जैविक विषादी तथा झोल मल बनाउने तालिम सम्पन्न

भदौ ०५, २०७९


स्मार्ट अखबार संवाददाता
५ भाद्र २०७९

भीरकोट वडा नं ६ मा एक दिने जैविक विषादी तथा झोल मल बनाउने तालिम सम्पन्न भएको छ। हरित पुनरुत्थान तथा कोभिड १९ प्रतिकार्य परियोजना अन्तर्गत युएनडिपि र नगरपालिकाको आर्थिक सहयोग, अन्धाअन्धी सामुदायिक विकास केन्द्र स्याङ्जाको व्यवस्थापनमा संचालन भएको तालिममा नगरपालिकाका वडा नं १,६ र ७ का ३३ जना कृषकहरूको सहभागिता रहेको थियो। तालिममा सहभागिहरूलाई प्रशिक्षक डासीनारायण अर्यालले प्रशिक्षण दिनुभएको थियो।

सहभागीहरूलाई असुरो, कालोपाती, तितेपाती, असुरो, खिर्रो, बकाइनो, जलुका, खरानी, आलो गोबर, पशुमुत्र प्रयोग गरि जैविक विषादी तथा झोल मल बनाउने तालिम दिइएको थियो। जैविक वनस्पति तथा पशु मलमुत्र प्रयोग गरि बनाइने जैविक विषादी तथा झोल मल जाडोमा ३०/३५ दिन र गर्मीमा २०/२२ दिन राखेपछि प्रयोगका लागि योग्य हुने प्रशिक्षक अर्यालले जानकारी दिनुभयो।

वडा नं ६ का वडा अध्यक्ष लक्ष्मण खत्री अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बोल्दै नगर प्रमुख कर्माचार्यले रासायनिक मलले उर्वरा शक्ति नष्ट गर्ने भएकाले जैविक मल तथा विषादीको प्रयोगलाई प्राथमिकतामा राख्न आवश्यक भएको बताउनुभयो।पर्यावरण, उत्पादन र स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्ने भएकाले जैविक विषादीलाई सबै किसानले प्रयोग गर्नुपर्ने उहाँको भनाई थियो।