युद्धका रुमानी सपनाभित्र लडाकुको दर्दनाक तस्वीर : ‘पीर’ भित्रको वैचारिकी

फागुन ३०, २०७८


तिम्रो मयाँले मलाई पीर दियो

कमलो मुटु, कमलो छाति चिरदियो । 

गायक प्रकाश सपुतको ‘पिर’ नामक म्युजिक भिडियो शुक्रबार सार्वजनिक भएसँगै यतिबेला यसमा प्रस्तुत गरिएको कथ्य र दृश्याङ्कनले तरङ्ग ल्याइदिएको छ । सार्वजनिक मिडिया तथा सञ्जालदेखि चियाचौतारोमा सपुतको गीतको चर्चाले शिखर चुमेको छ । लोकप्रियताको इतिहासमा पनि यसले इतिहासमै ‘ब्रेक थ्रुु’ गरिरहेको छ ।

गीतले दुई थरि वैचारिक बहसलाई सतहमा ल्याइदिएको छ । मूलतस् माओवादीका धेरै नेता कार्यकर्ताहरूले सपूतमाथि धारिलो हातले गाली गर्दै जनयुद्धको भद्दा मजाक गरेको आशयका टिप्पणीहरू गरिरहेका छन् । उनीहरूको तर्कमा तथ्य र तर्कभन्दा बढी आक्रोश र भावनात्मकता देखिन्छ । त्यस्तै गीतको टिप्पणीमा उत्रेको माओवादी इतर अर्को ठूलो समुहले सपुतको गीतले नेपाली समाज र अर्थतन्त्रको यथार्थ तस्विर बोलेको भन्दै प्रंशसा गरिरहेको छ । विरोध गर्नेहरूले महिला छापामारलाई देहव्यापारसँग जोडेको तथा राजनैतिक पूर्वाग्रहमा आधारित भएर समग्र जनयुद्ध बेठिक थियो भन्ने प्रमाणित गर्न खोजेको भन्दै सपुतमाथि नवअरिङ्गाल शैलीमा ज्यान फालेर उत्रिएका छन् ।

गीतको कथ्य सन्दर्भ :

सपुतको ‘पिर’ शीर्षकको म्युजिक भिडियोमा अंशतः माओवादी युद्धको खण्ड र मूलतः युद्धपछिको सन्दर्भलाई अगाडि सारिएको छ । गीतअनुसार जनयुद्धमा एक लडाकुको जोडीले साँचो प्रेम गरेको छ । युद्ध समाप्त हुन्छ । दस वर्षभन्दा बढी समय चलेको युद्ध र द्वन्द्वको स्थितिलाई शान्ति प्रक्रियामार्फत् टुङ्ग्याइन्छ । शान्ति प्रक्रियामा टुङ्ग्याउँदा कतिपय लडाकुले नेपाली सेनामा समायोजनको अवसर पाउँछन् भने कतिपय अयोग्यताको ‘ट्याग’ लिएर घर फर्किन्छन् । हिजो जनयुद्ध लडेर स्थापित गरेको पार्टी र नेतृत्व सरकारको जिम्मेवारी सम्हाल्न पुग्छ ।



सीप र शिक्षाको अभावमा उनीहरूले रोजगार पाउँदैनन् । प्रेमको चिनो सानी छोरीले उनीहरुको केही चित्त बुझाएकी हुन्छे । तर दिनदिनै अभावले उनीहरूको घाँटी निमोठ्न थाल्छ । अभाव टार्नका लागि लडाकु जोडीले रोजगारका प्रयास गर्छ तर सफल हुँदैन ।

आफ्नै पार्टी सत्तामा हुँदा पनि लडाकुको आर्थिक समस्यामाथि नेतृत्वले ध्यान दिँदैन । यसबाट जनयुद्ध लडेको त्यो जोडीमा तनाव सुरु भएको म्युजिक भिडियोमा देखाइएको छ । लोग्नेले विदेश जानुहुँदैन भन्ने मान्यता राखेपछि महिला छापामार नै छाती दह्रो गरेर वैदेशिक रोजगारीमा जाने निर्णय गर्छे । अभावले निकै गाँजेपछि भोकका खातिर प्रेमी पात्रले श्रीमतीलाई विदेश पठाउने कुरामा स्वीकति दिन्छ । अनेक हन्डर खाएपछि महिला लडाकु विदेशमा कामका लागि जान्छे ।

यता श्रीमती विदेश गएपछि छोरीको सम्पूर्ण जिम्मा पुरुष योद्धाका काँधमा आइपुग्छ । ऊ छोरीका लागि केही गर्न पाए हुन्थ्यो भन्ने सोच्छ । घाइते पुरुष लडाकुले छोरीलाई सरकारी स्कुलमा पढाउन थाल्छ । छोरीले अरु साथीहरू राम्रो ड्रेसमा निजी स्कुलमा बाबुआमासँग स्कुटरमा चढेर स्कुल गएको देख्दा आफ्नो लडाकु बाबुको मुखमा हेरेर खिन्नता प्रकट गर्छे । बाबुले छोरीको अनुहारमा हेर्दै आफ्नो विवशता मौन रूपमा व्यक्त गर्छ । श्रीमतीको वियोग र अभावका कारण ऊ तनावग्रस्त बन्दै जान्छ । पिर भुलाउन भन्दै उसले रक्सी खान थाल्छ ।

रक्सी खाने क्रममा भट्टीमा भेटिएको साथीले ‘यौन चाहना छ भने हिँड’ भनेर सङ्केत गरेपछि श्रीमती नभएको ३ महिनामा ऊ वेश्यालय जान्छ । उसले बुर्काले मुख छोपेकी एक अधवैंसे यौन पार्टनरलाई समागमका लागि कोठामा लैजान्छ । कोठामा पुगेपछि यौनकर्मी युवतीले मुखमा लगाएको मखुन्डो उतार्छे । मखुन्डो उतार्दा यौनकर्मीका रूपमा समागमका लागि कोठामा तयार भएकी युवती आफूसँगै हिजो युद्ध लड्ने सहयोद्धा छापामार हुन्छे । युवक एकाएक तर्सन्छ । युवती पनि अचम्ममा पर्छे । दुवै त्रसित मुद्रामा मुखामुख गर्छन् ।

यस्तैमा एक टेलिभिजनको समाचारले युवकको ध्यान तान्छ । टेलिभिजनमा पैसा कमाउन विदेश गएकी उसकी प्यारी श्रीमती विदेशमा बन्धक बनाइएको समाचार सम्प्रेषित भइरहेको हुन्छ । यसबाट युवक विक्षिप्त हुन्छ । उसले म्यापावरको मालिकको टाइ तानेको दृश्य देखिन्छ । उसले सबैतिर बन्धक बनाइएकी श्रीमतीको खोजी गरिदिन आग्रह गर्छ । आफ्नै पार्टीका पहुँचवाला नेतालाई खोजी गुहारीका लागि निवेदन दिन्छ ।

तर त्यो निवेदन अलि पर पुगेपछि त्यही नेताले नपढिकनै बाटोमा फालिदिन्छ । उसले हिजोका सबै युद्धकालीन नेताहरूलाई पुकार्छ तर कसैले पनि उसकी श्रीमतीको खोजीमा चासो देखाउँदैनन् । यसबाट विरक्त भएर अन्तिममा ‘देश भनेको माटोमात्र हो कि अरू पनि हो’ भन्दै एक मुठ्ठी माटो लिएर ऊ पनि विदेशिन बाध्य भएको सन्दर्भलाई जोड्दै गीतलाई टुङ्गयाइएको छ ।

यसरी जनयुद्धको भीषण राप र तापका बिचमा बन्दुकका सङ्गीनलाई साक्षी राखेर निश्छल प्रेम गरेको लडाकु जोडीले देखेका सबै सपनाहरू चकनाचुर भएपछि, अभावले घाँटी निमोठेपछि, प्रेमभन्दा आवश्यकताले चिमोट्न थालेपछि तनाव र दबाबको महसुस गर्दै गएको छ । भिडियोमा पुरुष पात्रले विदेश जाने चाहना नदेखाएपछि महिला लडाकुले अभावको मुख टाल्न र छोरीको मुखमा माड हाल्न वैदेशिक रोजगारमा जाने हिम्मत गरेकी छ । ऊ काखे छोरीको ममतालाई मुटुमा भक्कानो पारेर बिर्सँदै अरबका खाडीमा पैसा कमाउन पुगेकी छ ।

यता युद्धमा टुसाएको अमर प्रेम टुक्राएर आफ्नी प्रेमिकालाई खाडीमा सुम्पन बाध्य भएको युवकमा श्रीमती गएपछि एकप्रकारको तनाव र विचलन देखिएको छ । छोरी नै उसकी बाँच्ने आधार बन्दै गएकी जस्तो देखिन्छ । ऊ बारमा रक्सी खाँदै जाँदा साथीकै आग्रहमा यौन तीर्खा मेट्न भनेर जान्छ । एकान्त कोठामा पुगेकी यौनकर्मी महिलाले यौन समागमका लागि जब अनुहारको बुर्का खोल्छिन्, त्यतिबेला श्रीमती विदेश पठाएर यौनालयमा पुगेको युवक झस्किएको छ । त्यो युवती उही युद्धमा सँगै बन्दुक उठाएर दुश्मनको उछितो काढ्ने बहादुर ‘कामरेड’ हुन्छे ।

यो दृश्यले एकै साथ दुई वटा सन्दर्भ उठाएको छ । एउटा त थुप्रै छापामार युवतीहरू भोक र अभाव टार्न वेश्यालयको यात्रा गर्न बाध्य पारिएका छन् भन्ने यथार्थलाई बोल्ने साहस गरेको छ भने अर्को हिजो नैतिक आचरणका कुरा उठाउने माओवादी स्कुलिङभित्र पलाएको सांस्कृतिक विचलनको स्थितिलाई श्रीमती विदेश गएको ३ महिनामै लडाकु युवक यौनकर्मी महिला पार्टनर खोज्न हिँडेको कुराले स्पष्ट पारेको छ ।

देश भन्नु त के रैछ र, चारकिल्लाको माटो

त्यै माटो नि उनको मात्रै, जो छन् टाठोबाठो

त्यसैले गीतको कथानकभित्रको युवक पात्रले माटो उठाएर चारैतिर देश खोजेको छ । जता खोज्दा पनि सक्कली देशको अनुभूति गर्न नपाएपछि देश नै छोड्नुपर्ने अवस्थामा पुग्न विवश नेपालीको कथा व्यथालाई गीतका शब्दचित्रमा उतारिएको छ । अभावले घाँटी निमोठेपछि काखे बालकलाई ममताको तृष्णा जगाएर अनिश्चित भविष्य बोकेर विदेशिनु महिला छापामारको बिडम्बना हो । विदेश जान श्रीमानले हिम्मत नगरेपछि अभावको टालोलाई ढाक्न र भोकलाई शान्त पार्न महिला लडाकु बाध्य भएर विदेशिएकी छन् । युद्धकालको भीषण क्षणमा उम्रेको निश्छल प्रेम समेत अभाव र पीडामा खण्डित बनेको निकै मार्मिक परिदृश्य म्युजिक भिडियोमा देख्न सकिन्छ ।

पिर बिसाउने ठावैँ पाइनँ काँ चौतारी चिनौं

मुन्छे बन्न मुस्किल भयो, के बनेर हिनौं

महिला छापामारलाई काखे छोरी छोडेर विदेश जाने स्थितिमा कसले पुर्यायो त रु  यो कुरालाई गम्भीर रूपमा पर्गेल्नुपर्ने हुन्छ । अयोग्य छापामारको ‘ट्याग’ लगाइएपछि हिजो छोडेको झुपडी सम्हाल्न पुगेका छापामारले नयाँ जीवन सुरू गर्नुपर्ने स्थिति भयो । सबै कुरा बिर्सेर एउटा रुमानी सपनामा दशकौं भुलेका छापामार रित्तो हात, उजाडिएको सपना, खण्डहर मानसिकता र गहिरो वितृष्णा बोकेर घर फर्कन विवश भए ।

अझै पनि आफ्नो पार्टी सत्तामा पुगेपछि केही होला नि भनेर बसेकाहरू युद्धका सुप्रिमो सत्ताको मूल नेतृत्वमा पुगेपछि सम्पूर्ण रुपमा निराश बन्दै जान्छन् । हिजो ‘युगनायक’ भनेर आफैले देवत्वकरण गरेका सुप्रिमोको सत्तामा पुगेपछिको व्यवहार र बोली फरक हुँदै गएको महसुस गरिरहेका लडाकुका रुमानी सपना एकपछि अर्को तुहिँदै जान्छन् । मूल नेतृत्वको तीव्र क्षयीकरण र विद्रुपीकरण देखेर लडाकु तथा कार्यकर्ता तीन छक पर्छन् । घरीघरी सपनामा तिनीहरूलाई लाग्दो हो, ‘यी कतै हिजोका आफ्नै ‘सुप्रिम कमान्डर’ त हुन् रु’ ती अर्धचेत मनस्थितिमा बेलाबेलामा झस्किन्थे होला । अझ भोलिको अनिश्चित र भयावह जिन्दगीको बारेमा सोच्दा तिनका मनमा अन्धकारशिवाय केही देखिदैनथ्यो होला । सपुतको पिरले यही यथार्थलाई मार्मिक तरिकाले सतहमा ल्याइदिएको छ ।

वास्तवमै सपुतको ‘पिर’ भित्रका पिरहरु निकै पीडादायी र मार्मिक छन् । यस गीतभित्रको कथ्य नेपाली अर्थतन्त्रसँग जोडिएको विषय त हुँदै हो, सशस्त्र द्वन्द्वपछिको माओवादी नेतृत्वमा देखिएको वैचारिक, सांस्कृतिक तथा नैतिक स्खलनको ज्वलन्त तस्विर पनि हो । गीतमा भनिएका कथ्य सन्दर्भ सत्य र यथार्थ हुन् भन्ने कुरा घामजत्तिकै छर्लङ्ग छ ।

गीतभित्रको जनयुद्ध

जनयुद्ध नेपाली राजनीतिको एउटा विशिष्ट घटनाक्रम थियो । करिब दस वर्षसम्म भएको भीषण युद्धले नेपाली जनजीवन नराम्रोसँग हल्लाइदिएको थियो । जनयुद्धका जराहरू गाउँगाउँसम्म पुगेका थिए । त्रास र असुरक्षाको कहालीलाग्दो स्थितिभित्र एकातिर माओवादी राज्यको ठुलो समस्या बन्दै थियो भने अर्कोतिर संसदवादी दलहरूको अराजनैतिक तथा व्यक्तिकेन्द्रित चरित्रका कारण देशको विकासको चाहना असरल्ल परिरहेको थियो ।

निश्चय नै जनयुद्धले ग्रामीण जनताको राजनैतिक चेतना स्तर माथि ल्यायो । भुइँ तहका जनतामा पनि राजनैतिक अधिकारको चेतना जाग्ने स्थिति बनायो । गाउँका कतिपय जाली फटाहाका कुकृत्यको भण्डाफोर गर्यो । महिलाहरूलाई अधिकारका लागि सचेत बनायो । जनजातिलाई जागृत गरिदियो । पुरानो सामन्त एकात्मक व्यवस्थालाई समाप्त पार्ने स्थितिमा पुग्न बाध्य बनाइदियो । यसले दुनियाको सबैभन्दा लोकतान्त्रिक विधिद्वारा जनताको अधिकारसम्पन्न संविधान प्राप्त गर्ने अवस्थामा पु-यायो । जाति, धर्म, लिङ्गलगायतका विभेदहरूमाथि सोच्न बाध्य बनायो । सबैभन्दा ठुलो राजनैतिक उपलब्धि सामन्त राजतन्त्रात्मक व्यवस्थाका विरुद्ध गणतान्त्रिक राज्य व्यवस्था स्थापित गराउन सबैभन्दा निर्णायक भूमिका माओवादीले नै खेल्यो । राज्यका पुरातनवादी संरचनाहरुमा फेरबदलको स्थिति ल्यायो । संघीयता पनि मुख्यतः माओवादी आन्दोलनकै उपलब्धि थियो । यसरी हेर्दा राजनैतिक रूपमा माओवादीले एकप्रकारको विजय हासिल गरेको थियो ।

युद्धका रुमानी सपनाभित्रका पीडा 

तर युद्धमा भनिएका र देखाइएका थुप्रै सपना रुमानी थिए, थुप्रै काल्पनिक आख्यान निर्माण गरिएका थिए । मान्छेलाई मर्न र मार्न तयार पार्ने नयाँ जार्गनहरू तयार गरिएका थिए, विद्रोहको भाव जन्माउन सर्वहारा चेतना बिउँझाउने खालका ‘न्यारेटिभ्सहरू’ निर्माण गरिएका थिए । सर्वहारा क्रान्तिका उत्तेजित गीत सङ्गीतका संरचना निर्माण गरिएका थिए । धनी र गरिबबिचको असमानताको अन्त्य गर्ने र राज्यको सम्पतिमाथि गरिबको नियन्त्रण हुने जस्ता भाष्यहरु गाउँगाउँसम्म वैचारिक हिसाबले प्रशिक्षित कार्यकर्ताद्वारा पु¥याइएको थियो ।

मूलतः माओवादीहरू विद्रोहका लागि सफल थिए । भत्काउनमा कुशलता देखाएका थिए तर भत्काएपछिको संरचना कस्तो बनाउने भन्ने कुनै ठोस उपयुक्त योजना भने उनीहरुसँग थिएन । तलका लडाकु र कार्यकर्तालाई युद्धमा देखाइएका रुमानी सपना युद्धको अन्त्यपछि पुरा हुने स्थिति नै भएन किनभने देखाइएका सपनाभित्रको वैचारिकीमा गम्भीर खोट थियो । हिजो माओले इतिहासको एउटा विशेष कालखण्डमा चिनियाँ परिवेशमा लागू गरेको ‘माओवाद’ आजको उत्तरआधुनिक साइबर युगमा नेपाल जस्तो जटिल भूराजनैतिक परिवेशमा भएको मुलुकमा पनि ठिक हुन्छ भन्ने विचारमा नै समस्या थियो ।

केही सीमित राजनैतिक उपलब्धिबाहेक जनयुद्धले आम जनताले आफ्नै जीवनमा परिवर्तन महसुस गर्न सक्ने खालका कुनै उपलब्धि दिन सकेन । सत्ता पाएपछि के गर्ने, कस्तो योजनामा काम गर्ने भन्ने कुनै वैचारिक स्पष्टताविना नै केवल एउटा असन्तुष्टि, आक्रोश र प्रतिशोधमा सुरू गरिएको कथित जनयुद्धले प्राप्तिभन्दा बढी क्षति नै दियो, जुन क्षति अपुरणीय छ । युद्धले नेपाली जनजीवनमा दिएको पीडा र अभिघातजन्य स्थितिको मूल्याङ्कन शब्दमा गर्न गाह्रो छ । युद्धकै क्रममा हजारौं नागरिकले अनाहकमा ज्यान गुमाए । हजारौं अङ्गभङ्ग भए । हजारौ बेपत्ता भए भने थुप्रै घरबारविहीन भए । मुलुकका असङ्ख्य भौतिक संरचनामा ठुलो क्षति भयो ।

हजारौलाई बलीवेदीमा होमेर शान्ति प्रक्रियामा आएको माओवादीको मूल नेतृत्वमा शान्ति प्रक्रियामा आएको एक दशक नहुँदै गम्भीर वैचारिक स्खलन मात्र देखिएन, युद्धका एक महारथि ‘हिमालयन ह्रविस्की’ का साथमा स्त्रिविलासमा रमाइरहेको अपत्यारिलो दृश्य फिल्मी शैलीमा सार्वजनिक भयो । उनीहरूकै भाषामा भन्दा माओवादीमा एक दशक नपुग्दै गम्भीर ‘सांस्कृतिक विचलन’ चिन्ताजनक स्थितिमै बढिरहेको थियो ।

हिजो काठमाडौको विशाल चौबाटोमा उभिएर ‘ल हेर्नोस् कमरेड, यी सबै ठुला घर जति बाँडिन्छ’ भनेपछि गरिबीले रन्थनिएर उपाय खोज्दै हिँडेको एउटा चेतना परिपक्व नभइसकेको काँचो युवक युद्धमा होमियो । उसलाई भनियो, ‘यो सबै सम्पत्ति एक दिन हाम्रै हुनेछ । अब यहाँ कोही धनी गरिब हुनेछैनन् । हामी वर्गमुक्त र शोषणमुक्त समाजको निर्माण गर्नेछौं ।’

सबैतिरबाट हेपिएको एउटा जोसिलो उमेरको नेपाली युवाको अर्धचेतन मनमै परिवर्तनको महान् सपना देखाइएपछि ‘भविष्यमा केही हुने’ आशाले युद्धको आँधीबेहरीमा ऊ बत्तीमा पुतली होमिए झै होमिएको थियो ।

हिजो पढ्नबाट वञ्चित गराइएका कारण आज माओवादी युद्धमा सामेल भएका लडाकु तथा कार्यकर्तासँग कथित बुर्जुवा सर्टिफिकेट पनि छैन, न त विप्लवका छोराको जस्तो डाक्टर बन्ने सपना नै जीवित छ । न बाबुरामकी छोरीले जस्तो भारतमा गएर पढ्ने क्षमता छ, न प्रचण्डकी छोरीले जस्तो अरु पार्टीका भोट लिएर चुनाव जितेर सत्ताको तर मार्ने स्थिति नै छ ।

हिजो जीवनका लागि आवश्यक रोजगारीमुलक सिपबाट बञ्चित हुँदै नेताको झुट्टो आस्वासनमा आफ्नो उर्वर समय र जोसिलो उमेर युद्धमा समर्पित गरेका कारण आज ती युद्धका छापामार र कार्यकर्ताले जीवन निर्वाहका लागि रोजगार नपाएर अनेकौ हण्डर खाइरहेका छन् । तिनका रोजगारीका सबै बाटा थुनिएका छन् ।

ईन्जिनियर बेरोजगार भएको देशमा बम र बारूद पड्काउन मात्र सिकाइएका लडाकुले रोजगार पाउन सहज हुने कुरै भएन । जीवन जति सबै युद्धमा सुम्पेर मुख र मुठीसँग घरमा फर्केका ती ‘जनताका सर्वश्रेष्ठ छोराछोरीहरु’ को स्थिति अन्त्यमा माछो माछो भ्यागुतो जस्तै बनाइयो।

माओवादीको नेतृत्व वर्गले आफू सत्तामा पुग्दा लडाकुको पीडालाई सम्बोधन गर्नेतिर कहिल्यै ध्यान दिएनन् । बरू त्यही ‘खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने’ भनिएको संसदीय फोहोरी खेलमा सत्ताको आस्वादनमै लिप्त भइरहे । कसरी हुन्छ, आफू र आफ्ना नजिककाहरूलाई मात्र अवसर दिने स्वार्थी खेलमा पटक पटक लाजै निर्लज्ज रूपमा लम्पसार परिरहे ।

माओवादीभित्र आर्थिक अपचलनका कुरा युद्धमै हुँदा पनि नउठेका होइनन् । मर्ने र मार्ने खेलमा लागेका कठिन सन्दर्भमा ती आर्थिक अपचलन तथा सांस्कृतिक विचलनका घटना सन्दर्भ बन्दुकका शक्तिका भरमा दबाउने काम गरियो । शान्ति प्रक्रियापछि प्रचन्डको कपालको जेल, हातको रोल्याक्स घडी र लाखौँको खाटको चर्चा नेपाली मिडियामा छताछुल्ल भए । यसबाट माओवादी मूल नेतृत्वको तीव्र पूँजीवादीकरण र आदर्शको क्षयीकरणको स्पष्ट तस्विर देख्न सकिन्थ्यो ।

गीतभित्रको वास्तविकता

आम लडाकुको अवस्था बुझ्नै नसक्नेहरूले मानव अधिकार आयोगका प्रतिवेदन तथा चेलीबेटी बेचविखनसम्बन्धी प्रहरीका रिपोर्टहरू केलाए हुन्छ । गीतमा कुनै अतिरञ्जना वा काल्पनिकी छैन । जे छ, त्यो तथ्यभन्दा बाहिर पनि छैन । युद्धले कति लडाकुका परिवारको बिल्लीबाँठ भएको छ । कतिले शरीरमा गोली बोक्दै कम्मरमा पिसाबको थैलो झुन्ड्याएर अस्पतालका अँध्यारा छिंडीहरू चाहारिरहेका छन् ।

यसमा कुनै विवाद छैन कि सपूत नेपाली समाजका अर्थ राजनैतिक जटिलताभित्र विपन्न वर्गले भोग्नुपरेका समकालीन पीडाहरूलाई सशक्त ढङ्गमा प्रस्तुत गर्ने खुबी भएका गायक हुन् । उनको विरोध गर्नेहरूले कि त आजको समाज बुझेका छैनन् वा कि त बुझेर पनि अझै बँचेखुचेको माओवादी आन्दोलनको ब्याज खाने घृष्टता गरेका हुन् । विरोधीहरूको स्वरमा सत्य लुकाएर व्यक्तिगत फाइदा उठाउने कुत्सित मनसाय स्पष्टै देखिन्छ ।

लडाकुकै आँखाबाट पनि आज माओवादी आन्दोलन व्यक्तिगत स्वार्थसिद्ध गर्ने बँचेखुचेका केही नक्कली र अवसरवादीहरूको झुण्डमात्रै हो भन्दा अतिशयोक्ति हुँदैन । हिजोका युद्धका नायकहरू नै आज चारतिर फर्किएर अवसरका च्याँखे थाप्दै खलनायक बनिरहेको भद्दा दृश्यले पनि यसलाई पुष्टि गरेकै छ ।

हिजो बुर्जुवा शिक्षा भनेर संस्कृतका पुस्तक जलाएकाहरू, हिजो बहुविवाहमा जनतालाई भाटे कारबाही गर्नेहरू, हिजो भ्रष्टाचारीलाई फाँसी दिनुपर्छ भनेर अग्रपङ्तिमा उभिएकाहरू नै आज यी सबै भद्दा परिदृश्यका नायक बनिरहेको कुरूप तस्विर देख्दादेख्दै पनि सपुतको गीतको विरोध गर्नु भनेको तथ्यप्रति आँखा चिम्लनु बाहेक केही होइन ।

एउटा कलाकारले नेपाली समाज र राजनैतिक जीवनको विशिष्ट कालखण्डको समस्याबाट सिर्जित गम्भीर मानवीय पीडालाई देख्छ, त्यसलाई अनुभूत गर्छ । त्यसलाई संवेदनाका तहमा केस्रा केस्रा बनाएर छाम्छ र कलाका अनेक साँचामा त्यसलाई अभिव्यक्त गर्छ । साँचो कलाले मानव समाजका गम्भीर र जटिल पीडालाई मार्मिक शैलीमा अभिव्यक्त गर्छ, जुन सपुतको गायकी कलाले ग-यो । सपुतको गीतमा आपत्ति जनाउनुभन्दा बरु अझै पनि विघटनको सङ्घारमा पुगेको माओवादीले यस गीतबाट चेत्नुपर्छ र आफ्नो विगत कर्मको गम्भीर समीक्षा गर्नुपर्छ । गीतसँग जोडिएको तथ्यलाई नजर अन्दाज गरेर माओवादी भाग्ने कुनै ठाउँ नै छैन । बरु आज आफूलाई सत्तामा पु¥याउन अहम् भूमिका खेलेका जनयुद्धका ती ‘महान्’ कमाण्डर र लडाकुहरूको पीडालाई आम जनताले बुझ्ने कलाको सहज शैली गीतको माध्यमबाट बाहिर ल्याइदिएकोमा त्यस पार्टीका नेताहरूले सपुतलाई धन्यवाद दिनु नै बुद्धिमानी हुन्छ ।