आफुलाई एक सक्षम नगर प्रमुखको सम्भावित उम्मेदवार ठानेकी छु
स्थानीय जनप्रतिनिधिहरूको कार्यकाल सकिनै लागेको छ। आगामी वैशाख ३० गते स्थानीय तहको चुनाव हुँदैछ।राजनीतिक दलहरू चुनावी गतिविधिमा लागिसकेका छ्न्।राजनीतिक दल र जनप्रतिनिधिहरू आफ्नो पार्टी वा आफ्नो कार्यकालमा भएका राम्रा कामहरूको चर्चा गर्नमा व्यस्त छ्न्।यसै सन्दर्भमा आउँदै गरेको चुनाव, स्थानीय सरकार संचालनमा सहभागी हुँदाको अनुभव, अवसर चुनौती, उपलब्धि लगायतका विषयमा स्मार्ट अखबार डट कम का प्रधान सम्पादक नारायण प्रसाद कोइरालाले भीरकोट नगरपालिकाका नगर उपप्रमुख सिमा के.सी. कर्माचार्यसँग कुराकानी गर्नुभएको छ। प्रस्तुत छ नगर उपप्रमुख कर्माचार्यसँग गरिएको कुराकानीको सम्पादित अंश:
१) नगर उपप्रमुख ज्यू,नमस्कार, आराम हुनुहुन्छ ?
हजुर नमस्कार । आराम छु ।
२) निर्वाचनको घोषणा भैसकेको छ । अब कार्यकाल केही महिना मात्रै बाँकी छ। नगर उपप्रमुख निर्वाचित हुदाँ नगरको समृद्धि र विकासका निम्ति हजुरले देखेका सपनाहरु के-के थिए? कति पुरा भए ?
म २०७४ साल वैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनमा निर्वाचित हुँदै गर्दा मैले नगरको समृद्धि र विकासका निम्ति जनताहरु माझ राखेका योजनाहरु लगभग ९० प्रतिशत पुरा भएका छन् । नगरपालिकाको भौतिक विकासका संरचनामा नगरपालिकाको प्रशासकीय भवन, स्वास्थ्य चौकी, आधारभुत शहरी स्वास्थ्य केन्द्र स्थापना र भवन निर्माण, विद्यालय भवन निर्माण, केही सडक कालोपत्रे गर्ने काम सम्पन्न भैसकेको छ। म महिला भएको नाताले गर्भवती महिलाहरुलाई अण्डा वितरण गर्ने कार्यक्रम,महिलाहरुलाई सीपमुलक,चेतनामुलक तालिम मार्फत सचेत र सक्षम बनाउने लगायतका काम पुरा गरे जस्तो लाग्छ ।
३) उपप्रमुख स्थानीय तहको न्यायपालिकाको प्रमुख हुन्छ। न्याय सम्पादनमा के कस्ता चुनौती र अवसरहरु अनुभव गर्नुभएको छ?
म स्थानीय तहको न्यायपालिकाको प्रमुख हुँदै गर्दा न्याय सम्पादनमा यो मेरो पहिलो अभ्यास हो । यसमा चुनौती त पक्कै रहे । ऐन कानुनमा व्यवस्था भएका कुराहरुलाई कागजीरुपमा व्यवहारमा ल्याउन बाधा व्यवधान आइ नै पर्दा रहेछन् । फेरि हामी राजनैतिक गर्ने तहका नेताहरुलाई अलि गाह्रै विषय जस्तो लाग्यो । त्यही पनि धेरै जसो जग्गाका साँधकिला र महिला दिदी बहिनीहरुको सम्बन्ध विच्छेद जस्ता समस्याहरु हाम्रो न्यायिक समितिमा दर्ता भएका थिए । मेलमिलाप र सहजीकरणको माध्यमबाट समाधान गरियो । कारबाही नै गर्ने किसिमले कसैलाई त्यस्तो दण्ड सजाय गरिएन । यसरी हेर्दा एउटा न्यायालयले सम्पादन गर्ने काम हामीले सम्पादन गर्न पाउनु भनेको सिक्ने अवसर पाए जस्तो लाग्छ ।
४) हरेक निर्णय निर्माण र कामकारबाहीमा नगर प्रमुखलाई नै विशेष जिम्मेवारी र स्थान दिइएको पाइन्छ । यसलाई हजुरले कसरी लिनु भएको छ ?
हाम्रो समाजको पितृसत्तात्मक संस्कारको सोचाइले गर्दा हजुरलाई त्यस्तो लागे होला । अन्यत्र यस्तो अभ्यास भए होलान् तर हाम्रो पालिकामा यस्तो छैन । हरेक निर्णय निर्माण र कामकारबाहीमा हामी सबैको भुमिका समान छ । हाल सम्म मैले नगर प्रमुख ज्यूबाट त्यस्तो हस्ताक्षेप गर्नु भएको पाएकी छैन ।
५) बालमैत्री नगर भीरकोटमा महिला र बालबालिकाको अवस्था कस्तो छ ? महिला जनप्रतिनिधिहरुलाई नगरको निर्णय प्रक्रियमा कत्तिको सहभागी गराइन्छ?
हाम्रो नगरपालिका गण्डकी प्रदेशमा दोस्रो र जिल्लामा पहिलो बालमैत्री नगरपालिका हो।जहाँ सम्म बालबालिका र महिलाहरुको अवस्थामा पहिलाको तुलनामा धेरै सुधार आएको छ । बालश्रम न्यूनिकरण, बालहिंसा र बालविवाह लगायत महिलामा हुने घरेलु हिंसा जस्ता सामाजिक कुरीति कुसंस्कारहरु संचेतनाबाट असाध्यै कम भएको छ । नगरकार्यपालिका, वडा विकास समिति र नगरसभामा हामी महिलाहरु निर्णय प्रक्रियामा डटेर आफ्ना कुरा राख्न सक्छौं । हरेक क्रियाकलापमा हाम्रो उपस्थिति र सहभागिता मात्रै नभएर हामीले माग गरेका एजेण्डाहरु पारित गर्न सफल भएका छौं ।
६) पितृसत्तात्मक सामाजिक सोच र व्यवहारले गर्दा महिलालाई जहिले पनि पछाडि पार्ने गरिन्छ । दोस्रो दर्जाको नागरिकलाई जस्तो व्यवहार गरिन्छ हजुरले के कस्ता चुनौतीहरुको सामना गर्नु भएको छ ?
मैले पुरानो राज्यसत्ताको पनि अलिअलि अनुभव गर्ने मौका पाएँ । त्यस समयमा महिलाहरुलाई धेरै पछाडी पारिन्थ्यो ।साच्चिकै दोस्रो दर्जाको नागरिकलाई जस्तो व्यवहार गरिन्थ्यो । जब तँपाई हामी मिलेर देशमा प्रजातन्त्र सहित लोकतान्त्रिक गणतन्त्र ल्यायौं नि त्यसपछि यस्तो अवस्था छ जस्तो लाग्दैन ।
७) हजुरको अनुभवमा भीरकोटको विकासमा देखिएका मुख्य समस्याहरु र समाधानका उपायहरु के के हुन्?
मैले यस भीरकोट नगरपालिकाको उपप्रमुखको जिम्मेवारीमा लगभग अब ५ बर्ष बिताएँ । मेरो विचारमा यस नगरपालिकाका धेरै समस्याहरु अझै ज्यूँका त्युँ छन् । मोटरबाटो हाललाई प्रत्येक टोलटोलमा ट्रयाक मात्र खोल्ने काम भएका छन् । तिनीहरुको स्तरोन्नति गर्ने काम बाँकी छ। पर्यटनको विकास गरेर आयस्रोत वृद्धि गर्न सकिन्छ। संघीय सरकार, प्रदेश सरकार लगायत दातृ निकायहरुको सहयोग जुटाएर प्राविधिक र प्रविधिमैत्री शिक्षाको विकास गर्नु पर्नेछ ।
८) हजुरको इच्छाशक्ति हुदाँ हुँदै पनि पूरा गर्न नसकेका विकास र समृद्धिका कार्यक्रमहरु के के हुन्?
विपन्न बालबालिका र महिलाहरुको उत्थानका लागि एउटा नगर स्तरीय जगेडाकोषको स्थापना गरेर सबै काम एकद्वार प्रणालीबाट गर्न पाएँ अझै थप टेवा पुग्ने विश्वास लिएकी छु ।
९) संचार माध्यमहरुमा स्थानीय चुनावमा नगर प्रमुखका सम्भावित उम्मेदवारहरुको रुपमा पुरुष नेतृत्वको मात्रै चर्चा भैरहँदा महिला उम्मेदवारको विषयमा भने कहिँकतै चर्चा गरिएको पाइँदैन । के हजुर पनि नगरप्रमुखमा उम्मेदवारी दिन चाहनुहुन्छ?
नगर प्रमुखका सम्भावित उम्मेदवार घोषणा गर्ने काम भनेको राजनैतिक कार्यकर्ता र आमजनताहरुको हो । जहाँ सम्म लाग्छ ५० प्रतिशत महिला जनसंख्या र महिला मतदाताहरु भएको हाम्रो नगरपालिकामा मैले जीवन भरि हासिल गरेका ज्ञान र सीपका कारणले पनि म आफुलाई एक सक्षम नगर प्रमुखको सम्भावित उम्मेदवार ठानेकी छु । मौका र अवसर पाएँ भने अवस्य पनि नगर प्रमुख हुने आकांक्षा छ ।
१०) समय र संवादका लागि हजुरलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु । अन्त्यमा हाम्रो मिडिया मार्फत भीरकोटका जनतालाई के भन्न चाहनु हुन्छ?
भीरकोटवासी आम आमाबुवा दाजुभाई दिदीबहिनीहरु हामीले गरेका सबै विकासका उपलब्धीहरु यस सानो समय र संवादमा सबै मैले समेट्न सकिन होला । हामीले “भीरकोटको चार बर्ष” नामक पुस्तक प्रकाशन गर्न लागेका छौं । त्यस पुस्तक मार्फत सबै कुरा जानकारी पाउनु हुनेछ । अब स्थानीय निर्वाचन नजिकिदैँ छ । हामीले अझै तँपाईहरुको उर्लदो इच्छा, आकांक्षा पुरा गर्न बाँकी नै छन् । हामी यस नगरपालिकाको संघीय संरचनाको संस्थापक जनप्रतिनिधिका नाताले तपाईंहरुले दिनु भएको पहिलो अवसर सिकाईमा बित्यो । यदि फेरि पनि अवसर दिनु भयो भने सिकाईको अवसरको सदुपयोग गर्दै यहाँहरुको सेवामा आजीवन निरन्तर लाग्ने वाचा गर्दछु । जय भीरकोट। जय नेपाल ।