कालिगण्डकीमा निशुल्क स्वास्थ्य बिमासँगै निःशुल्क उपचार

असार १०, २०८०


स्मार्ट सम्वाददाता, कालिगण्डकी

१० असार २०८०,आइतबार

जनस्वास्थ्यका लागि स्मार्ट अखबारद्वारा जनहितमा जारी

स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले आफ्ना नागरिकको निःशुल्क उपचार गर्ने भएको छ। आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा स्वास्थ्यलाई विशेष प्राथमिकतामा राखिएको गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले बताए। अध्यक्ष थापाले  गाउँपालिकाले  सञ्चालन गरेको मिर्मीस्थित कालीगण्डकी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गरिने जानकारी दिए । यसअघि नै पालिकाभरिका सबै परिवारका सदस्यको गाउँपालिकाले निःशुल्क स्वास्थ्य बिमा गर्दै आएको छ। गाउँपालिकाले खर्च बेहोरेर निःशुल्क बिमा गर्ने क्रमलाई निरन्तरता दिँदै आएको अध्यक्ष थापाले  बताए ।

विज्ञापन

आर्थिक अवस्था कमजोर भएका गाउँपालिकाभित्रका सबै नागरिकको उपचार निःशुल्क हुने छ। आवश्यक बजेटको व्यवस्था गरेर आगामी आर्थिक वर्षदेखि नै यो कार्यक्रम लागु गरिने थापाले बताए। अध्यक्ष थापाका अनुसार विभिन्न महामारीका अतिरिक्त क्यान्सर, मिर्गाैला फेल, मुटु रोग जस्ता दीर्घ रोगलेसमेत  त्रसित नागरिकले   महसुस गर्ने गरी गाउँपालिकाले कार्यक्रम तय गरेको छ।

कालीगण्डकी अस्पतालबाट  विशेषज्ञ सेवा, अनुसन्धानात्मक कार्यसहित थप सेवाको विस्तार गर्ने, रोकथाम, निदान र पुनस्र्थापना सेवालाई सहज र नियमित गरिने नीति तथा कार्यक्रममा उल्लेख छ। सबै सेवालाई आधुनिक र विद्युतीय प्रविधिका रूपमा विकास गरिने पालिकाको योजना छ।

यस्तै सामुदायिक विद्यालयका सबै विद्यार्थीको नियमित स्वास्थ्य परीक्षणको व्यवस्थासमेत पालिकाले गरेको छ। “अध्यक्षसँग निःशुल्क औषधी कार्यक्रम,”  संगसंगै शून्य होमडेलीभरि गराउन प्रत्येक गर्भवतीलाई अस्पतालसम्म आउन निःशुल्क एम्बुलेन्सको व्यवस्था मिलाउने नीति अवलम्बन गर्ने पालिकाले जनाएको छ। गर्भवती, शिशु, बालबालिका, किशोर रअपाङ्गता भएका व्यक्तिलाई पोषणको स्थितिमा सुधार ल्याउने कार्यक्रम सञ्चालन गर्ने गरिने अध्यक्ष्य थापाले बताए ।मानसिक रोगका बिरामीका लागि संरक्षण गृह, ज्येष्ठ नागरिकलाई दिवा सेवा तथा मिलन केन्द्र जस्ता संस्थागत संरचना स्थापना तथा सञ्चालन गर्ने नीति लिएको नीति तथा कार्यक्रममा उल्लेख छ।