प्वाँखहरु
कार्तिक १४, २०७८
विमानबाट खसेका
खुसीका पुष्पगुच्छाझैं नभएर
हाँगाबाट चुँडिएपछि
वियोगमा रन्फनिरहेको पातझैं
कसका हुन सक्लान् यी प्वाँखहरू
कहाँबाट आए होलान् उड्दै उड्दै ?
यसरी बत्तिँदै त कि
छातीमा गोली लागेको घाइते सिपाही हिँड्छ,
यसरी मुर्मुरिँदै त कि
रिसको झोंकमा साहुलाई
हिर्काएको कामदार हिँड्न सक्छ।
कसका होलान् ?
कुनै भीडमा समाइरहेको औंला छुटेपछि
रन्थनिरहेको बालकझैं रन्थनाउँदै रन्थनाउँदै
यो युद्धभूमिमा आइपुगेका यी प्वाँखहरू।
कतै समानताको लडाइँमा पिसिएको
जाँतोको मकै पो हो कि ?
यो हो अचानो र खुकुरीको लडाइँमा
उछिट्टिएको सानो चोक्टा।
हुनसक्छ यो
हामी युद्ध गर्दैनौँ भनेर
कुनै गुँडबाट पठाइएको
आत्मसमर्पणको खबर हुन सक्छ
हुन सक्छ भरे साँझ बचेराहरूलाई
लुपुक्क सुताउने प्वाँख हुन सक्छ
जो यतिबेला रगतका छिटा बोकेर
उड्दै उड्दै, बत्तिँदै बत्तिँदै
यो युद्धभूमिमा मेरै काँधमा खसिगयो।
यतिबेला युद्धको संग्राममा
एकाएक प्वाँखका अक्षरहरू
मेरा क्रुर आँंलासँग वार्तालाप गर्दैछन्
‘ओ ! बाँच्न नजान्ने मान्छे !
यो धर्ती तिमीहरूको मात्र थिएन।