सोच बदलौं ! विचार बदलौं !! परिस्थिति स्वतः बदलिन्छ !!!
माघ ०५, २०८०

५ माघ २०८०, शुक्रबार
हामीहरू अरूका कुरा सुन्न चाहँदैनौं केवल अरुलाई सुनाउन चाहन्छौं। घरमा कुकुर, बिरालो लगायतका आफूलाई मनपर्ने जीवजन्तु पाल्छौं तर सम्मानका साथ पाल्नुपर्ने बुवा आमालाई वृद्धाआश्रममा राख्छौं किनकि उहांँहरुले नराम्रो देख्न चाहनुहुन्न । उहाँहरूको अर्ति उपदेश हामीलाई राम्रो लाग्दैन । आफूलाई मनपर्ने घरपालुवा जीवजन्तु सोखका साथ घरमा राख्छौं किनकि उसले बोल्दैन सुन्छ मात्र । गलत कर्म हामी गर्छौं अनि प्रायश्चित को लागि मन्दिर धाउछौं । अनि भगवान संँग म यति चढाउँछु, यो चढाउँछु मेरो पाप कटानी गरिदिनुहोस भन्छौ । यो भक्ति हो की सौदा । भगवान त चुपचाप सुन्नुहुन्छ त्यसैले हामी मन्दिर धाउछौं । भगवानले पनि सुनाउने भए सायद हामी त्यहाँ पनि जाँदैन थियौ होला ।
अहिलेको समाज धेरै कुरा बाट दु:खी छ । हामी हास्ने प्रयत्न त गर्छौं तर हामीमा छ त केवल देखावटी हांँसो, औपचारिक हांँसो, प्लास्टिक हांँसो मात्र । हामी जति बेला कोही केराको बोक्रामा चिप्लिन्छ त्यति बेला हाँस्छौ । हाँसेर कुनै कुरा भन्यो भने झुट बोल्यो भन्छौं । रोएर भन्दा झुटलाई पनि राम्रो ठान्छौं । कस्तो समाज ? जवान युवती वा महिलाले त्यही कुरा हाँसेर भन्यो भने चरित्रहिन , रोयो भने “हामी केही सहयोग गर्न सक्छौ? भनेर प्रतिक्रिया आउँछ। समाज यस्तो छ ।
हामी आफ्नो जीवनमा आमूल परिवर्तन चाहन्छौं तर उदाहरणको रुपमा : थाकेको बेला तपाईँले मलाई राम्रो बिछ्यौना दिन सक्नु हुन्छ तर निदाई दिन सक्नुहुन्न । निदाउन त म आँफै पर्दछ ।
शिक्षा हाम्रो सिद्धान्तमुखी निर्वाह मुखी खालको छ । रोटी कमाउने, घर चलाउने खालको । यो चाहिन्छ तर यसले जीवन बदल्दैन । यो भन्दा माथि उठ्न सकेका छैनौं । यहांँ धेरै पढेकाहरुनै भ्रष्ट भएर निस्केका छन् । डाक्टरले नै मृगौला बेच्छन् ।
पहिला समाज अशिक्षीत थियो । राज्यले बनाएका नीतिनियम, कानुनहरु त्यति बुझ्दैनथे । तर पनि समाजमा आफ्नै सामाजिक नियमहरू थिए । त्यसलाई समाज आफैले नियमन गर्दथ्यो र समाज सुरक्षित थियो । अहिले त्यो पनि छैन ।
हामी परिवर्तन चाहन्छौं । बाइकको सट्टा कार, झुपडीको सट्टा महल । यसलाई परिवर्तन भनिन्छ तर अब यतिले मात्र पुग्दैन । अहिले मुलुकलाई रुपान्तरणको खाँचो छ । मकैको गेडा पिनेर पिठो बनाउने परिवर्तन मात्रले अब पुग्दैन एक दाना मकै जमिनमा छरेर सयौं दाना मकै उत्पादन गर्ने रुपान्तरण चाहिएको छ । हामीले जीवनमा अक्सर परिवर्तन खोजिरहेका छौ रुपान्तरण हैन । त्यसैले त हामी ठगिएका छौं । पछि परेका छौं। जीवनमा आमूल परिवर्तन चाहिएको हो भने रुपान्तरण अनिवार्य छ ।
यदि रुपान्तरण चाहनुहुन्छ भने हरेक कुरामा सकारात्मक सोच राख्नुहोस्। मनले जे भन्छ बोली व्यवहारमा त्यही होस । सोही अनुसारको कर्म होस । त्यति भए थप काम केही गर्नु पर्दैन । तर अहिलेको मान्छे जे सोच्छ त्यो भन्दैन । जे भन्छ त्यो गर्दैन र जे गर्छ त्यो देखाउँदैन । दुर्भाग्य यसरी कसरी बदलिन्छ समाज । मानिस गलत धन्दा बाट भए पनि पैसा कमाउन र विलासी जीवन बिताउन चाहन्छ । प्रकृतिले उपहार दिएको निन्द्रा सगै आनन्द संँग निदाउन चाहन्छ । त्यति हुँदा पनि ऊ आफैमा खुसी छैन । उसलाई आनन्दको निद्रा ल्याउन ढाल्ने गरी रक्सी खानु पर्दछ । ट्याबलेट खानु पर्दछ । चुरोट पिउनुपर्छ। कति मानिसहरूलाई मधुमेह छ तर जीवनमा रमाइलो गर्नु पर्दछ भनेर रक्सी नखाई छोड्दैनन् । अरु पनि रोग छ दवाई खान्छन । अलिकति भए पनि खुसीको झिल्का रक्सीले, गाँझाले दिन्छ तर लामो समय साहस आउँदैन ।
यसबाट आँफुलाई कसरी बदल्ने ? यो कसका लागि बदल्ने? न त यो आमाका लागि हो न त यो बुबाको लागि ! मात्र तपाईं स्वयंका लागि हो। अनुशासन , सदाचारिता भनेको त्यही हो कसैले नदेख्दा पनि तपाईँ राम्रो काम गर्नु हुन्छ । बन्नु सदाचारी पहिला बदल्नु आँफैलाई अनि दुनियालाई । जब तपाईं बदलिनुहुन्छ, अनिमात्र संसार बदल्न सजिलो हुन्छ।
