“प्रिय दुश्मन” काव्य कृतिको लोकार्पण

भदौ १८, २०७९


नारायण प्रसाद कोइराला, वालिङ
१८ भाद्र २०७९

स्याङ्जाली युवा कवि मिलन समीरद्वारा लिखित काव्य कृति “प्रिय दुश्मन” को एक साहित्यिक कार्यक्रमकाबिच लोकार्पण गरिएको छ। वालिङ प्रज्ञाप्रतिष्ठानको आयोजनामा वालिङमा भएको कार्यक्रममा जिल्लाका प्रतिष्ठित साहित्यिक एवं शैक्षिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। कार्यक्रम वालिङ प्रज्ञा प्रतिष्ठानका संयोजक देवी प्रसाद वनवासीको सभापतित्व र कवि तीर्थ श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। काव्य कृति “प्रिय दुश्मन” को साहित्यकार देवीप्रसाद वनवासी, तीर्थ श्रेष्ठ र कविका मातापिताले सयुक्त रूपमा लोकार्पण गर्नुभएको हो।

समिक्षात्मक टिप्पणी गर्दै युवा साहित्यकार एवं पत्रकार लक्ष्मण वियोगी भन्नुभयो, “प्रिय दुश्मनभित्र स्वार्थमा नुहाएको मानवीय प्रवृत्ति मात्र छताछुल्ल छैन, अरूको अस्तित्व स्वीकार्ने तथा मान्छेलाई मान्छे हुनुको यथार्थको चौतारीमा स्थापित गर्ने जमर्को समेत गरिएको छ । आजको मान्छे व्यभिचारको रसातलमा चुर्लुम्म डुब्दै गएको छ; यस्तो मान्छे मात्र सास फेरिरहेको मुढो बराबर हुन सक्छ- हो, यसैलाई समयको चेतनाले घस्याएर खास मान्छे बनाउन सकिने सम्भावना खोजिएको छ । समाजका खराब प्रवृत्तिहरूलाई निरन्तर सुधार गर्दै लैजान सकिने एउटा अठोट एवम् नराम्रोमा चेतनाको पाइन हालेर राम्रो बनाउन सकिने गतिशीलता शृङ्खला कविताको सबैभन्दा बलियो पक्षको रूपमा उभिएको छ ।”

समीक्षात्मक टिप्पणी गर्दै युवा साहित्यकार संजिव पौडेलले भन्नुभयो, ” प्रिय दुश्मन काव्य कृतीका ३१ वटै कवितामा समाजको बेथितिको चित्रण सँगसँगै र माटोको माया पनि अभिव्यक्त भएको पाइन्छ। एउटै शिर्षकमा शृङ्खलाबद्ध रूपमा ३१ वटा कविता लेखिएकाले काव्यकृतिमा प्रयोगधर्मीता पनि पाइन्छ। कवितामा देशप्रेमका साथमा विद्रोह पनि पाइन्छ।” कविताहरूमा सुत्रात्मकता भन्दा पनि विवरणात्मकता बढी भएको उहाँको भनाई थियो। उहाँका अनुसार कविताहरूमा काव्य कृतिको शिर्षक जस्तै कोमलता भन्दा पनि व्याङ्ग्यात्मकता र ठाडो भावनात्मक अभिव्यक्ति छ।

२ दशकको साहित्यिक यात्रा अनुभव संगालेका स्याङ्जाली साहित्यकार समीरको एकल काव्य संग्रह “प्रिय दुश्मन” नेपाली साहित्यमा अत्यान्तै कम मात्रामा लेखिने शृङ्खलाबद्ध कविताशैलीको एउटा विशिष्ट प्रयोग हो। स्वार्थी मान्छेका बहुरूपी चरित्रलाई मात्रै नभएर आजको पढेलेखेको मान्छेले बाँचेको समाज र परिवेशलाई पनि काव्य कृतिमा समेटिएको छ।



कार्यक्रममा कवि कमला अधिकारी, बालकुमार क्षेत्री, मनिषा कोइराला, भोजकुमारी पाण्डे, चिन्तु गिरी लगायतका साहित्यकारहरूले आफ्नो रचना वाचन गर्नुभएको थियो।

प्रमुख अतिथी एवं कवि तिर्थ श्रेष्ठले युवा साहित्यकार मिलन समीरको काव्ययात्रको सफलताको शुभकामना व्यक्त  गर्दै साहित्य क्षेत्रप्रतीको उहाँको लगाव, मिहिनेत कृयाशिलताको खुलेर प्रशंसा गर्नुभएको थियो। उहाँले साहित्य क्षेत्रमा भैरहेको सम्मान र पुरस्कार विनिमय प्रती चिन्ता समेत व्यक्त गर्नुभएको थियो। कवि श्रेष्ठले कविताले क्रान्तिको चेतना व्यक्त गर्नुपर्ने र नेपालीपनलाई जोगाइराख्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो। उहाँले भन्नुभयो, “नेपाली भाषा, संस्कार र संस्कृतिको संरक्षण र सम्बर्द्धनमा साहित्यले महत्त्वपूर्ण योगदान गर्नुपर्छ।” राष्ट्रियताको भावना कमजोर हुँदै गैरहेको अवस्थामा साहित्यकारहरूले देशको सामाजिक, आर्थिक र राजनीतिक विषयवस्तुलाई समेटेर साहित्य सृजना गर्नुपर्ने उहाँको भनाइ थियो।