चुनाव जितेमा कुनैपनि सरकारी सेवा सुविधा नलिने घोषणा

बैशाख २३, २०७९


 

स्मार्ट अखबार संवाददाता
२३ वैशाख २०७९

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारहरुले आफ्ना चुनावी एजेण्डा र प्रतिबद्धता लिएर जनताको घरदैलोमा पुगीरहेका छ्न्।राजनीतिक दलहरूले, केन्द्रीय, स्थानीय र वडागत घोषणापत्र समेत तयार गरेका छ्न्। पार्टी र उम्मेदवारले चुनावी नतिजा आफ्नो पोल्टामा पार्न जनतालाई रिझाउन हर प्रयत्न गरिरहेका छ्न्।

यसैबिच भीरकोट नगरपालिकाका वडा नम्बर ६ का वडा अध्यक्षका उम्मेदवार रेशम प्रसाद रेग्मीले चुनावमा विजयी भएमा कुनैपनि सरकारी सेवा सुविधा नलिने घोषणा गर्नुभएको छ। रेग्मीले वडा अध्यक्षमा विजयी भएको खण्डमा सरकारी तलब भत्ता आफूले नलिई सम्पूर्ण रकम वडाको उपचार कोषमा मासिक रुपमा जम्मा  घोषणा गर्नुभएको हो।उक्त रकम विपन्न र असाहय नागरिकको उपचारमा खर्च गर्ने उहाँको योजना छ।यसैगरी उहाँले वडा अध्यक्षहरूले पाउँदै आएको सवारी सुविधा समेत नलिने घोषणा गर्नुभएको छ।



रेग्मीले वडा नं ६ मा रहेक श्री भाग्योदय माध्यमिक विद्यालयमा २५ वर्षसम्म प्रध्यानाध्यापक भै कुशलतापूर्वक आफ्नो कार्यकाल सम्पन्न गर्नुभएको थियो। उहाँले भन्नुभयो, “मैले प्राप्त गरेको ज्ञान, सिप, अनुभव तथा दक्षता लाई राजनीति मार्फत समाज सेवामा उपयोग गर्ने बाचा सहित चुनावी मैदानमा आएको छु।’’

“चुनाव जितेपछि वडाका जनताको लागि निशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने र सामुदायिक विद्यालयहरूमा निःशुल्क शिक्षा दिने कुरालाई प्रथामिकता दिनेछु”, उहाँले थप्नुभयो “समाजमा सार्वजनिक स्थलहरुमा जाँड रक्सी खाने, बेचबिखन गर्ने र होहल्ला गर्नेलाई प्रशासनसँग सहकार्य गरेर कारबाही गर्ने र वडाका धेरै स्थानमा सुरक्षित खानेपानीको समस्या रहेकाले त्यसको दीर्घकालीन समाधान गरी वडाबासीलाई स्वच्छ र सफा खानेपानीको सुविधा उपलबध गराउनेछु।”

 

रेग्मीले निर्वाचन जितेपछि नयाँ कार्यको थालनी गर्नुहुने भएको छ। वडाबासीलाई जन्मदिनको अवसरमा सार्वजनिक स्थलमा रुख रोप्न प्रोत्साहन गर्ने बताउँदै उहाँले वडा कार्यालय मार्फत विरुवा उपलब्ध गराउने योजना सार्वजनिक गर्नुभएको छ। त्यसैगरी वडामा मानिसहरु बाँदरदेखि आजित भएका कारण बाँदर नियन्त्रण गर्न उपकरण किनेर वडावासीलाई निशुल्क वितरण गर्ने प्रतिबद्धता समेत जनाउनुभएको छ ।

वडामा गुणस्तरीय शिक्षा प्रदान गर्न जुम मार्फत महिनाको एकपटक विद्यार्थीहरुलाई बाहिरी ज्ञान प्रदान गर्ने र समुदायमा पुस्तकालय निर्माण गर्ने रेग्मीले बताउनुभयो। रेग्मीले आफ्नो पहिलो प्रथामिकता वडावासीलाई स्वरोजगार बनाउने रहेको भन्दै, एक घर एक उद्यमशीलता विकास गर्नको दक्षता र क्षमता अनुसारको तालिम प्रदान गर्ने र उत्पादित वस्तुहरुको बजारीकरणमा समेत सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

“कृषि गर्दा रासायनिक मलको अभाव भएकाले घरमा कुहिने वस्तुलाई प्राङ्गग्रारिङ मलमा परिर्वतन गर्ने तालिम दिएर केही हदसम्म भएपनि रासायनिक मल समस्याको न्यूनिकरण गर्न सकिन्छ ’’उहाँले भन्नुभयो ।

अहिलेका नेताहरुले विकास भनेको सडक बनाउनेलाई मात्र मान्ने, जथाभावी तरिकाले खनिएको सडकले आउँदो पुस्तालाई समस्या पार्ने भएकाले नयाँ तरिकाले पुराना सडकहरुलाई नै मर्मत गर्ने रेग्मीको भनाइ छ ।

उहाँले भन्नुभयो, “कुनैपनि वडावासीहरुले सामान्य रोगबाट अकालमा ज्यान गुमाउन नपरोस् भनेर त्यसको लागि देशविदेशमा रहेका नेपाली मार्फत पैसा संकलन गरेर उक्त नगद वडाको उपचार कोषमामा राख्ने र हेल्थपोस्टमा गुणस्तरीय स्वास्थ सेवा प्रदान गर्न कम्तीमा एक डाक्टरको अनिवार्य व्यवस्थापन गर्ने छु ।’’

रेग्मीले वडाका युवाहरुकको लागि खेलमैदान निर्माण गर्ने र वडाबाटै खेलाडी उत्पादन गरेर राष्ट्रिय स्तरको खेलाडी उत्पादन गर्ने बताउनुभएको छ । त्यसका साथै रेग्मीले वडामा संचालन भएका आयोजनाहरुको लेखापरीक्षण नियमित गर्ने वा क्रस चेक गर्नुका साथै आफूलाई स्वयं खबरदारी गर्न प्रत्येक टोलबाट एकएक जनाको स्वतन्त्र खबरदारी टिम र सुझाव तथा सल्लाहकार टिम बनाउने बताउनुभएको छ।