अर्जुनचौपारीमा पूर्वाधार विकासलाई प्राथमिकता
स्मार्ट अखबार संवाददाता,स्याङ्जा ११ असार २०७९
अर्जुनचौपारी गाउँपालिकाको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक भएको छ। पूर्वाधारको अभावमा जनताको दैनिक जीवनयापन कष्टकर हुने, आकस्मिक कार्य संचालनमा कठिनाइ हुने, सीप, क्षमता र मेहनतको प्रतिफल प्राप्त गर्न नसकिने निष्कर्षमा पुग्दै नेपाली काँग्रेसबाट निर्वाचित प्रकाश तिवारी नेतृत्वको सरकारले ५ बर्षे कार्यकालमा स्थानीय पूर्वाधार निर्माणलाई विशेष महत्व दिनेभएको छ। गाउँपालिका भित्र अहिलेसम्म १ मिटर सडक पनि कालो पत्रे भएको छैन। २०२८/२९ मा ट्र्याक खोलिएको पालिकाले गौरवको आयोजना हेलु अर्जुनचौपारी सडकको कालोपत्रेको काम अझै अलपत्र अवस्थामै छ।सरोकारवाला निकायसँग साझेदारी र सहकार्य गर्दै अलपत्र आयोजना जतिसक्यो चाँडो सम्पन्न गर्ने पालिकाको लक्ष्य रहेको छ। यसै गरि अर्जुनचौपारी सदरमुकाम र स्याङ्जा सदरमुकाम जोडने (कृष्णचन्द्र मार्ग) विशेष प्राथमिकतामा राखिएको छ। नुवारभञ्ज्याङ्लाई बक्स कटिङ गरी दुई लेनको बाटोमा विस्तार गरिने भएको छ।
गाउँपालिकाको सदरमुकामदेखि सबै वडालाई छुने गरी नुवारभञ्ज्याङ्- दरौं- आरुचौर- एकानन्दगुफा-आग्रिखर्क-टाउँघडेरी-लामडाँडा-माझपाटा-नव्वे जोड्ने अर्जुनचौपारी चक्रपथलाई सम्भाव्यता अध्ययन गरी अगाडि बढाइने भएको छ।
गाउँपालिका केन्द्रदेखि वडा कार्यालयहरुसम्म पुग्ने सडकहरु ५ बर्ष भित्र कालोपत्रे गर्ने र वडा भित्रका अन्य शाखा सडकहरुलाई स्तरोन्नति गरी बाह्रै महिना यातायात सुचारु गराइने भएको छ। अघिल्लो सरकारले सुरू गरेका प्रशासकीय भवन, औद्योगिकग्राम, पालिकास्तरीय खेलमैदान आदि जस्ता निर्माणाधीन आयोजनालाई निरन्तरता दिइने भएको छ।
अर्जुनचौपारी गाउँपालिका भित्रका अति विपन्न परिवारका लागि निःशुल्क स्वास्थ्य बिमा गरिने भएको छ। समावेशीकरणलाई समेत प्राथमिकतामा राखेको पालिकाले महिलाहरुको नेतृत्व र निर्णायक भूमिका स्थापित गर्न सामुदायिक विकासका कार्यहरुमा समान सहभागिताको लागि उपयुक्त वातावरण प्रदान गर्न सबै जातजातिको प्रतिनिधित्व हुने गरी सबै टोलमाआमा समूहको गठन र परिचालन गर्ने नीति लिएको छ। दलित समुदायको सवलीकरणको लागि दलित उत्थान केन्द्र स्थापना गरी सशक्तीकरणका कार्यक्रमहरु अगाडि बढाईने भएको छ।
रोजगारीलाई प्राथमिकतामा राख्दै गाउँपालिकाबासीलाई रोजगारमा सहजीकरण गर्न र रोजगारमूलक सीपहरु प्रवर्द्धनको लागि रोजगार समन्वय ईकाइ स्थापना , अति विपन्न परिवारको आर्थिक सुधारको लागि बीउ पूँजीको रुपमा प्रत्येक व्यक्तिहरुलाई रु २,३००/- का दरले प्रदान गरिने र यसरी प्रदान गरिएको रकम लगानी र व्यवस्थापनको लागि लगानी परामर्श केन्द्र स्थापना गरिने भएको छ।श्रम बजारमा प्रवेश गर्ने युवा, वैदेशिक रोजगारीबाट फर्किएका तथा स्वदेशमा रोजगार गुमाएका र स्थानीय तहको रोजगार समन्वय ईकाइमा सूचीकृत भएका बेरोजगारहरुलाई क्षमता अभिबृद्धि गर्न हस्तकाला, प्लम्बिङ, बिजुली मर्मत ,सिकर्मी, डकर्मी, ड्राइभिङ जस्ता सीप विकास तालिम प्रदान गरिने विषयलाई जोड दिइएको छ। विद्यालय शिक्षाको गुणस्तर कायम गर्न जीवनोपयोगी प्रविधिमैत्री बनाउने र आवश्यकता अनुसार भौतिक पूर्वाधार विकास गरिने नीति लिइएको छ।स्थानीय पाठ्यक्रम कार्यान्वयन,विद्यार्थीको खस्किदो शैक्षिक अवस्थाप्रति अविभावक, शिक्षक र स्वंय विद्यार्थी सबैलाई दायित्ववोध गराई शिक्षाको गुणस्तर वृद्धि गर्नका लागि अभिभावक र शिक्षक समन्वय यूनिट गठन माध्यामिक तहमा वित्तीय साक्षरता शिक्षा र माध्यमिक तह र माथिल्लो तहमा Career Counseling कक्षा संचालन जस्ता विषयवस्तुहरू प्राथमिकतामा परेका छ्न्।गाउँपालिकामा १५ वेडको आधारभूत अस्पताल निर्माण गर्नको लागि आवश्यक प्रकृया अगाडि बढाउनुका साथै भीरकोट नगर अस्पतालसँग समन्वय एवं सहकार्य गरी प्रभावकारी स्वास्थ्य सेवा प्रदान गरिने भएको छ।
अशक्तलाई घरमा-अन्यलाई टोलमा स्वास्थ्य सेवा साथै आवश्यक औषधीहरु वितरण गरी सामुदायिक स्वास्थ्य सेवा घरघरमा पुर्याउने गर्भवती महिला, शिशु, बालबालिका, अस्वस्थ व्यक्ति, आदिको हेरचाह र उपचारमा विशेष कार्यक्रम सञ्चालन गर्ने लक्ष्य राखिएको छ।कृषिको क्षेत्रको विकासका लागि व्यवसायिक तरकारी तथा फलफुल खेती, पसुपालन,हाइटेक नर्सरीको स्थापना, कृषि उत्पादनको बजारीकरणलाई प्राथमिकतामा राखिएको छ। दरौंखोला, केवरेखोला र दिर्जेखोलामा माछा पकेट क्षेत्रको विकास गर्ने लक्ष्य लिइएको छ। निर्वाचित सबै प्रतिनिधिहरुले सेवा सुविधा बापत पाउने रकमको न्यूनतम १० प्रतिशत रकम सामाजिक उत्तरदायित्व कोषमा जम्मा गरी उक्त रकमलाई लोककल्याणकारी कार्यहरुमा लगाईने यो कोषमा अन्य व्यक्ति तथा संघ संस्थाहरुलाई पनि योगदानका लागि अपिल गरिने भएको छ।
पर्यटन विकासको लागि डहरे, थाप्ले, एकानन्द गुफा, शिला, रापाकोटकालिका, तामुलेक, रामसिता तालमा ग्रामिण पर्यटन पूर्वाधार निर्माण कार्यलाई अगाडि बढाइनेछ र यी स्थानहरुलाई पदमार्गले जोड्ने महत्वकांक्षी योजनालाई अगाडि बढाईने नीति लिइएको छ।
नीति तथा कार्यक्रम कार्यान्वयन गर्न जम्मा रु ४४ करोड १८लाख १९ हजार बजेट छुट्याइएको छ । गाउँपालिका उपप्रमुख सपना गुरूङद्वारा गाउँसभामा प्रस्तुत गरिएको बजेटमा कुल विनियोजन मध्ये चालुतर्फ रु ७ करोड ३९ लाख ३० हजार र पुँजीगततर्फ रु १४करोड ३३ लाख ८९ हजार रहेको छ भने सशर्त अनुदान तर्फ चालु र पुँजीगत गरी रु १८ करोड ४५ लाख रहेको छ। आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोत मध्ये नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान रु ९ करोड ४ लाख, संघीय विभाज्य कोषबाट प्राप्त हुने राजश्व वाँडफाँड रु ६ करोड ७८ लाख २५ हजार, सशर्त अनुदान रु १८ करोड ४५ लाख, संघीय विशेष अनुदान तर्फ रु २ करोड ३०लाख, प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान रु ९८ लाख ३९ हजार, प्रदेश समपुरक अनुदान रु ५० लाख, प्रदेश सशर्त अनुदान रु ५० लाख, प्रदेश राजश्व वाँडफाँड रु ३७ लाख ५५ हजार, संघ समपुरक अनुदान रु ७० लाख, आन्तरिक राजश्वबाट प्राप्त हुने रु ५५ लाख र अघिल्लो वर्षको नगद मौज्दात रु. ४ करोड रहने अनुमान गरिएको छ।
अर्जुनचौपारी-रापाकोट-आरुचौर सडक खण्डका लागि ३ करोड बजेट विनियोजन गरिएको छ। अर्जुनचौपारी-सिमलचौर-मुसुरबारी-दरौं सडक निर्माणको १ करोड, बराबरको निर्माण कार्य गर्नेछ। अर्जुनचौपारी देखि वडा नं. २- लामडाँडाँ सडक निर्माणको लागि१ करोड ५०लाख, अर्जुनचौपारी बजारबाटो स्तरोन्नतीको लागि रु ५० लाख, आरुचौर सडक खण्डलाई रु.२५ लाख, अर्जुनचौपारी-राम्चे-आरुचौर सडकका लागि रु २० लाख, थाउनुङ्गखेत-मडकिना-भालुखर्क-सल्यान सडक खण्डका लागि रु १० लाख, ठाडाखेत-दाह्रेगौडा सडकका लागि रु १० लाख, तेर्सापट्टि-छहरे लामडाँडाँ सडक निर्माणको लागि रु ५ लाख, मजुवा नाली निर्माणका लागि रु ५ लाख बजेट विनियोजन गरिएको छ।
गाँउपालिकाको निर्माणाधीन प्रशासकीय भवन निर्माणको लागि यस आ.व.को रु ५५ लाख १४ हजार बजेट विनियोजन गरिएको छ।
पालिका भित्रका सबै सडकहरु कच्ची अवस्थामा रहेका र स्तरोन्नति गरिएता पनि बर्षाका कारण हरेक बर्ष मर्मतका लागि ठूलो परिमाणमा बजेट खर्च भएको निष्कर्षमा पुग्दै यस आगामी आ.व.मा पालिकाले आफ्नै डोजर र ट्याक्टर खरिद गरी खर्चमा मितव्ययीता ल्याउने प्रयोजनार्थ डोजर र ट्याक्टर खरिदको लागि रु ७५ लाख बजेट व्यवस्था गरिएको छ।
गाउँपालिका भित्रका अति विपन्न परिवारहरुका लागि पालिकाले आर्थिक दायित्व वहन गर्ने गरी स्वास्थ्य विमा कार्यक्रमका लागि रु १० लाख, विपन्न व्यक्ति/परिवारहरुको आर्थिक स्तर वृद्धि गर्न बिउ पूँजीको रुपमा रु ६० लाख , दलित उत्थान केन्द्रका लागि रु १० लाख, रोजगार सेवा केन्द्रका लागि रु १० लाख साथै लगानी परामर्श केन्द्रका लागि रु १० लाख बजेट छुट्याइएको छ।
स्थानीय पाठ्यपुस्तक निर्माणका लागि रु १५ लाख, शैक्षिक तालिमका लागि रकम रु ३ लाख , विद्यार्थीसँग पालिका कार्यक्रमका लागि रू ६ लाख विनियोजन गरिएको छ।
पालिकाको गौरवको योजनाको रुपमा घोषणा गरेको रणनीतिक महत्व बोकेको अर्जुनचौपारी चक्रपथको लागि रु. ५० लाख विनियोजन गरिएको छ।आमा समुह/वाल क्लव/ज्येष्ठ नागरिक क्लव/युवा क्लबको सहभागिता मार्फत विकासका कार्यहरुलाई अगाडी बढाउनका लागि रु ८० लाख बजेट विनियोजन गरिएको छ ।