स्थानीय चुनावका उम्मेदवारलाई सुझाव

चैत ०२, २०७८


२ चैत्र २०७८

स्थानीय निकायको चुनावको सरगर्मी बढिसकेको छ । आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनको नतिजा आफ्नो पोल्टामा पार्न राजनीतिक दलहरूले आफ्ना चुनावी गतिविधिहरू सुरू गरिसकेका छन् । नगरप्रमुख, उपप्रमुख, वडा अध्यक्ष लागायतका मुख्य पदहरूमा नेताहरूले आंकाक्षा र दाबी गर्न थालिसकेका छन् ।

चुनाव भनेको राजनीतिक दलहरूलाई उनीहरूले गरेको राम्रा र नराम्रा कामहरूको मूल्यांकन गरी दण्डित वा पुरस्कृत गर्ने सुवर्ण अवसर हो । गुट उपगुटको नेता बनेर आउने उम्मेदवारलाई भन्दा पनि दलको साझा उम्मेदवार बनेर आउनेलाई पहिलो प्राथमिकता दिनुपर्छ । अबको उम्मेदवार आंँफूले मात्र जित्ने भन्दा पनि सिंगो पार्टिलाई जिताउने संकल्प लिएर आउनुपर्छ । व्याक्तिगत हित भन्दा माथि उठेर राष्ट्र, राष्टियता र लोकतन्त्रको रक्षार्थ समग्र देश र जनताको हितका कुरा गर्ने र कुरालाई पुरा गर्ने संकल्प भएको हुनुपर्छ । उम्मेदवार विचारको राजनीति गर्ने र विकासमा प्रतिस्पर्धा गर्ने संकल्प सहित चुनावी मैदानमा उत्रनुपर्छ ।

जनमतको सम्मान गर्ने र जनताको मताधिकार फगत मत मात्र होइन देशको भाग्य र जनताको भविष्य बदल्ने तागत पनि हो भन्ने कुरा बुझेर अगाडि बढ्नुपर्छ । जनताले दिएको जनमत पार्टीमा आस्थावान सम्पूर्ण नेता तथा कार्यकर्ताको साझा सम्पत्ति हो, चुनावमा जित हाँसिल गर्ने उम्मेदवारको मात्रै एकल प्रयासले आर्जेको सम्पत्ति होइन भन्ने कुरा उम्मेदवारले बुझेको हुनुपर्छ ।

उम्मेदवार नैतिक र चरित्रवान हुनु उत्तिकै आवश्यक छ । अनुहार फोहोर भयो भने अनुहार सफा गर्नुपर्छ, फेरी ऐनालाई दोष दिने विचार बोकेर जनतालाई झुक्याउने हेतुले चुनावी मैदानमा होमिनु हुँदैन । महंगी, कालो बजारी र महिला हिंसा जस्ता विकृतीको अन्त्य गर्ने सोच भएको हुनुपर्छ । अघिल्लो निर्वाचनमा जनता माझ गरेको बाचा कति पुरा भयो, त्यसको फेहरिस्ता जनताले खोजेको खण्डमा बुझाउन सक्ने गरी उम्मेदवार तयारी अवस्थामा हुनुपर्छ । जात जाति, भाषा, धर्म, संस्कृति,वर्ण, लिङ्ग, भौगोलिकता माथि आँच ल्याउने गतिविधि गर्ने उम्मेदवारलाई जनताले बहिस्कार गर्छन् । पार्टीको विधि, विधान र इतिहास बुझेर जनतालाई आफ्नो पार्टीको राजनीतिक, सामाजिक र आर्थिक उद्देश्य बुझाउन सक्ने व्यक्ती उम्मेदवार बन्नुपर्छ । झुट सुन्ने र सुनाउने र जनतालाई झुक्याउने सोच भएको उम्मेदवारको राजनीतिक भविष्य शुन्य छ । पदमा छंँदा देश र जनताका हितका कुरा गर्न त परै जाओस सोच्न सम्म पनि फुर्सद नहुनेले अब फेरी आफ्ना राम कहानी भाषण सुनाउने मनशायले उम्मेदवार हुने र चुनाव जित्ने सपना नदेख्दा हुन्छ।विदेशमा श्रम बेच्ने परिपाटीको अन्त्य गरी कृषिको व्यवसायिकरण, रोजगारी सृजना, औद्योगिक र कृषि उत्पादन बेच्ने परिपाटीको विकास अहिलेको आवश्यकता हो । सुशासन र समृद्धिलाई मूलमन्त्र मानेर काम गर्न सक्ने उम्मेदवारनै जनताको रोजाइमा पर्छ । पार्टीले उम्मेदवार छान्दा पनि हाम्रो भन्दा पनि राम्रो व्यक्तिलाई प्राथमिकता दिनुपर्छ ।

कुनै पनि नेताले आंँफूलाई उम्मेदवार प्रस्तुत गर्दै गर्दा आफ्नो पार्टीको  विचार, एजेण्डा, संस्कार र आंँफुले पार्टी प्रति गरेको त्याग, तपस्या र समर्पणको हिसाव प्रस्तुत गर्न सक्नुपर्छ । कुनै पनि दलले गुट उपगुटमा सक्रिय भै खुराफाती गर्ने व्यक्तिलाई कुनै पनि हालतमा उम्मेदवार बनाउनु हुँदैन । व्यक्तिवादी सोच र अहमता भएको व्यक्तिले उम्मेदवार हुने सोच त्याग्नुपर्छ । जनताको विचार र भावना अनुसार काम गर्न सक्ने र जनतालाई कहिँ कतै पनि अपमानित महसुस नगराउने व्यक्तिलाई उम्मेदवार बनाएमा मात्र मूलुकले सच्चा जनप्रतिनीधि पाउने छ । आम जनताले कुनै पनि पार्टीको अन्धभक्त बनेर कसैको पक्ष र विपक्षमा लाग्नुभन्दा योग्य र सक्षम उम्मेदवारलाई मतदान गरी समृद्ध नेपालको परिकल्पना साकार पार्नुपर्छ ।