाईहरू रहेका छन् l धार्मिक मन भएका मानिसहरूले श्राद्ध, जन्मदिन र अन्य पूजाआजामा समेत गौशालालाई आर्थिक सहयोग गर्ने गरेका छन् l गत वर्ष गौशालाले गाइको मल बिक्रिबाट ४० हजार आम्दानी गरेको थियो l गाईको मलमा पालिएको गड्यौलाले उत्पादन गर्ने भर्मी कम्पोस्ट मलमा खेतीबालीलाई चाहिने १६ प्रकारका जैविक  तत्वहरू पाइने र प्रती केजी ४०- ५० रूपैयाँ  मूल्यमा बिक्रि हुने भएकाले गौशालाले यसको पनि उत्पादन गर्न थालेको छ l गत वर्ष प्रति बोरा १ सयमा बिक्रि भएको मल अब  व्यवसायिक रूपमा बेच्ने तयारी भएको गौशाला व्यवस्थापनले जनाएको छ l  

गौशाला व्यवस्थापन समितिका अनुसार गौशालामा रहेको गहुँत प्रशोधन मेसिनबाट  दैनिक १० लिटरसम्म प्रशोधित गौमुत्र  उत्पादन गर्न सकिन्छ । प्रशोधित गहुँत प्रति लिटर ४ सय रूपैयाँ भन्दा बढीमा बिक्रि गर्न सकिने बताइएको छ l (गोअर्क) बिक्रीबाट भएको आम्दानी गाई व्यवस्थापनमा खर्च हुनेछ । गौशालामा रहेको गाईहरुबाट स्थानीयलाई समेत धेरै फाईदा भएको समितिका अध्यक्ष खुमकान्त खनालले जानकारी दिए । स्थानीयले मर्दापर्दा देखि पुजाआजामा समेत यहीका गाईको दुध, गहुँत लगायतका  सुविधा लिँदै आएका छन् । गौशालाले दान प्रयोजनका लागि प्रति गाई ५ सय रूपैयाँ लिने गरेको छ l