रहस्यमय मन्दिर: नारायण गिरी मण्डली बाबा

पुष १२, २०८०


१२ पुस २०८०, बिहिबार

स्याङ्जा जिल्लाको भीरकोट नगरपालिका वडा नं. ९ मा दिगुवाको गुफाडाँडा भन्ने ठाउँ छ । त्यसको ठिक माथिपट्टि घना जङ्गल छ । टाढाबाट हेर्दा त्यो जङ्गल टोपी आकारको देखिन्छ । त्यसैले स्थानीयहरू यसलाई टोपी लगाएको वन पनि भन्छन् । वनभित्र एउटा मन्दिर छ, जसलाई नारायण गिरी मण्डली बाबा मन्दिर भन्दछन् ।

नारायण गिरी वास्तवमा गिरी नभएर गुरुङ थरका व्यक्ति थिए । उनको जन्म वि.सं. १८४३ मा स्याङ्जा जिल्लाको पिँडीखोलाअर्न्तगत ढुङ्गेखर्क भन्ने स्थानमा भएको थियो । उनी सानै देखि फरक स्वभावका मानिस थिए । उनको सम्पर्क एक जना जोगीसँग भयो । उनी तिनै जोगीबाट दीक्षित भए । एकदिन अकस्मात् उनलाई दिव्यज्ञान प्राप्त भयो । त्यसपछि उनलाई नारायण गिरीका नामले चिन्न थालियो ।

नारायण गिरी घर छाडेर हिँडे । उनी भीरकोटको दिगुवास्थित गुफाडाँडा भन्ने स्थानमा आए । उनी गुरुङ समुदायको भएका र त्यहाँ पनि गुरुङहरूको बाक्लो बस्ती भएका कारण स्थानीयले बस्ती नजिकै एउटा कुटी बनाइदिए । त्यसपछि उनी त्यहीँ बस्न थाले । त्यतिबेलासम्म उनी नारायण गिरी मण्डली बाबाका नामले प्रख्यात भइसकेका थिए ।

नारायण गिरी मण्डली बाबाको प्रतिमा तस्बिर: मोहन सुनार

मण्डली बाबाका अनौठा विशेषताहरू थिए, उनी कहिले काला वर्णका त कहिले राता वर्णका देखिन्थे । त्यतिमात्र होइन; उनले बाघ, खरायो, मृग, सर्प, कालिजजस्ता पशुपछीको रूप धारण गर्दथे । उनका यस्ता विशेषताहरू देखेर गाउँलेहरू आश्चर्यचकित हुन्थे । धेरैजसो गाउँले हरू भयभित हुन्थे । उनी कहिले जङ्गली कन्दमूलहरू खान्थे, त कहिले बस्तीहरूमा भीक्षा मागेर गुजारा गर्थे ।

वि.सं. १९१९ को त्यो दिन घाम निकै माथि आइसकेको थियो । गाउँलेहरू आफ्नो कामधन्दामा लाग्दै थए । यत्तिकैमा एकदिन एक जना गाउँलेले निकै चर्को स्वरमा कराउदै भन्यो, “गाउँलेहरू हो, मण्डली बाबा यो संसारमा छैनन्, उनी परमधाम भए। सबै जम्मा हुनुपर्यो ।”

सबै गाउँलेहरू मण्डली बाबाको कुटीमा जम्मा भए । उनको मृत देह देखेर कोही डराए, कोही दाहसंस्कार कहाँ गर्ने भनेर अन्योलमा परे ।

मण्डली बाबाले बेला बेलामा वर्ण फेर्ने र अन्य रूप धारण गरेका कारण कतिपय गाउँलेहरू उनको मृत्युपछि झनै डराए। उनीहरूले मण्डली बाबालाई मसान, बोक्सो, प्रेत भन्ने आरोप लगाए । उनको दाहसंस्कार नजिकै गर्न नहुने, बरु गाउँभन्दा टाढा गर्नुपर्ने निर्णय गरे ।

उधौंली पर्वमा मन्दिरको दर्शन गर्न पुगेका दर्शनार्थी तस्बिर : मोहन सुनार

मण्डली बाबाको दाहसंस्कार गाउँमाथिको थुम्कोमा गर्ने निर्णय भयो। मरेपछि दुःख नदिउन् भनेर उनको मृत देहलाई थुम्कोमा लगियो । उनको शरीर बराबरको खाल्डो खनियो । उनको शिरलाई उत्तर पारेर गाडियो। त्यहाँ एक पाथी कोइला, एक पाथी नुन र एक माना चामल राखेर माटाले पुरियो । यसरी दाहसंस्कार गरेपछि गाउँलेहरू निश्चिन्त भएर घर फर्के ।

केही दिनपछि गाउँमा अनिष्ट हुन थाल्यो। गोठालो हिँडेका गोठालाहरू नै हराउन थाले, गाईबाखाहरू मर्न थाले, बाँदर र असिनाले बालीनाली सखाप पार्न थाल्यो । गाउँलेहरूमा शान्ति भएन । सिङ्गो गाउँ नै कहिले शोकमा डुब्थ्यो भने कहिले अभावमा छट्पटाउँथ्यो ।

उधौंली पर्वमा मन्दिरको दर्शन गर्न पुगेका दर्शनार्थी तस्बिर: मोहन सुनार

दिगुवाकै एक जना भुईफुट्टा धामी थिए। एकदिन अकस्मात् उनमा देवता चढ्यो । देवता धामीमार्फत् बक्न थाले, “गाउँलेहरू हो, यो सबै अनिष्ट मैले नै गराएको हुँ। तिमीहरूले मेरो अपमान गयौ । मलाई मसान, बोक्सो भनेर आरोप लगायौ। म त एक बाल ब्रह्मचारी थिएँ । मानव हित र कल्याणका निम्ति यो धर्तीमा आएको थिएँ। तिमीहरूले मलाई चिनेनौ । यो सबै तिमीहरूको पापको परिणाम हो ।”

धामी बक्दै गयो, “मलाई गाडेकै स्थानमा एउटा मन्दिर बनाऊ, उँभौली र उँधौलीमा पूजाआजा गर, मेरो नित्य स्मरण गर, म तिमीहरूकै रक्षाका निम्ति सधैंभरि यहीं विराजमान भइरहने छु ।”

धामीको शिरमा चढेर बकेका मण्डली बाबाको सल्लाहअनुसार गाउँलेहरूले उनले भने अनुसार नै मन्दिर बनाइदिए । त्यहाँ धूमधामसँग पूजाआजा गरिदिए । त्यस दिनदेखि गाउँमा अनिष्ट हुन छाड्यो ।

त्यहाँ अहिले वडा नं. ८ र ९ का बासिन्दाको संयुक्त पहलमा सुन्दर मन्दिर बनाइएको छ ।

वडा नं. ९ को ठूली भञ्ज्याङ्गमा  गेट निर्माण गरेर मन्दिरसम्म जाने बाटो पनि व्यवस्थित गरिएको छ । वैशाख शुक्ल पूर्णिमा अर्थात् उँभौलीका दिन र मङ्सिर शुक्ल पूर्णिमा अर्थात् उँधौलीका दिन त्यहाँ भव्य मेला लाग्दछ । त्यहाँ गुरुङ थरका मानिस पुजारी हुन्छन् । कुखुरा, हाँस, पाठा, राँगो आदिलाई बलिका रूपमा चढाइन्छ ।

यो स्थान भीरकोटको धार्मिक महत्त्वका साथसाथै प्राकृतिक रूपमा पनि अत्यन्तै सुन्दर छ । जङ्गल सफारी, दृष्यावलोकन, पदयात्रा, वनस्पति तथा जडीबुटी अध्ययनका लागि पनि यो स्थान निकै महत्त्वपूर्ण रहेको छ ।

(साभार: साभ नेपालको सहजीकरणमा भीरकोट नगरपालिकाले प्रकाशन गरेको स्थानीय पाठ्यक्रममा आधारित  कक्षा ८ को पाठ्यपुस्तक  “हाम्रो भीरकोट“)