प्रिय दुश्मन !

असार १९, २०७९


२०७९ असार १९
तिमीले अरू कसैमाथि भरोसा गर्दै – गर्दैनौ
तर आशाखेती भने अरुकै गरिरहेका हुन्छौ
अनि आजीवन अरू कसैको पवित्र आस्था,
विवेकशील विचार र अटल आत्मविश्वासमाथि
भारी भरोसा, अद्वितीय ईमान र इज्जतसङ्गै
अरुको अस्तित्वमाथि प्रहार गरिरहेका हुन्छौ
र, हरेक छाक पेटभरि अन्न खाएरै पनि फेरि
हरियो घाँस खोज्दै धुले माटोमा चरिरहेका हुन्छौ !

छेकिएर संवेदनशील समयको आँखिझ्यालभित्रबाट
चरम प्रतिकुल परिस्थितिको पट्यारलाग्दो पटाङ्गिनीमा
भ्रमित सन्दर्भका विविध प्रसङ्गहरुलाई छरिरहेका हुन्छौ
अनि आफ्नै आत्माको तेस्रो आँखाबाट झरिरहेका हुन्छौ !

आजीवन अरु कसैको ठुटे पुच्छर समातेर
आफ्नै जिन्दगीको वैतरणी तरिरहेका हुन्छौ
तर पारी नपुग्दै मझधारमा परिरहेका हुन्छौ
र, भुमरीभित्रको खाली ठाउँ भरिरहेका हुन्छौ
मरेपछि पनि बाचिरहेको हुन्छु भन्ने झिनो आशाको
मसिनो त्यान्द्रोमा अल्झिएर ज्युदै मरिरहेका हुन्छौ
स्वर्गलोक छोडेर नर्कतिर बसाइँ सरिरहेका हुन्छौ !

अरुलाई मान्छेको रूपमा त गन्दै – गन्दैनौ
अरूसङ्ग पनि क्षमता हुन्छ त भन्दै – भन्दैनौ
बुद्धिमान अनि विवेकशील त बन्दै – बन्दैनौ
त्यसैले त आजीवन अरूको दृढविचारसङ्गै
चेतनशील चेतनामाथि शंका गरिरहेका हुन्छौ
र, ईष्र्याको आगो सल्काएर जलाइरहेका हुन्छौ –
आफैंभित्रको अदृश्य उत्तरआधुनिक लङ्का !

अरूलाई सदैव सानो देखिरहेका हुन्छौ
मुरीलाई समेत मानो लेखिरहेका हुन्छौ
अरूको शिल्पशैलीलाई बुझ्दै – बुझ्दैनौ
अविरल झरी परिरहेको हुन्छ – हरेक पल
तर तिमी अलिकति पनि रुझ्दै – रुझ्दैनौ
बरु ठनक्कै भाचिन तयार हुन्छौ – सदैव
तर झुक्नैपर्ने ठाउँमा पनि झुक्दै – झुक्दैनौ
हरेक सन्दर्भको सामान्यीकरण गरिरहेका हुन्छौ
आफैंभित्र बाकी रहेको हरिलाई हरिरहेका हुन्छौ !

प्रिय दुश्मन !
यो कस्तो मानसिकताको उपज हो तिम्रो ?



भुइँको धुलोले आकाशका तारालाई नुहाइरहेका हुन्छौ
तिमी आफू एक्लैले दुनियाँ सारालाई रुवाइरहेका हुन्छौ
गल्ती आफैंले गरेर अरुलाई तामातुलसी छुवाइरहेका हुन्छौ !

स्वार्थी समूहहरुलाई सहयोगी बनेर रिझाइरहेका हुन्छौ
भ्रमित सन्दर्भलाई गोयबल्स शैलीमा फिजाइरहेका हुन्छौ
अरु सबैको आँखामा कसिङ्गर बनेर बिझाइरहेका हुन्छौ
आफ्नै लुते गुप्ताङ्ग देखाएर अरुलाई गिज्याइरहेका हुन्छौ

चरम हीनभावनाले पुरै ग्रसित भएर
संवेदनशील समयको लिगलिगकोटमा
प्रतिकुल परिस्थितिको पटाङ्गिनीमा पनि
सदैव तिमी आफू मात्र एक्लै दौडिएर
विजयश्री पहिरिन खोजिरहेका हुन्छौ
अर्थहरुलाई सधैं पछिल्तिर धकेलिदिएर
अनर्थहरुसङ्गै गहिरिन खोजिरहेका हुन्छौ !

कहिल्यै अरु कसैलाई सहयोग गर्दै – गर्दैनौ
र त, आफैँलाई असहयोग गरिरहेका हुन्छौ !

सदैव अरूको सहयोगमात्रै खोजिरहेका हुन्छौ
निहित स्वार्थका लागि साथी रोजिरहेका हुन्छौ !

आत्मश्लाघी राजधानीको बालुवाटारभित्र बसेर
आप्रवासी राज्यसत्ता चलाउन खोजिरहेका हुन्छौ
आफ्नो प्रतिगामी पाइला नपछ्याउनेहरु सबैलाई
छिर्के हानेर पाइलैपिच्छे ढलाउन खोजिरहेका हुन्छौ
कुहिएको जरैदेखि उखेलिएर उत्तानो परिसकेर पनि
फेरि टुप्पोबाटै भए पनि पलाउन खोजिरहेका हुन्छौ
विषवृक्ष रोप्छौ र अमृत फलाउन खोजिरहेका हुन्छौ !

गोरु बूढो भएपछि भीर खोज्दै हिंडे जस्तै
मान्छे बूढो भएपछि निहुँ खोज्दै हिंड्छ अरे !

प्रिय दुश्मन !
तिमी पनि बूढो भएकै हौ त ?