ऐनले हरेको त्यो सपना

साउन २१, २०८०


२१ साउन २०८०

भाषण सुनेर आएको त्यो दिन, मन हर्षले गद्’गद थियो । ‘जाबो मास्टर’ भन्दै हेप्ने टोले सदस्यको मुख बन्द हुने भयो । ‘अब निजामतीतिर गइनस् ?’ भन्ने दिनहुँ आमाको गनगन बन्द हुने भयो । ‘स्याबास ! छोरा ।’ भन्दै गर्वले शिर उँचो बनाउँदै हिँड्ने दिन आउने भए भन्दै थिएँ ।

उमेरले नेटो कटुन्जेल पुस्तकका ठेली निलेर विद्यार्थी सामु जोसिलो प्रस्तुति पस्केर म साइकलमा हिँड्ने भए पनि हावामा उड्न सक्ने बनाउनु मेरो दायित्व थियो । ‘यावत् समस्याको छु मन्तर गर्ने शिक्षा ऐन’ पर्खेको थिएँ मैले । त्यही सम्झदै, ‘छि ! मेरो पेशा।’ भन्ने मस्तिष्कको तरङ्गलाई निस्तेज पार्दै थिएँ म ।

“अब त शिक्षा ऐन आउँछ । अनि महिना मर्ने बित्तिकै सागको पैसा तिरौँला ।” भन्दै साँहिला काकालाई सम्झाउँदै थिएँ । “अठार वर्षबाट एउटै तह, श्रेणी हुने जागिर पनि खाने हो ?” भन्दै गिज्याउने पञ्च वर्षीय बढुवाको वरदान प्राप्त ओखतीका हाकिमलाई; मान, मर्यादाबिनाका खेताला भन्दै थर्काउने स्वयम् साक्षर घोषित विकासे अध्यक्षलाई; निलोडोरे सर्ट पाइन्ट देख्ने बित्तिकै स्पिड बढाउने ड्राइभर काकालाई; “यी त चार महिने हुन् ।” भन्दै उधारो नपत्याउने साहुजीलाई; सबै सबैको नकारात्मकतालाई छिनाउने एउटै ‘सुदर्शन-चक्र’ त्यही ऐन सम्झदै थिएँ ।

एका बिहानै गाइँगुइँ चल्न थाल्यो । शैक्षिक क्षेत्र सुधारका लागि शैक्षिक व्यक्तिहरूलाई थाहै नदिई ल्याइएको ऐन सर्वत्र पुगिसकेछ । घरबाहिर ठूलै जमात वर्षौंदेखिको मेरो सपना, मेरो पेशा प्रति गौरव गर्न लायक अक्षरहरू पटक पटक पढ्न पाइएलान् भन्ने मेरो अभिलाषामा निकै ठूलो बज्रपात परेछ । मेरा सारा सपना त्यही सपनामा गएर आयो । शिखर चुम्ने खुसीका लहर चकनाचुर भएर आयो ।

नयाँ ऐनले झन् तलुवामा पारेजस्तो; कुनै दिन दोषी चस्माले गर्दा ‘जदौ’ भन्न भुलेका विकासे दाइले छुट्टी गरिदिन मिल्ने; जोस, जाँगर, बुद्धि र विवेक सबै हरिदिन मिल्ने; मान, मर्यादा, बढुवा, सबै डुबेजस्तो; ऐन देख्दै निराशाले मन सुके जस्तो । उबेलाको अठ्ठाइसे बरु तत्कालीन समयमा विशिष्टताले भरिएको तर अहिले जसले लेख्यो उसैलाई ‘कक, नन’ गराउनेलाई गरेको सम्मान यही हो ? धर्ती मातालाई अपमानित गरेर उम्रेको बिरुवा कस्तो होला ?