कुनै समयमा भीरकोट बडामौलाकालिका समस्त भीरकोटकै ऐतिहासिक तथा राजनीतिक र सामरिक दृष्टिले महत्त्वपूर्ण मन्दिर थियो ।भीरकोट बडामौलाकालिका मन्दिर सिद्धार्थ राजमार्गको बयरघारी बजारदेखि ९ किलोमिटर दूरीमा पूर्वतर्फको डाँडामा अवस्थित छ । सामुद्रिक सतहदेखि ११०० मिटरको उचाइमा रहेको योमन्दिरक्षेत्र प्राकृतिक हिसाबले पनि अत्यन्त रमणीय छ। यहाँबाट उत्तरतिरका अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरिलगायतका मनोरम हिमश्रृङ्खलाहरू देख्न सकिन्छ । साथै आँधीखोला उपत्यकासहित पर परसम्म पहाडी श्रृङ्खलाहरू पनि यस क्षेत्रबाट देख्न सकिन्छ ।
नेपालका शाहवंशीय राजाका पूर्खा सूर्यखानले यो मन्दिरको स्थापना गरेका हुन् । वि.सं. १४७५ सालतिर यो मन्दिरको स्थापना गरिएको हो । यस बडामौलाकालिका मन्दिरको पूर्वतर्फ तत्कालीन भीरकोटे राजाको राजदरबारको भग्नावशेष अद्यपि छँदै छ । मन्दिरको पश्चिमतर्फ बटुक भैरवको मन्दिर रहेको छ ।
यो मन्दिर प्यागोडा शैलीमा निर्माण गरिएको छ । पहिले ढुङ्गा, माटो र काठद्वारा निर्मित मन्दिरको पुनर्निर्माण गर्दा आधुनिक निर्माण सामग्रीको प्रयोग गरिएको छ । मन्दिर दक्षिणतर्फ फर्किएको छ । दक्षिणतिरकै दोस्रो खण्डमा मौलो गाडिएको तत्कालीन भीरकोटका अन्य मौजाहरूमध्ये यो मौजा सबैभन्दा मुख्य भएकाले यसलाई बढा पनि भनिन्छ । त्यतिबेलाका भीरकोट राज्यभित्र पर्ने विभिन्न मौजाहरू यहाँबाट शासित थिए।
यो मन्दिरभित्र विभिन्न अस्त्रशस्त्रहरू भण्डारण गरिन्थ्यो । अहिले पनि केही अस्त्रहरू देख्न सकिन्छ ; तीमध्ये त्यहाँ एउटा तरबार छ। त्यो तरवार निकै पहिलेदेखि रहँदै आएको विश्वास गरिन्छ ।
यस मन्दिरमा बडादसैंको नवमी तिथिमा निकै भव्यताका साथ पूजाआजा गरिन्छ। प्रायः शक्तिपीठहरूमा नवमीका दिन पूजा गरिदैँन । तर यसअन्तर्गतका समस्त मौजाहरूमा पूजा गरिनुको मुख्य कारण ऐतिहासिक सन्दर्भ जोडिन आउँछ ।
पहिले पहिले साना साना राज्यहरूबिच बारम्बार लडाई भइरहन्थ्यो । एउटा बलियो राज्यले अर्को कमजोर राज्यसँग साना साना विषयलाई निहुँ बनाएर झगडा गरिहन्थे । लडाई हुन्थ्यो । यसैक्रममा भीरकोटको पनि आसपासका राज्यसँग झगडा पर्यो र लडाई भइरह्यो । दसैँ सुरु भइसक्यो तर लडाइँ सकिएन । अन्ततः अष्टमीका दिन बल्ल लडाइँ सकियो । त्यही बेलादेखि नै राजाले नवमीका दिन पनि पूजाआजा गर्ने प्रचलन ल्याएका हुन् भन्ने ऐतिहासिक किवदन्ती रहेको छ । यस मन्दिरमा घटस्थापनाको दिनदेखि दशमीका दिनसम्म भव्य रूपमा पूजाआजा गरिन्छ ।
यस मन्दिरमा तीन प्रकारका पुजारीहरू रहेका छन् । यहाँ बाहुनले सङ्कल्प भन्दछन् । अधिकारी क्षत्रीले पूजाआजाका सामानहरू समाउने गर्दछन् । पूजाआजामा सघाउने र पूजा गर्ने काम त्यहाँका सारु मगरहरूले गर्दछन् ।
मन्दिर तीनतले छ । यसको सबैभन्दा माथिल्लो तलाको उत्तरतर्फको कोठामा घटस्थापनाको दिन एउटा घडालाई विभिन्न रङहरूले सिंगारिन्छ । उक्त घडाको मुखमा तामाको पालामा बत्ती बालेर राखिन्छ। यो बत्ती दशमीका दिनसम्म अर्थात् फूलपाती विर्सजन नहुँदासम्म दिनरात बालेर राख्ने चलन छ । यो बत्तीको रेखदेख मगर पुजारीहरूले गर्दछन् ।
बडादसैंका अतिरिक्त यो मन्दिरमा चैतेदसैंको नवमी तिथिमा पनि विशेष पूजाआजा गरिन्छ । यहाँ औंसी, एकादशी र चौथी तिथिबाहेक अन्य दिनहरूमा नित्य पूजाआजा गरिन्छ ।
भीरकोट बडामौलाकालिका मन्दिरमा गरिने यस प्रकारका सम्पूर्ण पूजाविधिहरू यसअन्तर्गत मौजामा रहेका मौलाकालिकाका मन्दिरहरूमा पनि गरिन्छ । भीरकोटे राजाका पालादेखि गरिदै आएको पूजा अद्यपि जस्ताको तस्तै तरिकाबाट सञ्चालन हुँदै आएको छ ।
मन्दिर सञ्चालनका लागि तत्कालीन राजाहरूले गुठीको व्यवस्था गरेका थिए, जसअन्तर्गत ठाउँ ठाउँमा मुरीका मुरी आउने धानखेत हुन्थ्यो। हाल ती खेतहरू व्यक्तिले कब्जा गरिसकेका छन् । राज्यले त्यस्ता परम्परित गुठीहरूको सोधखोज गरी उचित व्यवस्थापन गर्नुपर्छ ।
(साभार : स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तक लेखनमा अग्रस्थानमा रहेको साभ नेपाल , पोखरा को सहजीकरणमा भीरकोट नगरपालिकाले प्रकाशन गरेको स्थानीय पाठ्यपुस्तक “हाम्रो भीरकोट” कक्षा ७)