उद्यममीसँगै वातावरण संरक्षक बनेका ‘माहुरी बाजे’

असोज १०, २०७९


१० असाेज २०७९
रबि थापा

“यदि पृथ्वीबाट माहुरी लोप हुन्छन् भने त्यसको चार वर्षपछि पृथ्वीको अस्तित्व रहने छैन्,” वैज्ञानिक अल्बर्ट आइस्टाइनको भनाइले विश्वमा माहुरीको महत्व कति छ भन्ने झल्काउँछ ।

अहो अंकल चिटिक्क परेको घारमा माहुरी पो पाल्नुभएछ, होइन यो घार कहाँबाट ल्याउनु भएको हो ? ए नानी दक्ष तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको, चिउरीखर्क माहुरी घार उद्योगबाट ल्याएको हो नि । घारमात्र होइन माहुरी पनि त्यैंबाट ल्याएको हो नि ।” एफएम  रेडियोमा यो विज्ञापन बजेको आठ वर्ष पुगिसकेको छ । यस विज्ञापनबाट आफ्नो माहुरी पालन व्यवासायले सफलता पाएको बताउँछन्, स्याङ्जा भीरकोट नगरपालिका–७ चिउरीखर्कका, रत्नबहादुर गुरुङ ।

गुरुङ माहुरीपालन व्यवसायमा लागेको १७ वर्ष पुग्यो । उनको माहुरीसँगको सामान्य साक्षात्कार अहिले पूर्णरूपमा व्यावसायिक बनेको छ । आफै उनको घर आइपुगेका दुई घार माहुरीबाट विस्तार गर्दै १० घारबाट व्यावसायिक माहुरी पालन सुरु गरेका गुरुङ ९५ घारबाट मह उत्पादन गरिरहेका छन् । उनले वार्षिक १८ लाख कमाइ गर्दै आएको बताउँछन् । सामान्य परिवारमा जन्मेका गुरुङले पहिले सिकर्मी थिए । सिकर्मीको काम गर्दा दैनिकी छाक टार्नसमेत हम्मे पर्ने समस्याबाट गुज्रेका उनी अहिले गाउँमै बसेर वार्षिक लाखौं कमाउँछन् । माहुरी बाजे भनेर सबैले सम्मान पनि गर्छन् ।

माहुरी बाजेकाे माहुरी फार्म ।

परम्परागत माहुरी घारबाट आधुनिक माहुरीपालन उद्यमसम्म

अरुको घरमा सिकर्मीको काम गर्दै हिँड्दा उनको घरमा दुईवटा घार माहुरी थियो । त्यो पनि कताबाट उडेर आएर घरमा बसेका माहुरीलाई घारमा राखेर पालेका थिए उनले । सामान्य दिनचर्या चलिरहेको थियो, एकदिन अचानक उनको खाली घारमा माहुरी आएर बसे । माहुरी भनेपछि हुरुक्कै हुने रत्नबहादुर त्यो देखेपछि एकदमै खुसी भए ।

केही वर्षसम्म त्यही खोपे घार र मुरे दुई घारमा माहुरी पालेको अनुभवले रत्नबहादुरलाई सिकर्मी काम छाडेर माहुरी व्यवसायमा होमिन मन लाग्यो । त्यसपछि उनको कानमा स्याङ्जा जिल्ला कृषि विकास कार्यालयबाट अनुदानमा आधुनिक माहुरी घार वितरण गर्ने समाचार पुग्यो । आधुनिक घार भनेको के हो त्यतिबेला केही थाहा नभएको उनी बताउँछन् ।

बिज्ञापन

जिल्ला कृषि विकास कार्यालयले जिल्ला भू–संरक्षण कार्यक्रम ल्याएको रहेछ । बाढीपहिरो रोकथाम, वृक्षरोपण कार्यक्रम, खानेपानीको योजनामा काम गर्ने उक्त कार्यक्रमले गरिब जनतालाई आयमूूलक कार्यक्रम भनेर माहुरीको घारहरू पनि वितरण गर्ने थाहा पाए । त्यसपछि रत्नबहादुर गाउँमै माहुरी पाल्ने योजना बुन्न थाले ।



जिल्ला भू–संरक्षणले २० वटा घार २० जना व्यक्तिलाई चार दिनको तालिमसहित दिने भयो । तालिममा सहभागी केही किसानले यसलाई झन्झटिलो माने र १० जना जनाले मात्र त्यो घार अनुदानमा किने । बाँकी १० घार पनि आफैले लिए । संयोग यस्तो जु¥यो, तालिम दिने प्राविधिक काठमाडौं फर्कने बेला जनआन्दोलन सुरु भयो ।

रत्नबहादुर भन्छन्, “प्राविधिक करिब एक महिन जति मेरो घर बस्नुप-यो आन्दोलनका कारण, त्यो एक महिनासम्म मैंले माहुरीलाई चाहिने वातावरणदेखि हरेक ज्ञान लिन पाएँ ।” मलाई हौसला मिल्यो ।

थोरै लगानीमा मनग्य आम्दानी

अनुदानको घारबाट माहुरी पाल्न सुरु गरेका गुरुङले अहिले ९५ घारमा माहुरी पालन गरिरहेका छन् ।  माहुरीको रेखदेख तथा घारको निरीक्षण उनको दैनिकी बनिसकेको छ । अरु कृषि कार्यका तुलनामा माहुरी पालन व्यवसाय सहज भएको उनी बताउँछन् । “बाख्रा, भैंसी पालेको भए घाँसदेखि कुँडो पकाउनेको झन्झट हुन्थ्यो, काम गर्ने मानिसहरू बढी राख्नुपर्थो तर माहुरी व्यवसाय गर्न निकै सहज भएकाले मैले जम्मा दुईजना राखेर सहज रूपमा काम गरिरहेको छु,” धेरै जनशक्ति राख्दा कमाई पनि बाडिन्थ्यो तर थोरै मानिसले नै चलाउन सक्ने व्यवसाय भएकाले वार्षिक १८ लाखसम्म आम्दानी भएको उनी बताउँछन् ।

माैरीकाे घार वितरण गरिँदै ।

आफूले सिकेको सीप अरुलाई सिकाउँदै

रत्नबहादुर आफूले सिकेको सीप अरुलाई हस्तान्तरण गर्ने कार्यलाई पनि प्राथमिकतामा राखेका छन् । अन्य १० जनाले त आफूले जस्तै माहुरी फार्म सञ्चालनमा ल्याएको बताउँछन् । “मैले १० हजारको दरले माहुरीको घार बेच्ने गरेको छु, यदि कुनै व्यक्तिले १० वटा घार किन्यो भने माहुरीको घारसँग मह निकाल्दा चाहिने पन्जा, टोपी, अहारा दिने भाँडालगायत माहुरी कसरी पाल्ने भन्रे विषयमा तालिम र ढुवानी खर्च आफैले दिने गर्दै आएको छु,” उनले भने । गाउँलेहरूले सुरुसुरुमा धेरै कुरा पनि काटे । यो यसो नगर तेरो जीविकोपार्जन हुँदैन माहुरी व्यवसायबाट भने । तर हार खाएनन् ।

“त्यो बेला नै कुरा काटे भनेर हरेस खाएर बसेको भए आज यो अवस्थामा आउने थिइन,” उनी सुनाउँछन्, “संघर्ष गरेर काम गर्दा कुरा काट्ने मान्छे धेरै हुँदा रहेछन् । कतिले माहुरी दिएको घरमा माहुरी भागे गतिलो खोले माहुरी रहेनछ भनेर कुरा पनि काटे तर म हरेस खाइन ।” विस्तारै उनले कुरा काट्ने भन्दा पनि प्रशंसा गर्ने मान्छे बढी भेटेको बताए । अहिले गाउँलेहरू कसरी माहुरी पाल्ने भनेर परामर्श पनि लिन आउने गरेको उनको अनुभव छ ।

विज्ञापन

कोरोनाका कारण विदेशिएका कति नेपाली घरमै आएर बस्नुपर्ने अवस्था आएको छ । तर नेपालमै कति धेरै बाटा छन् पैसा कमाउन । “अचेल मलाई त के लाग्छ भने माहुुरी पाल्न सहज जस्तो अरु केही लागेको छैन किनभने बाख्रा पाल्ने भने खोर बनाउन प-यो, चराउने ठाउँ, घाँस काट्नुपर्‍यो जस्ता विभिन्न झन्झट बेर्होनुपर्छ तर माहुरीका लागि त १० वटा घार किनेर एउटा राम्रो व्यवसाय सञ्चालन गर्न सकिन्छ,” उनले थपे । वार्षिक ५० देखि एक सय किलो मह उत्पादन गर्दै आएका उनले यही महिनासम्म दुुई सय घार पु¥याउने र एक सय घार बिक्री गर्ने सक्ने बताउँछन् गुरुङ।

तालिम दिँदै, व्यवसाय बढाउँदै

गुरुङलाई यतिबेला माहुरी व्यवसायसम्बन्धी तालिम दिन भ्याई नभ्याई भएको छ । आफूले माहुरी व्यवसाय सुरु गर्दा केही थाहा नपाएका उनलाई आज पालिकामा माहुरीको तालिम दिन बोलाएको बताउँछन् । उनले भने, “अहिले मेरो माहुरी व्यवसायबाट धेरै पालिकाले अनुदानमा वितरण गर्नका लागि भनेर माहुरी किनेर लान्छन्, अरुलाई तालिम दिँदा मैले आफ्नो विगतका संघर्षका दिन निक्कै याद गर्छु,” उनले बताए । उनलाई माहुरी उद्यमी भनेर सबैले चिन्दा, कृषिका कार्यक्रममा बोलाएर धेरै ठाउँमा धेरै पटक सम्मान गर्दा आफू सही काममा लागेको महसुस गर्छन् ।

उनले माहुरीसहितको घार नौ हजार र खाली घार चार हजार र माहुरीमात्रै प्रतिगोला पाँच हजारमा बिक्री गर्दै आएका छन् । लानेले पनि खुसी भएर लान्छन्, व्यवसाय बढाउँछन् । उनको तालिमले धेरै युवाले माहुरी पालनमा संलग्न भएर आम्दानी गर्न थालेकोमा उनी थप मख्ख छन् ।

“अहिले बजारमा शुद्ध माहुरीका मह पाउन निकै कठिन छ, मैले त्यस्तो तरिकाले मह बेच्ने काम गर्दिन शुद्ध मह बजारको मूूल्यमा भन्दा सस्तोमा बिक्री गर्छु,” उनी भन्छन् । गुरुङको घरको बार्दली, झ्याल, घरपछिको करेसा बारीलगायत वरिपरि सेरेना जातको माहुरीका सेताम्मे घार देख्न सकिन्छ । असोज, कात्तिक, मंसिरमा माहुरी विभाजन र चैत, वैशाख, जेठ महिनामा मह निकाल्ने उपयुक्त समय मानिन्छ । सिकर्मीको अनुभवसमेत रहेको गुरुङसँग आफ्नै फर्निचरबाट माहुरीका घारहरू निर्माण गर्दै आएका छन् । माहुरीको घारका लागि सिमल, मेवा, उत्तिसजस्ता रुखहरू उपयुक्त हुने र गाउँगाउँमा गएर माहुरी नभएका फालिएका घारहरू ल्याएर मर्मत गरेर प्रयोग गरेको गुरुङ बताउँछन् ।

माहुरी बाजेकाे फार्म ।

पर्यावरण बचाउन माहुरी 

“यदि पृथ्वीबाट माहुरी लोप हुन्छन् भने त्यसको चार वर्षपछि पृथ्वीको अस्तित्व रहने छैन्,” वैज्ञानिक अल्बर्ट आइस्टाइनको भनाइले विश्वमा माहुरीको महत्व कति छ भन्ने झल्काउँछ । पृथ्वीमा अस्तित्वमा रहेका ९० प्रतिशत बोटविरुवा माहुरीको परागसेचनका कारण बाँचेका हुन्छन् । माहुरी हराउँदै जाँदा परागसेचनमा समस्या आउने भएकाले बोट बिरुवाको अस्तित्व संकटमा पर्छ ।

हिमाल, पहाडमा रहेको लालीगुँराँस बचाउन मौरीको भूमिका बढी छ, भीरमाहुरी जलाएर मह काढ्ने प्रवृत्तिले माहुरी सकिँदा ३६ प्रतिशत लालीगुँरास यसै मरेर जाने गरेको मौरीविज्ञ डा. रत्न थापाको भनाइ छ । “हामीले खाने हरेक तीन चम्चामा एक चम्चामा मौरीको परागसेचनको हिस्सा छ, मौरी बचाएनौं भने खाद्य संकटमात्र हैन वातावरण नै उथलपुथल हुन्छ,” उनले भने ।

विश्वभर विषादीको बढ्दो प्रयोग र अनियन्त्रित भीरमाहुरी सिकारका कारण विश्वभर नै माहुरीको संख्या घट्दै गएको छ । विश्वभर २० हजार प्रजातिका मौरीले एक लाख ७० हजार प्रजातिका बिरुवालाई परागसेचन गर्ने गरेको तथ्यांक छ । नेपालमा करिब दुुई लाख गोला माहुरी रहेको अनुमान छ । एउटा गोलामा ३० देखि ४० हजार माहुरी हुन्छन् । नेपालमा लोकल जातका सेरेना माहुरी र विकासे जातका मेलिफेरा माहुरी घर पालुवा माहुरी हुन् भने भीरमाहुरी र कठौरी जातका जंगली माहुरी जंगलमा पाइन्छन् ।

करिब एक लाख २० हजार सेरेना र ५० हजारको संख्यामा मेलिफेरा रहेको र भीरमाहुरीको संख्या १० देखि १२ हजारको संख्यामा रहेको तथ्यांक छ । संयुक्त राष्ट्र संघले मे २० लाई हरेक वर्ष अन्तर्राष्ट्रिय मौरी दिवसका रूपमा मनाउँदै आएको छ । यी सब खबरबाट बेखबर गुरुङजस्ता किसानहरू माहुरी पालनसँगै विश्व पर्यावरणको संरक्षणमा पनि लागि रहेका छन् ।