गाँजा खेतीलाई वैधानिकता दिन कानुन निर्माण हुँदैछ : मन्त्री गुरूङ

जेठ १९, २०८०


स्मार्ट संवाददाता, स्याङ्जा
१९ जेठ २०८०

विज्ञापन
बिज्ञापन

कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले गाँजा खेतीलाई वैधानिकता दिन कानुन निर्माण गर्न लागिएको जानकारी दिएका छ्न्। नेपाली कांग्रेस भीरकोटको प्रथम नगर अधिवेशनलाई सम्बोधन गर्ने क्रममा मन्त्री गुरुङ्ले सो कुरा बताएका हुन्। गाँजा लागुऔषध नभई औषधिय गुण भएको वनस्पति भएकाले धेरै रोगहरूको उपचारमा यसको प्रयोग गर्न सकिने र यसबाट जुत्ता , झोला, टोपी लागायतका दैनिक उपभोग्य सामानको निर्माण समेत गर्न मिल्ने बताए। भियाना कन्भेनसनमा नेपालले गाँजालाई औषधीय वनस्पतिको रूपमा मतदान गरेको र यसैको पक्षमा बहुमत आएको बताउँदै उनले देशमा भएको कानुनी प्रतिबन्ध हटाइ गाँजा खेती वैधानिक गर्न कानुन बनाउन लागिएको बताए।

प्रमुख अतिथिको रुपमा उपस्थित भएका मन्त्री गुरुङले सामाजिक सञ्जालमा उठेका र स्थानीय नेता कार्यकर्ताले सोधेका प्रश्नहरुको एक एक जवाफ दिएका थिए। रेशम चौधरीको रिहाइ जायज भएको दाबी गरेका गुरूङले तराइमा चौधरीको स्वागत हुँदै गर्दा पहाडमा विरोध हुनु जातीय द्वन्द्व निम्त्याउने कुरा भएको बताए। चौधरीको रिहाइलाई लिएर सामाजिक संजालमा राजिनामा मागिएको विषयलाई इकिंत गर्दै उनले सबै नेता मन्त्री बन्न मिल्ने बताए। उनले आफू मन्त्री बनेकोमा धेरैलाई रिस उठेको, डाह लागेको हुनाले सामाजिक सञ्जालमा राजीनामा मागेको भन्दै आक्रोश समेत पोखे।

सुशासन र भ्रष्टाचार विरोधी अभियान आफ्नो प्रमुख एजेण्डा भएको बताउँदै काँग्रेस उपसभापति समेत रहेका गुरूङले २०८४ को चुनावमा नेपाली काँग्रेसलाई खोजीखोजी मतदान गर्ने गरी काम गरिरहेको दाबी गरे। उच्चस्तरीय राजनीतिक व्यक्तित्वको समेत सम्पत्ति छानविन गर्ने आफ्नो एजेण्डा सरकारको नीति तथा कार्यक्रममा समावेश गरिएकाले सुशासनलाई पहिलो प्राथमिकतामा राखेर कानुन मन्त्रालयले काम गरिरहेको उनले पटकपटक दोहोर्‍याएका थिए। शरणार्थी काण्ड अन्तिम चरणमा पुगेको र दोषीलाई कानुनबमोजिम कारबाही हुने बताउँदै उनले नागरिकको नागरिकता पाउने नैसर्गिक अधिकार प्रदान गर्न नागरिकता विधेयकले प्रमाणिकरण गरिएको बताए।

मन्त्री गुरुङले बाहिर उठेका कुराहरु जस्तो खराब काम आफूले नगरेको र खराबी नगर्ने कुरामा समेत प्रतिबद्ध रहेको समेत उल्लेख गरे। ” सुशासनको नारा बोकेर हिँडेँ। आज म सुशासन कायम गराउने ठाउँमा पुगेको छु। कसैले शंका नगर्नुस्।” उनले थपे।



स्याङ्जा जिल्लाको विकासमा हरेक तहसँग समन्वय गरी अघि बढ्ने उनको उद्घोष थियो। बजेट घोषणामा जे जस्तो भएपनि रातो किताबमा स्याङ्जाका महत्वपूर्ण योजना नछुट्ने उनको दाबी छ।उक्त कार्यक्रममा संघीय सांसद् राजु थापा, प्रदेश सभा सदस्य भोजराज अर्याल, गल्याङ नगर प्रमुख गुरु प्रसाद भट्टराई , भीरकोट नगर प्रमुख गोविन्द कर्माचार्य, उपप्रमुख भगवती अर्याल, राष्ट्रिय सभाका पूर्व सदस्य खगेन्द्रराज रेग्मी, भीरकोट नगरपालिकाका निवर्तमान नगर प्रमुख छायाराम खनाल,वालिङका निवर्तमान नगर प्रमुख दिलिपप्रताप खाँण लगायत सयौँ काँग्रेस नेता तथा कार्यकर्ताहरुको उपस्थिति थियो।

नेपाली कांग्रेस भीरकोटका सभापति लक्ष्मण अधिकारीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन काँग्रेस भीरकोट सचिव तथा भीरकोट नगरपालिका वडा नं ७ का वडाध्यक्ष ताराप्रसाद अर्यालले गरेका थिए।