मुक्तिनाथ विकास बैंकद्वारा कर्जा मिनाहा तथा राहत वितरण

कार्तिक १८, २०७९


राम बहादुर रोकाहा 
१८ कार्तिक २०७९

विज्ञापन
बिज्ञापन

मुक्तिनाथ विकास बैंक लिमिटेड अर्जुनचौपारी शाखा कार्यालयले एक सेवाग्राहीले बैंकमा भुक्तानी गर्न रहेको कर्जा मिनाहा गर्नुका साथै राहत वितरण गरेको छ ।
“जनता बैंकमा होइन , बैंक जनतामा जानुपर्छ” भन्ने मुल नाराका साथ आधुनिक बैंकिङ , लघुवित्त र सिमित बैंकिङ एकै साथ संचालन गर्ने नेपाल कै पहिलो बैंक मुक्तिनाथ विकास बैंक लिमिटेड अर्जुनचौपारी शाखा कार्यालयको लघुवित्त डेस्कले एक कार्यक्रमबिच उक्त कर्जा मिनाहा गरिएको अर्जुनचौपारी शाखा कार्यालयका प्रमुख निर्मल मरासिनीले जानकारी दिनुभयो ।

स्याङ्जा जिल्ला अर्जुनचौपारी गाउँपालिका-१, रैते निवासी डिलमाया विश्वकर्माले मुक्तिनाथ विकास बैंक लि. अर्जुनचौपारी शाखा कार्यालयबाट लघुवित्त कर्जा अन्तर्गत साधारण कर्जा रु.१ लाख पचास हजार रुपैयाँ लिनुभएको थियो। उहाँको गत असोज ७ गते निधन भएकोमा निजको परिवारलाई बैंकले तत्काल काजकिरिया राहत खर्च बापत रु.७ हजार ५ सय प्रदान गरेको र दिवङ्गत विश्वकर्माले बैंकलाई तिर्न बाँकी रहेको सावाँ तथा ब्याज रु.६ हजार ७ सय समेत बैंकले मिनाहा गरेको शाखा प्रमुख निर्मल मरासिनीले बताउनुभयो ।

आज एक कार्यक्रमका बिच स्वर्गीय विश्वकर्माका आफन्तहरु , स्थानीय बुद्धिजीवी , भद्रभलादमीहरु, अर्जुनचौपारी गाउँपालिका-१ का वडा अध्यक्ष रण बहादुर थापा, मुक्तिनाथ विकास बैंक लिमिटेड अनुगमन कार्यालय स्याङ्जाका अनुगमन अधिकृत बालकृष्ण रेग्मी लगायतको उपस्थितिमा उहाँले बैंकलाई तिरिसकेको सावाँ र ब्याज गरि रु.१लाख ६६ हजार ५ सय २० , तिर्न बाँकी सावाँ र ब्याज रु.६ हजार ७ सय र निजको परिवारलाई काजकिरिया राहत खर्च रु.७हजार सय गरी जम्मा रु.१लाख ८० हजार ,७ सय बराबरको चेक हकवाला रहेका उहाँका श्रीमान् ठाकुर विश्वकर्मालाई हस्तान्तरण गरिएको अर्जुनचौपारी शाखा कार्यालय प्रमुख निर्मल मरासिनीले बताउनुभयो ।
उक्त कार्यक्रममा सोही वडाका वडाअध्यक्ष थापाले बैंकको “जनता बैंकमा होइन,बैंक जनतामा जानुपर्छ” भन्ने मुल नारालाई साच्चिकै सार्थकता दिएको र बैंकले नाफा मुखीभन्दा पनि सामाजिक कार्य गर्दै अर्जुनचौपारी गाउँबासीको सुखदुःख दुवैमा साथ दिँदै आएको कुरा जनाउँदै अब आउने दिनमा बैंकले सफलता तथा सामाजिक कार्यलाई निरन्तरता दिनेछ भन्ने अपेक्षा सहित शुभकामना व्यक्त गर्नुभएको थियो ।

त्यस्तै सोही कार्यक्रममा मुक्तिनाथ विकास बैंक स्याङ्जा शाखाका अनुगमन अधिकृत बालकृष्ण रेग्मीले बैंकका सामाजिक उत्तरदायित्व अन्तर्गतका सेवासुविधा तथा समग्र समसामयिक घटनाका बारेमा जानकारी गराएका थिए, शाखा प्रमुख मरासिनीले बैंकले संचालन गर्दै आएका सेवासुविधाका बारे समग्रमा जानकारी गराएका थिए भने कार्यक्रम सोही शाखा कार्यालयका कर्मचारी अर्जुन शर्माले संचालन गर्नुभएको थियो।