श्रीकृष्ण जन्माष्टमीको महत्त्व

भदौ १९, २०८०


१९ भाद्र २०८०, मंगलबार

“यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत” अर्थात जब जब भारत वर्षमा धर्मको नाश हुन्छ तब रक्षा गर्नको लागि भगवानले मानवको अवतारमा जन्म लिनु हुन्छ। लोकमा अधर्म बढ्दै जाँदा भगवानले विभिन्न रूप लिने परम्पराअनुरूप कंसलगायत दानवको अन्त्यका लागि भगवान बिष्णुले कृष्णको रूप लिएको बताइन्छ ।

कंसको कालकोठरीमा वासुदेव र देवकीको पुत्रका रूपमा जन्मिएका कृष्णले मथुरामा देखाएको बाललीला र महाभारत युद्धअघि अर्जुनलाई दिएको गीताज्ञान प्रख्यात छ । विष्णु भगवानको आठौँ अवतारको रूपमा भगवान श्री कृष्णको जन्मदिनको अवसरमा हिन्दूहरूले मनाउने वार्षिक पर्वलाई कृष्ण जन्माष्टमी भनिन्छ। कृष्णा जन्माष्टमी पर्व हिन्दू धर्मावलम्बीहरूले भगवान श्री कृष्णको पूजा-आराधना गरी श्रद्धा-भक्तिपूर्वक मनाउँछन् ।

जनस्वास्थ्यका लागि स्मार्ट अखबारद्वारा जनहितमा जारी
बिज्ञापन

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापरयुगमा हिन्दू पञ्चाङ्ग अनुसार भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले उक्त दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्री भनिन्छ । जन्माष्टमीका दिन देशभरीका कृष्ण मन्दिरहरूमा भगवान् श्रीकृष्णको पूजा-आराधना, प्रवचन, भजन-कीर्तन गरिन्छ । साथै विशेषगरी महिलाहरू व्रत बसी रातभर जाग्राम बस्ने चलन छ । अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट मानवमात्रको संरक्षण गर्न भगवान् विष्णुको आठौँ अवतारको रूपमा जन्मेका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए। कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा संलग्न पाण्डवहरूमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयं उनका मुखारविन्दबाट व्यक्त श्रीमद्भागवत गीता हिन्दूहरूको पवित्र ग्रन्थ मानिन्छ। बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाएका श्रीकृष्णले पुतना, कंस, जरासन्ध, शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गरेका थिए। जन्माष्टमीमा पाटनको मंगलबजारस्थित प्रसिद्ध कृष्ण मन्दिरमा ठूलो मेला लाग्छ। यसै उपलक्ष्यमा काठमाडौंलगायत मुलुकका विभिन्न नगरका विभिन्न धार्मिक सङ्घ/संस्थाहरूद्वारा श्रीकृष्णको झाँकीसहित शोभायात्रा निकालिने चलन छ। भारतमा समेत विभिन्न समुदायका हिन्दू धर्मावलम्बीहरू कृष्णाष्टमी हर्षोल्लासका साथ मनाउने गर्छन् ।