पार्टी विधान विपरित उम्मेदवारबाट रकम असुल

भदौ १३, २०७९


स्मार्ट अखबार संवाददाता, स्याङ्जा
१३ भाद्र २०७९

नेपाली काँग्रेस स्याङ्जाका प्रदेश तथा क्षेत्रीय कार्यसमितिले पार्टी विधान विपरीत प्रदेश तथा संघीय निर्वाचनका आकांक्षी उम्मेदवारको नाम सिफारिस गर्दा रकम असुल गरेको खुलेको छ।

नेपाली काग्रेसको विधान २०१७ (संशोधन सहित) तथा नेपाली काग्रेसको नियमावली २०७६ को व्यवस्था बमोजिम पार्टीको क्रियाशील सदस्य तथा लाभको पदमा रहेका पार्टी सदस्यले पार्टीलाई बुझाउनु पर्ने सदस्यता शुल्क तथा सहयोग रकम बाहेक अन्य कुनै पनि किसिमको रकम लिन उठाउन नमिल्ने स्पष्ट व्यवस्था छ। तर पार्टीका क्षेत्रीय तथा प्रदेश कार्यसमितिले आसन्न प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य पदको निर्वाचनको लागि उम्मेदवारको नाम सिफारिस गर्दा संघको लागि प्रती उम्मेदवार १५ हजार रूपैयाँ र प्रदेशको लागि ११ हजार १ सय ११ रूपैयाँ रकम असुल गरिएको छ।

विभिन्न पदीय जिम्मेवारी र लाभको पदमा रहेका पार्टी सदस्यबाट विधान तथा नियमावली बमोजिम सम्बन्धित पार्टी निकायले लिनु पर्ने सदस्यता शुल्क तथा सहयोग रकम बाहेक उम्मेदवार सिफारिस गर्दा कुनै पनि तहको कार्यसमितिले कुनै पनि प्रकारको रकम माग गर्नु / उठाउनु विधान विपरितको कार्य हुने भएकोले त्यस्तो कार्य नगर्न नगराउन नेपाली काँग्रेस केन्द्रीय कार्य समितिका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले प्रदेश तथा क्षेत्रीय कार्यसमितिलाई निर्देशन समेत दिनुभएको छ।

पैसाकै कारण उम्मेदवारीबाट बञ्चित हुनुपर्ने स्थिति देखिएको काङ्ग्रेसकै नेता कार्यकर्ताले बताएका छन् । सबैभन्दा पुरानो प्रजातान्त्रिक पार्टीले आफ्नै विधान लत्याएर रकम असुल गरेर चुनाव अघि नै विधिको शासनको धज्जी उडाउन थालेको पार्टीकै निष्ठावान कार्यकर्ताहरूले गुनासो गरेका छ्न्।