सन्त निरंकारी मण्डल नेपालको ३४ औं वार्षिक साधारण सभा सम्पन्न

असोज १९, २०८०


१९ असोज २०८०, शुक्रबार

सन्त निरंकारी मण्डल नेपालको ३४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । गत आइतबार नेपालगन्जको कुन्नुकाशीराम धर्मशालामा आयोजित साधारण सभालाई सम्बोन्धन गर्दै सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष तथा साधारण सभाका अध्यक्ष नर बहादुर रावलले सन्त निरंकारी मिशन कुनै धर्म वा सम्प्रदाय नभई एक विशुद्ध आध्यात्मिक विचारधारा भएको बताए ।  रावतका अनुसार निरंकारी मिशनमा हिन्दु, मुस्लिम, सिख, ईसाई, बौद्ध लगायत अनकौं धर्मलाई मान्नेहरु यसमा समावेश रहेका छन् । त्यसको साथै अनेकौ जातजाति, रहन–सहन, भेषभूशा, संस्कृति भएका व्यक्तिहरु यसमा समावेश रहेको सम्पूर्ण मानवको साझा फूलवारी भएको रावलले जानकारी दिए ।
अध्यक्ष रावलले सन्त निरंकारी मिशनले सम्पूर्ण मानव प्राणी एक निराकार परमात्माका सन्तान मानेको बताउँदै  सम्पूर्ण विश्वमा एक मात्र निराकार परमात्मा रहेको कुरामा जोड दिएका थिए । “यसले एकबाट अनेक भएर यस श्रृष्टिको संचालन गरिरहेको छ । यस एक परमात्मा ईश्वरलाई नजानेसम्म मानव जीवन सार्थक हुन सक्दैन । निराकार परमात्मालाई जान्नको लागि आध्यात्मिक शिक्षाको आवश्यकता पर्दछ । आध्यात्मिक शिक्षा नै भौतिक शिक्षाको पूरक हो । जबसम्म हामी आध्यात्मिक शिक्षालाई ग्रहण गर्दैनौ तबसम्म हामी जतिसुकै भौतिक शिक्षा हासिल किन नगरौं त्यो पूरा हुन सक्दैन, जीवन अपूरो नै रहन्छ । आत्माले जबसम्म परमात्मालाई जान्दैन तबसम्म हामीले आफूलाई शरीरको रुपमा मानेका हुन्छौ, मानव भएर हाम्रो कर्तव्य के हो, हाम्रो मूल स्वरुप कुन हो, वास्तविक ठेगाना कहाँ हो भन्ने कुरा हामीलाई थाह हुँदैन । हामी सबै ईश्वरका अंश हौं, यसको बोध समयको सत्गुरुबाट मात्र सम्भव छ र सत्गुरुले साक्षात्कार निराकारको दर्शन गराउन सक्नुहुन्छl” अध्यक्ष रावलले भने ।
”आज संसारमा सबैले आ–आफ्नो किसिमले भक्ति गरिरहेका छन् । हाम्रा पूर्वजहरुले पनि भक्ति गरेर जीवन बिताए । तर हामी भक्ति कसको गरिरहेका छौ त्यो कुरा हामीलाई थाह थिएन । आज गुरुले हामीलाई बोध गराउनुभयो  कि हामी कसको भक्ति गरिरहेका छौ भनेर । भनिएको पनि छ जसको भक्ति जसको पूजा उसको ज्ञान जरुरी छ, भनिन्छ  ‘हरदेव’ पहिले ईश्वरको पहिचान जरुरी छ । यसरी जबसम्म हामी ईश्वरलाई जान्दैनौ तबसम्म हामीले जतिसुकै भक्ति गरेपनि त्यो सार्थक हुन सक्दैन । यसैले आज निरंकारी मिशनमा सत्गुरुले मानवलाई आत्म बोध गराई राख्नु भएको छ । आत्मज्ञान हुनको लागि ब्रम्हज्ञानको आवश्यकता पर्दछ, यस ब्रम्हज्ञान बिना आत्मज्ञान सम्भव छैन । त्यस्तै जबसम्म हामीलाई ब्रम्हज्ञान प्राप्त हुँदैन तबसम्म हामीमा रहेका भ्रम–भ्रान्तिहरु पनि समाप्त हुँदैनन् । निरंकारी मिशनले कसैको धर्म होईन, भावनालाई परिवर्तन गराउने सन्देश दिन्छ । यसले कसैको धर्म–सस्कृति, रितिरिवाज, परम्परालाई मेटाउँदैन, न त कुनै धर्मको स्थापना गर्न खोजिरहेको छ । हामी जो ठाउँमा छौ, त्यही लोक परम्परा, संस्कृति रितिरिवाज, भेषभूषामा रहेर यस निराकार परमात्माको गुणगान गाइरहेका छौ । त्यस्तै जबसम्म हामी मानवको मानव प्यारो बन्न सक्दैनौ तबसम्म हाम्रो एकापसमा प्रेम हुन सक्दैन, एकत्व हुन सक्दैन, विश्वभाइचाराको भावना जागृत हुन सक्दैन । सारा संसारलाई चलाउने परमात्माका हामी सबै सन्तान हौ । जबसम्म हामीमा कोही आफ्नो–विरानो छैन, सबै हाम्रै परिवारका सदस्य हुन भन्ने भावनाको जागृति हामीमा हुँदैन तबसम्म संसारमा विश्वभाइचार स्थापना हुन नसक्ने धारणा उनले  राखेका थिए  ।
अध्यक्ष रावलले कार्यक्रम  सफल पार्न सहयोग गरेका नेपालगन्जका नगर प्रमुख, वडा अध्यक्ष, धार्मिक संगठनका पदाधिकारी, सन्त निरंकारी मण्डलका केन्द्रीय पदाधिकारी सल्लाहकार, प्रमुख, विभिन्न जिल्लाबाट आएका ज्ञान प्रचारक, क्षेत्रीय सेवादल संचालक, संचालक, सह–संचालिका, सत्संग इन्चार्ज, मिडिया सहयोगी एवं पत्रकारहरुलाई विशेष धन्यवाद ज्ञापन गरेका थिए  । कार्यक्रममा सन्त निरंकारी मण्डल नेपालका केन्द्रीय सचिव अनिल महर्जनले आ.व. २०७९/८० को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए  भने मण्डलका केन्द्रीय कोषाध्यक्ष कृष्ण कन्हैया पाठकले आ.व. २०७९/८० को विनियोजित व्यय र वास्तविक व्यय तथा चालु आ.व. २०८०/८१ को लागि अनुमानित व्यय विवरण प्रस्तुत गरेका थिए । साधारण सभाको संचालन मण्डलका केन्द्रीय सह–सचिव नर बहादुर बि.क. ले गरेका थिए  । साधारण सभाको एक दिन पहिले वृहत सत्संग तथा विभिन्न विषयमा सहभागीहरुलाई प्रशिक्षण पनि दिइएको थियो ।